Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारग्रिनल्यान्ड : खनिजको खजानामा अर्बपतिहरुको दाउ

ग्रिनल्यान्ड : खनिजको खजानामा अर्बपतिहरुको दाउ


ग्रिनल्याण्ड । विश्वका धनाढ्यहरुको समूह ग्रिनल्यान्डको पश्चिमी तटमा हेलिकप्टर र ट्रान्समिटरसहित नांगो डाँडामा खनिज सम्पत्तिको खोजीमा छ । यसका लागि उनीहरुले ठूलो रकम खर्च गरिरहेका छन् । जलवायु परिवर्तनले ग्रिनल्यान्ड नसोचेको गतिमा पग्लिरहेको छ । तर लगानीकर्ताहरू र खनिज कम्पनीहरूका लागि यो एउटा अवसर बनिरहेको छ । जो हरित ऊर्जा रुपान्तरणलाई सक्षम बनाउने महत्त्वपूर्ण खनिजको खजाना भेट्टाउन लागिपरेका छन् ।

जेफ बेजोस, माइकेल ब्लुमबर्ग र बिल गेट्सजस्ता नाम कहलाएका अर्बपतिहरूको एउटा समूह नै ग्रिनल्यान्डका पहाड र उपत्यकाको सतहमुनि दाउ लगाइरहेको छ । खासगरी डिस्को टापु र नुसाक पेनिन्सुलामा सयौँ लाख विद्युतीय सवारीसाधनलाई पुग्ने महत्त्वपूर्ण खनिजहरू रहेको विश्वासमा यसको खोजी थालिएको हो । ‘हामी खनिज भण्डारणको खोजीमा छौँ जुन विश्वमा हालसम्मकै पहिलो वा दोस्रो ठूलो एकदमै महत्त्वपूर्ण निकेल र कोबाल्टको भण्डारण हुनसक्नेछ’, कोबोल्ड मेटलका प्रमुख कार्यकारी (सीईओ) कर्ट हाउसले भने ।

आर्कटिकको हराइरहेको बरफ (सतह र समुद्रमाथि)ले एक अनौठो द्विविधापूर्ण संयोग दर्शाउँछ : जलवायु परिवर्तनको प्रभावको हिसाबले ग्रिनल्यान्ड ‘ग्राउन्डजिरो’ हो, तर संकटको समाधानको हिसाबले आवश्यक खनिजहरूको स्रोतका लागि पनि यो अर्को ‘ग्राउन्डजिरो’ बन्नसक्छ । अर्बपतिहरूको क्लबले कोबोल्ड मेटल्सलाई वित्तीय सहयोग गरिरहेका छन् । कोबोल्ड खनिज पत्ता लगाउने क्यालिफोर्नियाको स्टार्टअप कम्पनी हो । बेजोस, ब्लुमबर्ग र गेट्सले यसबारे प्रतिक्रिया दिएनन् । ब्ल्यूजे माइनिङसँगको साझेदारीमा कोबोल्डले विरलै पाइने र अमूल्य धातुहरूको खोजी गरिरहेको छ । ती सबै विद्युतीय सवारीसाधन बनाउन र नवीकरणीय ऊर्जाको भण्डारणका लागि चाहिने ठूला ब्याट्रीहरूका लागि आवश्यक मानिन्छन् ।

३० जिअलजिष्ट, जिअफिजिसिस्ट, भान्से, विमान चालक र मिस्त्रीहरू अहिले उक्त क्षेत्रमा क्याम्प बनाएर बसेका छन् । जहाँ कोबोल्ड र ब्ल्यूजेले पृथ्वीको गर्भमा लुकेको खजाना खोजिरहेको छ । त्यहाँ उनीहरूले माटोको नमूना संकलन गरिरहेका छन् भने ट्रान्समिटरसहित ड्रोन र हेलिकप्टरले उपसतहको इलेक्ट्रोम्याग्नेटिक फिल्डको मापन र चट्टानमुनिका सतहको नक्सा तयार गरिरहेका छन् । उनीहरूले तथ्यांक विश्लेषणका लागि कृत्रिम बौद्धिक उपकरण (एआई)को प्रयोग गरिरहेका छन् । यसले कहाँ उत्खनन गर्ने ठ्याक्कै पत्ता लगाउन सकिनेछ । अर्को समर सिजनको सुरुतिर उत्खनन हुनसक्नेछ । ‘ग्रिनल्यान्डमा जलवायु परिवर्तनबाट पर्ने प्रभाव र परिणामबारे ध्यानाकर्षण भइरहेको छ’, ब्ल्यूजे माइनिङका प्रमुख कार्यकारी बो मलर स्टेन्सगार्डले भने, ‘तर, सामान्यरुपमा भन्नुपर्दा जलवायु परिवर्तनले ग्रिनल्यान्डमा खोजी र उत्खनन निकै सहज भएको छ, गर्न सकिने भएको छ ।’

उनका अनुसार जलवायु परिवर्तनको कारण अहिले समुद्रमा बरफमुक्त हुने अवधि लम्बिरहेको छ, समूहरू गह्रौँ सरसामानसहितको जहाजयात्रा गर्न सकिरहेका छन् र धेरै धातुहरू विश्व बजारमा सहजै ल्याउन सकिरहेका छन् । यता जमिनमाथि ढाकेका बरफे ढिक्का पनि पग्लिँदा नांगो जमिन देखिएको छ । जुन कयौँ शताब्दीसम्म बरफले पुरिएका थिए । अहिले यसले खनिज पत्ता लगाउन सम्भावित क्षेत्र बनेको छ । ‘जसै भविष्यमा यसरी नै बरफ पग्लिने क्रमले निरन्तरता पाउँछ, स्वाभाविक रुपले धेरै जमिनमा खनिज पहिचान र उत्खनन गर्न सकिनेछ र यो भूमिका केही क्षेत्रले खनिज विकासको सम्भावना बोकेको छ’, युनाइटेड स्टेट्स आर्कटिक रिसर्च कमिसनका प्रमुख माइक फ्राजाले भने ।

ग्रिनल्यान्ड र डेनमार्कका जिअलजिकल सर्वेले पनि ग्रिनल्यान्डमा कोइला, तामा, सुनसहित विरलै पाइने धातुहरू, जिंकको प्रचुर भण्डार हुनसक्ने देखाएको छ । ग्रिनल्यान्ड सरकारले बरफ पग्लिएका जमिनमा धेरै स्रोतहरूको अध्ययन गरेको र सरकारले खनिज उत्खननबाट राष्ट्रिय अर्थतन्त्रको विविधीकरणको सम्भावना पहिचान गरेको छ । फ्राजाले ग्रिनल्यान्डको संस्कृति र जीवनशैलीलाई केन्द्रमा राख्दै त्यसको लागि आवश्यक वातावरणलाई ध्यान दिएर मात्रै खनिज खजानाको खोजी गरेको बताए ।

‘ग्रिनल्यान्ड सरकारले उत्तरदायित्व वहन गर्दै दिगो र आर्थिक रुपले सम्भाव्य प्राकृतिक स्रोतहरूको विकासलाई समर्थन गर्छ । यसमा धेरै किसिमका खनिजहरूको उत्खननलाई समावेश गर्छ’, उनले भने । स्टेन्सगार्ड जलवायु संकटले निम्त्याउने चुनौतीको समाधानकै अंशको रुपमा यी महत्वपूर्ण खनिज पदार्थलाई लिन्छन् । तर फेरि ग्रिनल्यान्डको पग्लिँदो बरफले भने समुद्री सतह बढाउँछ । जुन आर्कटिकको अध्ययन गरिरहेका वैज्ञानिकहरूको लागि भने ठूलो ध्यानाकर्षणको विषय हो । ‘आर्कटिक समुद्री बरफका लागि सबैभन्दा ठूलो ध्यान यी विगत धेरै दशकयता पग्लिरहेका छन् र अबको २०÷३० वर्षमा हराउन सक्नेछन्’, समुद्री बरफबारेका अध्येता समेत रहेका नासाका एक वैज्ञानिक नाथन कुर्त्जले भने, ‘वर्षैभरि बरफले आर्कटिक ढाकिन्थ्यो, अहिले यो मौसमी भएको छ ।’ –सीएनएनबाट भावानुवाद


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x