Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारएप्पलले ल्यायो आईफोन १४ र १४ प्लस

एप्पलले ल्यायो आईफोन १४ र १४ प्लस

यस्ता छन् फिचर, विशेषता र मूल्य


अमेरिका । चर्चित प्रविधि कम्पनी एप्पलले आईफोन १४ र १४ प्लस सार्वजनिक गरेको छ । कम्पनीले ६.१ इन्च र ६.७ इन्च आकारमा दुई फोन बजारमा अनावरण गरेको हो ।

दुवै फोनमा आकर्षक डिजाइन र क्यामेराको अपग्रेड गरिएको कम्पनीले जनाएको छ । यी फोनमा सुरक्षा क्षमताको नयाँ फिचर पनि ल्याइएको छ । दुवै फोनले उच्च स्तरको तस्बिर र भिडिओ खिच्न सक्छन् । यसको क्यामेरा प्रणालीलाई शक्तिशाली बनाउने क्रममा एप्पलले मुख्य र फ्रन्ट ट्रु डेप्थ क्यामेरा, अल्ट्रा वाइड क्यामेरा राखेको छ ।

दुवै मोडलमा ५ कोर जीपीयूसहितको ए१५ बायोनिक चिप रहेको छ । यसले उच्च प्रस्तुति दिने कम्पनीको भनाइ छ । गोपनीयता र सुरक्षालाई ध्यान दिएर फोनको डिजाइन गरिएको छ । आईफोन १४ र आईफोन १४ प्लसले गम्भीर सुरक्षा क्षमता जस्तै दुर्घटना पहिचान र स्याटेलाइटबाट आकस्मिक एसओएसजस्ता फिचर समावेश छन् । जुन यो उद्योगमै पहिलोपटक राखिएको फिचर भएको एप्पलले जनाएको छ ।

टिकाउ ब्याट्री, ड्युरेबिलिटी फिचरहरु र तीव्र गतिको फाइभजीलगायतका सुविधा भएको आईफोन अहिलेसम्मकै उन्नत रहेको कम्पनीको दाबी छ । दुवै फोनहरु मिडनाइट, ब्ल्यू, स्टारलाइट, पर्पल प्रोडक्ट रेड स्वरुपमा उपलब्ध छन् । आगामी शुक्रबारदेखि अग्रिम रुपमा यी फोन माग्न सकिने कम्पनीले जनाएको छ । त्योसँगै सेप्टेम्बर १६ देखि ग्राहकले नयाँ फोन चलाउन पाउनेछन् । आईफोन १४ प्लस भने अक्टोबर ७ देखि उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यी फोनहरु १२८ जीबी, २५६ जीबी र ५१२ जीबी भण्डारण क्षमतामा रहेका छन् । अस्ट्रेलिया, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इटली, जापान, सिंगापुर, स्पेन, थाइल्यान्ड, यूएई, बेलायत, अमेरिका र अन्य ३० भन्दा बढी देशमा अग्रिम माग गर्न सकिने कम्पनीले जनाएको छ । नयाँ फोन मलेसिया, टर्की र २० अन्य देशहरुमा सेप्टेम्बर २३ देखि उपलब्ध हुने कम्पनीले जनाएको छ ।

आईफोन १४ को मूल्य ३३.२९ अमेरिकी डलर प्रतिमहिना (२४ महिनाको लागि) अर्थात् ७९९ अमेरिकी डलर अमेरिकाको लागि तोकिएको छ । त्यस्तै १४ प्लसको सोही हिसाबले प्रतिमहिना ३७.४५ अमेरिकी डलर वा ८९९ अमेरिकी डलर अमेरिकाका लागि तोकिएको छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x