Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारआफ्नो नीति समर्थन परिमार्जन गर्न आईएमएफलाई पाकिस्तानको आग्रह

आफ्नो नीति समर्थन परिमार्जन गर्न आईएमएफलाई पाकिस्तानको आग्रह


इस्लामावाद । पाकिस्तानका अर्थमन्त्री इशाक दारले आइतबार अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र बहुपक्षीय दाताहरूलाई विनाशकारी बाढीको बीचमा आफ्नो नीति सहयोग परिमार्जन गर्न आग्रह गरेका छन् । एएनआईका अनुसार मध्यपूर्व, उत्तर अफ्रिका, अफगानिस्तान र पाकिस्तानको बैठकमा बोल्दै मन्त्रीले बाढी प्रकोपका कारण उत्पन्न भएको पाकिस्तानको अवस्थाप्रति आफ्नो प्रतिक्रिया परिमार्जन गर्न आईएमएफलाई आग्रह गरेको जियो न्यूजले जनाएको छ ।

उनले कार्यक्रम पूरा गर्न पाकिस्तानको प्रतिबद्धताको संगठनलाई आश्वासन दिँदै आईएमएफबाट थप नीतिगत सहयोगको लागि आग्रह गरेका हुन् । वासिङटन भ्रमणका क्रममा दारले धेरै महत्वपूर्ण भेटघाट गरेका थिए ।

यस वर्षको मनसुनी वर्षामा आएको बाढी र पहिरोका कारण निकै क्षति पुगेकाले पाकिस्तान यतिबेला निकै अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले बताएका थिए । उनले पाकिस्तानमा आएको बाढीले बाटोघाटोका साथै अन्य अत्यावश्यक भौतिक संरचनामा पनि क्षति पुगेको र अहिले विस्तारै त्यसको पुनर्निर्माण गर्दै अघि बढेको प्रधानमन्त्री सरिफले बताएका हुन् ।

आइतबार पाकिस्तानमा पनि मनाइएको विश्व खाद्य दिवसका अवसरमा इस्लामावादमा सम्बोधन गर्दै उनले सो कुरा बताएका थिए । प्रधानमन्त्री सरिफले यस वर्षको मनसुन पाकिस्तानमा निकै विनाशक भएर आएको र यसले पाकिस्तानको जनजीवनलाई निकै क्षति पु-याएको बताएका थिए ।

उनले यस प्राकृतिक विपत्तिले पाकिस्तानको कम्तीमा पनि तीन करोड ३० लाखभन्दा बढी जनसंख्यालाई प्रभावित पारेको र भौतिक सम्पत्तिको ठूलो क्षति गरेको र ती भौतिक संरचनाको निर्माणका लागि पाकिस्तानले विदेशी सहयोग आदिबाट सुरुआत गरेको पनि बताए । आइतबार विश्व खाद्य दिवस विश्वका विभिन्न देशका खाद्यान्नको आवश्यकता, यसको उपलब्धता र आगामी दिनमा खाद्यान्नको सुनिश्चितताजस्ता विषयमा आवश्यक छलफल र परामर्श गरी मनाइएको छ ।

साथै संयुक्त राष्ट्रसंघीय कार्यक्रमलगायतका विश्वका अन्य सरकारी तथा गैरसरकारी संघ/संस्थाहरुले पनि आगामी दिनहरुमा जलवायु परिवर्तनका कारण विश्वमा खाद्यान्न अभावका थप समस्याहरु झेल्नुपरिरहेकाले यसतर्फ सबै सचेत हुनुपर्ने सन्देश पनि यस दिवसका अवसरमा दिइएको छ । त्यस अवसरमा प्रधानमन्त्री सरिफले जलवायु परिवर्तनका कारण आगामी दिनहरुमा यस्तो प्राकृतिक विपत्ति थप आउन सक्ने भन्दै यसबाट बच्ने र खाद्यान्न अभावका समस्याबाट बच्ने उपायहरुको अवलम्बन गर्नका लागि विश्वले नै सचेत भएर काम गर्नुपर्नेमा जोड दिएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x