Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकोरोना संक्रमण रोक्न आईएमएफले ५० अर्ब डलर दिने

कोरोना संक्रमण रोक्न आईएमएफले ५० अर्ब डलर दिने


एजेन्सी,फागुन २३

विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड१९) को संक्रमण रोक्न अन्तर्राष्ट्रिय मुद्रा कोषले ५० अर्ब अमेरिकी डलर सहयोगको घोषणा गरेको छ । भाइरस प्रभावित देशमा रोकथामका लागि उक्त सहयोग गर्ने कोषले बताएको बीबीसीले जनाएको छ । कोभिड१९ कै कारण यस वर्ष विश्व आर्थिक वृद्धिदर समेत गत वर्षभन्दा कम रहने अनुमान समेत कोषले गरेको छ । चीनको वुहानबाट सुरु भएको भाइरस संक्रमण अहिले ७० भन्दा बढी देशमा फैलिइसकेको छ । बुधबार मात्रै विश्व बैंकले कोरोना प्रभावित विकासोन्मुख देशलाई १२ अर्ब डलर सहयोगको घोषणा गरिसकेको छ । भाइरसले विकराल अवस्था सृजना गर्ने भएपछि विश्वका सरकार तथा केन्द्रीय बैंकहरुले अर्थतन्त्र जोगाउन आवश्यक कदम चाल्न थालेका छन् । त्यस्तै विश्वका वित्तीय संस्थाले पनि त्यसलाई रोक्ने गरी सहयोगको घोषणा गर्न थालेका छन् । कोषको घोषणा पनि यही सन्दर्भमा आएको हो । कोषका अनुसार गरिब र मध्यम आय भएका देशहरुलाई स्वास्थ्य प्रणाली सुधारमा खर्च गर्ने गरी सहयोग रकमको घोषणा गरिएको हो । यस वर्ष तीव्र आर्थिक वृद्धिदरको अपेक्षा गरिए पनि भाइरसले डरलाग्दो रुप लिँदा विश्व अर्थतन्त्रमा प्रभाव पर्ने देखिएको छ । कोषले २०२० को विश्व अर्थतन्त्र वृद्धिदर सन् २००८ को विश्व वित्तीय संकटयताकै सुस्त हुने अनुमान गरेको छ । कोषकी प्रबन्धनिर्देशक क्रिष्टालिना जर्जिएभाले कोरोनाको असरबारे अहिले नै प्रतिक्रिया दिनु चाँडो हुने बताइन् । गत मंगलबार मात्रै अमेरिकी केन्द्रीय बैंकले ब्याजदर कटौती गरेको थियो । सोही दिन अस्ट्रेलिया र मलेसियाले पनि ब्याजदर कटौती गरेका थिए । बेलायती केन्द्रीय बैंकले पनि ब्याजदर कटौतीको निर्णय गर्न लागेको बीबीसीले जनाएको छ ।

महामारीका रूपमा देखिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको प्रभाव चीनमा अस्थायीरूपमा केही समय रहने यहाँको वाणिज्य मन्त्रालयले बिहीबार जनाएको छ ।सिन्ह्वाका अनुसार वाणिज्य मन्त्रालयको विदेश व्यापार विभागका निर्देशक ली जिंगकियानले भिडियोमार्फत गरिएको एक पत्रकार सम्मेलनमा भने, ‘चीनले विदेशी व्यापार उद्यमलाई उत्पादन पुनः सुरु गर्न र प्रकोपबाट हुने नतिजालाई कम गर्न प्रक्रियालाई जारी राखेको र छिट्टै सबै ठीक हुनेछ ।’ उनले भने, ‘झेजियांग र तियानजिनका सबै प्रमुख विदेशी व्यापार कम्पनीहरूले फेरि काम सुरु गरेका छन् भने गुआङडोङ, जियाङ्सु, सांघाई, शान्दोङ र चोंकिङका ७० प्रतिशतभन्दा बढी विदेशी व्यापार कम्पनीहरूले उत्पादन पुनः सुरु गरिसकेका छन् ।’ उनले सरकारले कम्पनी सञ्चालनका लागि गरेको सहयोगको नीति प्रभावकारी बन्न थालेकोले धेरैभन्दा धेरै कम्पनीहरू काममा फर्किएको र चीनको वैदेशिक व्यापारले क्रमशः गति लिन थालेको दाबी गरे । ‘यद्यपि पहिलो त्रैमासिकमा चीनको निर्यात र आयात दुवैमा कम हुनेछ’, लीले भने । देशको वैदेशिक व्यापारको सकारात्मक विकासको प्रवृत्ति परिवर्तन हुन स्वाभाविक रूपमा लामो समय लाग्छ ।’
मन्त्रालयले आफ्नो नीतिगत प्रणालीलाई अझ समृद्ध बनाउने दाबी गरेको छ । ‘विदेशी व्यापार उद्यमहरूलाई थप छरितो उपायहरू प्रदान गर्न सहयोग पु¥याउनेछ, उत्पादन पुनः सुरु गर्न र विश्वव्यापी आपूर्ति शृंखलाको स्थिरता कायम गर्न मद्दत गर्नेछ’, लीले भने ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x