Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजार७० करोड डलरमा बनेको अमेरिकी एयरफोर्सको बी–२१ आणविक बमवर्षक

७० करोड डलरमा बनेको अमेरिकी एयरफोर्सको बी–२१ आणविक बमवर्षक


अमेरिका । अमेरिकी हवाइ बल (एयरफोर्स)ले आफ्नो नवीनतम आणविक स्टिल्थ बमवर्षक विमान बी–२१ सार्वजनिक गरेको छ । योसँगै शीतयुद्धमा पहिलोपटक उडेका अन्य पुराना बमवर्षकलाई यसले विस्थापन गर्नेछ ।

यो लडाकु विमान ३० वर्षयता बनेको पहिलो र नयाँ हो । यसको लागत नै ७० करोड अमेरिकी डलर रहेको छ । यसले आणविक र परम्परागत हतियार प्रयोग गर्न सक्षम रहेको बीबीसीले जनाएको छ । यसका थप विशेषताहरु खुलाइएको छ । अमेरिकी रक्षा सचिव लोयड अस्टिनले यो अमेरिकी आविष्कार क्षमताको एक आकांक्षा भएको बताए ।

बी–२१ रेडर जहाज शुक्रबार क्यालिफोर्नियास्थित उत्पादक कम्पनी नर्थ्रप ग्रुम्यानको फेसिलिटीमा एक समारोहका बीच सार्वजनिक गरिएको थियो । अस्टिनले अमेरिकी उडानमा रहेका बमवर्षकभन्दा यो निकै परिष्कृत रहेको बताए । अत्याधुनिक हवाइ प्रतिरक्षा प्रणालीले समेत यसलाई आकाशमा अनुगमन गर्न नसक्ने उनको भनाइ छ ।

‘यो विमानमा लो–अब्जर्भेवल प्रविधिमा ५० वर्ष लामो परिष्कृति समावेश भएको छ’, उनले भने । ‘ओपन सिस्टम आर्किटेक्चर’सँगै यो विमान निर्माण गरिएको र यसले अहिले आविष्कार नै नभइसकेका नयाँखाले हतियार पनि प्रयोग गर्न सक्ने उनको भनाइ छ । समारोहमा मानवरहित उडानको सम्भावनाबारे केही नबताइए पनि एक जना अमेरिकी एयर फोर्सकी प्रवक्ताले भने यो विमान त्यसको सम्भावनायुक्त रहेको तर यसबारे अहिले नै केही निर्णय नलिइएको बताइन् ।

यो विमानले पहिलो उडान अर्को वर्षमात्रै गर्न सक्ने बताइएको छ । यसले बी–१ र बी–२ मोडललाई विस्थापित गर्नेछ । साथै यसको उडानमा दुई खर्ब तीन अर्ब खर्च हुनेछ । पूर्णरुपेण यसको विकास गर्न, किन्न र आगामी ३० वर्षभित्र सञ्चालन गर्न उक्त रकम खर्च हुने ब्लुमबर्गले जनाएको छ । अहिलेलाई नयाँ विमान छवटा बनिरहेको उत्पादकले जनाएको छ । ती सबैमा अर्को पुस्ताको स्टिल्थ फिचरहरु प्रयोग गरिने उत्पादक कम्पनीले जनाएको छ । अमेरिकी एयरफोर्सले कम्तीमा सय यसखाले विमान किन्ने योजना बनाएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x