Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअदानी कम्पनीको सेयर कारोबारमा गिरावट, बजारमा ७१ अर्ब डलर गुम्यो

अदानी कम्पनीको सेयर कारोबारमा गिरावट, बजारमा ७१ अर्ब डलर गुम्यो


नयाँ दिल्ली । भारतीय उद्योगी गौतम अदानीको कम्पनीले आफूमाथि लागेको ठगीको आरोप अस्वीकार गरे पनि लगानीकर्ताहरूलाई आश्वस्त पार्न असफल भएपछि सोमबार सेयर बजारमा अर्बौं डलर गुमाएको छ ।

यो गिरावट अमेरिकी लगानी समूह हिन्डेनबर्ग रिसर्चले गत हप्ता एक प्रतिवेदन सार्वजनिक गरी अदानी समूह दशकौंदेखि स्टक हेरफेर र लेखा जालसाजीमा संलग्न रहेको आरोप लगाएको थियो ।

ब्लुमबर्ग न्यूजका अनुसार, तीन दिनको अवधिमा कम्पनीले बजार मूल्यमा लगभग ७१ अर्ब डलर गुमाएको छ । गत साता पनि अदानी समूहका फर्महरुको करिब ५० अर्ब डलर गुमाएका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका निकटतम मित्र समेत रहेका अदानी फोब्र्स म्यागाजिनको धनीहरूको सूचीमा पहिलोबाट तेस्रो स्थानमा खस्केका थिए ।

साठी वर्षीय अदानी गत सोमबार धनीहरुको सूचीमा नवौं स्थानमा थिए, र उनको सम्पत्ति ८५ अर्ब डलरको हाराहारीमा थियो । यसको मतलब उनी एशियाकै सबैभन्दा धनी अर्थात् पहिलो नम्बरको सूचीमा थिए । तर यो ताज भारतीय अर्का व्यवसायी एवं उद्योगी मुकेश अम्बानीले छोटो समयका लागि पहिरिन सफल भएका थिए ।

अदानी समूहले आफूहरुमाथि दुराशययुक्त आक्रमण भएको बताएको छ र आइतबार कम्पनीले ४१३ पृष्ठको एक वक्तव्य प्रकाशन गरी हिन्डेनबर्गको दाबीलाई खण्डन गरेको छ । समूहले हिन्डेनबर्गले लगाएका आरोपहरू झूटबाहेक केही नभएको बताएको छ । ‘यो केवल कम्पनीमाथि अनावश्यक आक्रमण मात्र नभई समग्र भारत, भारतीय संस्थाहरूको स्वतन्त्रता, अखण्डता र गुणस्तर, र भारतको विकास र महत्वाकांक्षाविरुद्धको आक्रमण हो’, समूहको वक्तव्यमा भनिएको छ ।

वक्तव्यपछि सोमबार खुलेको बजारमा अदानी इन्टरप्राइजेजको सेयर बजारमा सकारात्मक प्रभाव देखिए पनि अदानी आबद्ध कम्पनीहरुको सेयर बिक्री व्यापक बनेको थियो, र त्यसलाई रोक्न कम्पनीको प्रयास सफल भएको थिएन ।

अदानीले स्टक बिक्रीमार्फत २५ अर्ब डलर संकलन गर्ने महत्वाकांक्षी योजना अघि सारेलगत्तै बजारमा समस्या उत्पन्न भएको थियो । अदानी इन्टरप्राइजेजले प्रति सेयर भारतीय रुपैयाँ तीन हजार एक सय १२ को हाराहारीमा बिक्री गर्न खोजको थियो ।

हिन्डेनबर्गले अदानीको वक्तव्यको जवाफमा भारतको भविष्य अदानी समूहद्वारा रोकिएको बताउँदै यसले देशलाई व्यवस्थित रूपमा लुट्न खोजेको आरोप लगाएको छ । ‘अदानीको लामो वक्तव्यले हिन्डेनबर्गले उठाएका सबालमाथि केन्द्रित भएर ३० पृष्ठमा मात्र जवाफ दिएको छ, र धेरै प्रश्न अनुत्तरित छन् । वक्तव्यमा कम्पनीले आफ्नो बढाइचढाइ मात्र गरेको छ’, अदानी ग्रुपले भनेको छ । अदानी समूहको मुख्य कम्पनी अदानी इन्टरप्राइजेजको मुम्बई सेयर बजारमा १.५ प्रतिशतले मात्र वृद्धि भएको थियो । अदानी टोटल ग्यास, अदानी ट्रान्समिसन र अदानी ग्रीन इनर्जीको कारोबार फेरि रोकिएको छ । शुक्रबार पनि यी कम्पनीको कारोबार यस्तै भएको थियो ।

अदानी पावर र अदानी विल्मारको पनि पाँच–पाँच प्रतिशतले सेयर मूल्य घटेपछि सर्किट ब्रेक गर्नुपरेको छ । अदानी पोर्ट कम्पनीको कारोबारमा एक समय धनात्मक देखिए पनि १.५ प्रतिशतले घटेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x