Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारआँधीका कारण न्युजिल्यान्डमा विद्युत्, उडान र यातायात सेवा अवरूद्ध

आँधीका कारण न्युजिल्यान्डमा विद्युत्, उडान र यातायात सेवा अवरूद्ध


अकल्यान्ड । न्युजिल्यान्डको उत्तरी भागमा आएको उष्णकटिबन्धीय आँधीका कारण सोमबार हजारौं घरहरु विद्युतविहीन हुनुका साथै उडानहरु अवरुद्ध भएका छन् । आपत्कालीन व्यवस्थापन मन्त्री किरन म्याकएनल्टीले तीव्र हावा र भारी वर्षाको ‘अत्यधिक खतरनाक’ संयोजनको कारण देशले व्यापक क्षति व्यहोर्नुपरेको छ ।

आँधीको अवस्था शुरूमाभन्दा कमजोर भए पनि यसले सहर तथा ग्रामीण क्षेत्रमा व्यापक रूखहरु ढालेको छ, सडकहरुमा क्षति पु¥याएको छ र विद्युत् लाइन अवरूद्ध भएका छन् ।  अकल्याण्डसहित उत्तरी पाँच क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरिएको छ । न्युजिल्यान्डको नर्थ आइल्याण्डमा करिब ५८ हजार मानिस विद्युत्विहीन भएका छन् । अधिकारीहरूले यो सञ्जाल पुनःस्थापित गर्न केही दिन लाग्न सक्ने बताएका छन् । म्याकएनल्टीले भने, ‘जबसम्म मौसम खराब रहन्छ, तबसम्म नेटवर्कमा काम गर्न वास्तवमा असुरक्षित छ ।’

न्युजिल्यान्डको सबैभन्दा ठूलो सहरमा गत महिना आएको बाढीका कारण चार जनाको मृत्यु हुनुका साथै हजारौं मानिस विस्थापित बनेका थिए । उक्त क्षतिको घाउ नमेटिँदै यो अर्को प्राकृतिक विपत्ति आएको छ ।  नर्थल्याण्ड क्षेत्रमा १४० किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको हावाहुरीले क्षति पु-याएको थियो भने अकल्याण्ड हार्बर ब्रिजमा ११० किलोमिटर प्रतिघण्टाको वेगले आँधीले प्रवेश गरेको थियो ।  म्याकएनल्टीले भने, ‘सरकारले देशको इतिहासमा तेस्रो पटक राष्ट्रिय आपत्कालीन अवस्था घोषणा गर्ने बताइरहेको छ । मेरो विचारमा आपतकालीन अवस्थाको घोषणा गरिहाल्नु पर्दैन । किनकि आँधीको रफ्तार कमजोर भइसकेको छ ।’

मौसमले न्युजिल्यान्डको यातायात सञ्जाललाई पनि तहसनहस पारेको छ, उडान, रेल र बस तालिकाहरू सबै नराम्ररी प्रभावित भएका छन् । एयर न्युजिल्यान्डले हालसम्म पाँच सय नौ उडान रद्द गरेको तर मंगलबारदेखि सामान्य उडान सुरु हुने अपेक्षा गरिएको जनाएको छ । उक्त विमान सेवालेले १० हजारभन्दा अन्तर्राष्ट्रिय सेवाग्राहीहरू प्रभावित भएको र छ हजार ५०० लाई पुनः टिकट बुक गर्नु परेको बताएको छ । रासस/एएफपी

 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x