मेटाभर्समा प्रहरी पुर्याउन काम गर्दै इन्टरपोल
काठमाडौं,इन्टरपोलका महासचिव युर्गेन स्टकले कृत्रिम संसार भनिने मेटाभर्समा हुने अपराधबाट कसरी सुरक्षा दिन सकिन्छ भनेर प्रहरीहरूको विश्व सङ्गठनले अध्ययन गरिरहेको बताएका छन्।
मेटाभर्स धेरै चर्चा भएको वास्तविक संसारभन्दा बाहिरको दुनियाँ हो। यो मानिसहरूले भविष्यमा थ्रिडी अवतारको रूपमा अनलाइन दुनियाँमा आफ्नो प्रतिनिधित्व गर्ने अवधारणा हो।
इन्टरपोलले पनि आफ्नै भर्चुअल रियालिटी स्पेस बनाएको छ। जहाँ प्रयोगकर्ताहरूले तालिम लिन र भर्चुअल बैठकहरू गर्न सक्छन्।
स्टक आफ्नो निकाय पनि यसमा छुट्न नहुने बताउँछन्।
“अपराधीहरू नयाँ प्राविधिक साधनको प्रयोगमा अभ्यस्त भएर अपराध गर्न परिष्कृत र व्यावसायिक हुन्छन्,” उनले भने।
“हामीले यसको पर्याप्त प्रतिवाद गर्नसक्नु पर्छ। कतिपय अवस्थामा विधायक, प्रहरी र हाम्रो समाज यस्तो कुरामा केही पछि परिरहेको हुन्छ।”
“ढिलो हुँदा मानिसहरूले प्रयोग गर्ने साधनमा तिनीहरूको विश्वासमाथि असर पर्ने गरेको हामीले देखेका छौँ त्यो कुरा मेटाभर्समा पनि लागु हुन्छ। यस्तै खाले माध्यमहरू अपराधीहरूले अहिले नै प्रयोग गरिरहेका छन्।”
सुरक्षित सर्भरहरूको माध्यमबाट मात्रै पहुँच पाइने यो दुनियाँमा अभ्यस्त हुँदै गएपछि प्रहरी अधिकारीहरूलाई मेटाभर्स के हो, यहाँ कस्ता अपराध हुन सक्छन् र त्यसलाई कसरी निराकरण गर्न सकिन्छ भन्ने बोध हुन्छ।
मेटाभर्स के हो
आम मानिसका लागि मेटाभर्स भर्चुअल रियालिटीको एउटा स्वरूप जस्तो लाग्न सक्छ तर प्रविधि क्षेत्रका केही व्यक्तिहरूका लागि मेटाभर्स इन्टरनेटको भविष्य हो।
सन् १९८० को दशकको बोक्नै गाह्रो मोबाइल फोन जसरी अहिलेको सानो स्मार्टफोनको प्रारम्भिक रूप थियो, त्यस्तै भर्चुअल रियालिटीलाई मेटाभर्सको प्रारम्भिक रूप मान्न सकिन्छ।
सबै खाले डिजिटल प्रविधिको दुनियाँमा प्रवेश गर्न अहिले कम्प्युटरको प्रयोग गरिन्छ तर मेटाभर्समा त्यही दुनियाँमा छिर्न टाउकोमा लगाउने एउटा उपकरणको प्रयोग गरिन्छ।
तर मेटाभर्स अहिलेसम्म सोच मात्रै रहेको कारण यसको एउटा कुनै सर्वमान्य परिभाषा वा व्याख्या भने छैन।
त्यसैले भर्चुअल रियालिटीलाई मेटाभर्स भन्नु गुगललाई इन्टरनेट भनेजस्तै मात्र हो।
त्यसो भए विश्वका प्रहरीहरूबीच सहकार्यमा सहजीकरण गर्दै आएको इन्टरपोलले मेटाभर्समा आफ्नो उपस्थिति नभई कसरी अनुसन्धान गर्छ त?
यो त्यस्तो ठाउँ हो जहाँ भर्चुअल दुनियाँको खेल हुन्छ।
तर यो भर्चुअल अर्थात कृत्रिम दुनियाँमा वास्तविक जीवनका समस्याहरू पनि छन्।
सन् २०२२ मा एक बीबीसी अनुसन्धानले भर्चुअल रियालिटी खेलहरूमा पनि मौखिकका साथै यौन दुर्व्यवहार समेत हुने गरेको पत्ता लगाएको थियो। गत वर्ष अभियानकर्मीहरूले मेटाको भर्चुअल रियालिटी माध्यम होराइजन वर्ल्डमा २१ वर्षे अनुसन्धाताको अवतारमाथि यौन हिंसा भएको बताएका थिए।
मेटाभर्समा हुने अपराध के हो?
इन्टरपोलका प्रविधि र अन्वेषण कार्यकारी निर्देशक मदन ओबेरायले मेटाभर्समा हुने अपराधलाई परिभाषित गर्न सहज नभएको बताएकाछन्।
“कुनै अपराध यस्ता हुन्छन् जुन अपराध हो वा होइन भन्न सकिँदैन,” उनले भने।
“उदाहरणका लागि यौन हिंसाका उजुरीहरू पनि छन्।
“तर भौतिक दुनियाँमा यस्ता अपराधको परिभाषा हेरियो र यसलाई मेटाभर्समा लागु गर्न खोजियो भने त्यहाँ कठिनाइ हुन्छ।
“हामीलाई थाहा छैन हामी त्यसलाई अपराध भन्न सक्छौँ या सक्दैनौँ। तर त्यस प्रकारका चुनौती पक्कै पनि त्यहाँ छन्। त्यसकारण यो समस्या अझै छ।”
नका अनुसार यसबारे जनचेतना बढाउन नै इन्टरपोलले ठूलो समस्या खेपिरहेको छ।
“डुबिरहेको मान्छेलाई बचाउन तपाईँ पनि पौडी खेल्न जान्नुपर्छ,” मेटाभर्समा प्रहरीको उपस्थितिबारे उदाहरण दिँदै उनले भने।
“यसै गरी यदि कानुन पालना गराउने निकायले मेटाभर्समा पीडित भएका मानिसहरूलाई सहयोग गर्नुछ भने उनीहरूलाई मेटाभर्सबारे थाहा हुन जरुरी छ।
कानुन पालना गराउने व्यक्तिहरूले पनि मेटाभर्सको प्रयोग गरेर उनीहरू यसबारे जानकार होऊन् भन्ने पनि हाम्रो एउटा उद्देश्य हो।
त्यस अर्थमा यो निकै महत्त्वपूर्ण कुरा हो।”
मेटाभर्समा नियमन र अनुसन्धान
मेटाभर्स अनुसन्धान सम्बन्धी संस्थाकी सहसंस्थापक र प्रमुख निना जेन पटेल नियमनबारे भन्छिन्, “भौतिक दुनियाँमा जे कुरा गैरकानुनी र हानिकारक छ भर्चुअल दुनियाँमा पनि त्यही नियम हुनुपर्छ।”
उनी भर्चुअल दुनियाँमा भएका कुरालाई भौतिक दुनियाँ भन्दा फरक किसिमले हेरे जटिलता आउने ठान्छिन्।
हाम्रो भौतिक दुनियाँ र डिजिटल दुनियाँमा के कुरा स्वीकार्य र के कुरा अस्वीकार्य हो भन्नेबारे गलत सञ्चार भइरहेको उनको धारणा छ।
स्टकले भने मेटाभर्समा हुने अपराधको अनुसन्धानमा इन्टरपोल निकै महत्त्वपूर्ण हुने बताए।
साइबर अपराधको प्रकृति अन्तर्राष्ट्रिय स्तरको हुने र एक क्लिकका भरमा एउटा प्रमाण एउटा महादेशबाट अर्कोमा पुग्ने उनी सुनाउँछन्।
त्यसकारण पनि स्थापनाको १०० वर्ष पुगेको इन्टरपोलको भूमिका अहिलेको विश्वमा थप महत्त्वपूर्ण हुने उनको दाबी छ।
“यस्ता खाले अपराधसँग कुनैपनि देश एक्लै जुध्न सक्दैन,” उनले भने।
स्टक इन्टरपोलका १९५ सदस्य राष्ट्रले यस्ता खाले समस्यासँग जुध्नुपर्ने बताउँछन्। (बीबीसी)
क्याटेगोरी : बिबिध, विश्व बजार
ताजा अपडेट
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया