Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारराष्ट्रपति ट्रम्पमा देखिएन कोरोना

राष्ट्रपति ट्रम्पमा देखिएन कोरोना


वासिङ्टन, चैत ३
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भाइरसको संक्रमण नदेखिएको अमेरिकी स्वास्थ्य अधिकारीहरुले बताएका छन् । राष्ट्रपति ट्रम्पले कोरोना संक्रमित रहेका व्यक्ति संलग्न केही कार्यक्रममा सहभागी भएका कारण उनीमाथि पनि कोरोना संक्रमण भएको आशंका गरिएको थियो । खासगरी कोरोना संक्रमित ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारो र उनको प्रतिनिधिमण्डलका सदस्यहरुको अमेरिकाको फ्लोरिडा भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पसँग भेटवार्ता भएपछि यस्तो शंका गरिएको थियो । राष्ट्रपतिको स्वास्थ्य परीक्षणमा संलग्न फिजिसियन सिन कोन्लीले राष्ट्रपति ट्रम्पले स्वास्थ्य परीक्षण गर्न स्वीकारेको र रिपोर्टमा कोरोना संक्रमण नदेखिएको बताए ।

संयुक्तराज्य अमेरिकामा कोराना संक्रमणबाट कम्तीमा ५१ जनाको मृत्यु भएपछि राष्ट्रपति ट्रम्पले स्वास्थ्य आपतकाल घोषणा गरेका छन् । देशभरका स्कुल र कलेजहरु बन्द गर्नुका साथै लाखौं मानिसलाई घरबाटै काम गर्न भनिएको छ । अमेरिकी सहर न्यूयोर्कमा शनिबार एक व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यहाँ डिपार्टमेन्टल स्टोरमा सामानको अभाव हुनुका साथै शनिबार मानिसहरु सामान खरिद गर्न तँछाडमछाड गरेका दृश्य देखिएको छ । उपराष्ट्रपति माइक पेन्सले संयुक्तराज्य अमेरिका भ्रमण गर्न चाहनेहरुका लागि थप कडाइ गर्नुपरेको बताए ।

अमेरिकाले युरोपबाट अमेरिका उडान यात्रामा प्रतिबन्ध लगाएको छ । त्यस्तै अमेरिकी विमानस्थलमा यात्रुहरुमाथि कडा जाँच गर्नथालेको छ । सोही कारण मानिसहरुलाई सम्पूर्ण जाँच प्रक्रिया पूरा गर्न घण्टौ लाइनमा बस्नुपरेको छ । त्यस्तै यसअघि नै विपद् राहतको लागि अर्बौँ डलरको राहत प्याकेज घोषणा भइसकेको छ भने अमेरिकी संसदले पनि निःशुल्क भाइरस परीक्षण गर्न तथा आपतकालीन तलबी बिरामी विदा र पारिवारिक विदाका लागि उक्त रकमबाट व्यवस्था गर्ने गरी राष्ट्रपतिको प्रस्तावलाई अनुमोदन गरेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x