Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारठूला तेल उत्पादकहरूले किन आपूर्ति घटाउने निर्णय गरे ?

ठूला तेल उत्पादकहरूले किन आपूर्ति घटाउने निर्णय गरे ?


काठमाडौं,विश्वका कैयौँ ठूला तेल निर्यातक राष्ट्रहरूले आफ्ना उत्पादन कटौती गर्ने घोषणा गरेपछि कच्चा तेलको मूल्यले फेरि ह्वात्तै बढेको छ।

साउदी अरब, इराक तथा कतिपय खाडी देशहरूले सामूहिक रूपमा तेल आपूर्तिलाई प्रतिदिन १० लाख ब्यारलले कटौती गर्ने भनेका छन्।

ओपेक प्लस भन्ने समूहको सदस्य रुसले यो वर्षको अन्त्यसम्म नै प्रतिदिन पाँच लाख ब्यारल उत्पादन कटौती जारी राख्नेछ।

ह्वाइट हाउसले यी निर्णयको आलोचना गरेको छ।

के हो ओपेक प्लस?
ओपेक प्लस भनेको २३ वटा तेल निर्यातक देशहरूको समूह हो। यो समूहले नियमित छलफल गरेर विश्वबजारमा कति परिमाणमा कच्चा तेल बेच्ने भन्ने निर्क्योल गर्छ।

यो समूहको केन्द्रमा १३ सदस्य रहेको ओपेक सङ्गठन छ। ओपेक भनेको विशेषतः मध्यपूर्व अनि अफ्रिकी तेल निर्यातक राष्ट्रहरूको सङ्गठन हो।

सन् १९६० मा गठन भएको ओपेक तेल आपूर्तिको मिलेमतो गर्ने सङ्गठन हो जसले विश्वभरि नै तेलको आपूर्ति र भाउको निर्धारण गर्ने उद्देश्य राखेको छ।

आजको दिनमा ओपेक सदस्यराष्ट्रहरूले विश्वबजारमा आपूर्ति हुने कच्चा तेलको ३०% परिमाण उत्पादन गर्छन्। ओपेकभित्र पनि सबभन्दा धेरै तेल उत्पादन गर्ने देश साउदी अरब हो। उसले दिनको एक करोड ब्यारल तेल उत्पादन गर्छ। एक ब्यारलमा झन्डै १५९ लिटर हुन्छ।

सन् २०१६ मा जब तेलको मूल्य अलि कम थियो तब ओपेकले थप १० तेल उत्पादक राष्ट्रहरूलाई समेटेर ओपेक प्लस भन्ने सङ्गठन बनायो।

ती थपिएका सदस्यहरूमध्ये रुस पनि थियो। उसले दैनिक एक करोड ब्यारल तेल उत्पादन गर्छ।

सबै मिलाएर ओपेक प्लस राष्ट्रहरूले विश्वबजारको कुल कच्चा तेलको ४०% परिमाण उत्पादन गर्छन्।

“बजारलाई सन्तुलनमा राखिरहन ओपेक प्लसले माग र आपूर्तिको तालमेल मिलाउँछ,” एनर्जी इन्स्टि्ट्यूटकी केट डुरिएनले भनिन्।

“माग कम हुँदा उनीहरूले मूल्य उच्च राखिरहन आपूर्ति घटाइदिन्छन्।”बजारमा धेरै परिमाणमा तेल आपूर्ति गरेर मूल्य घटाउन पनि उनीहरूले सक्छन्।

किन तेल उत्पादन घटाउँदै ओपेक प्लस?
उनीहरूले दिनको ११ लाख ६० हजार ब्यारल तेल उत्पादन कटौती गर्ने पछिल्लो निर्णयभन्दा अगाडि गत अक्टोबरमा प्रतिदिन २० लाख ब्यारल उत्पादन कटौतीको निर्णय गरेका थिए।

उनीहरूको निर्णयलगत्तै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ५% ले बढ्यो।

“यो पूर्ण रूपमा एउटा आश्चर्यको विषय थियो,” डुरिएनले भनिन्, “किनभने हालसालै साउदी अरबले यो वर्षभरि उसको कोटा निरन्तर रहने बताएको थियो।”
“विश्वको तेल बजारमा मागमा गिरावट आउने अनुमान गरेर ओपेक प्लसले यो कदम चालेको हुनसक्छ।”

सन् २०२० मा महामारीका बेला उक्त समूहले दैनिक ९० लाख ब्यारेल उत्पादन कटौती गरेको थियो। विभिन्न देशमा लकडाउन भएका कारण कच्चा तेलको मूल्य व्यापक घटेको थियो।

रुसले युक्रेनमा अतिक्रमण गरेपछि चाहिँ तेलको मूल्य अकासिएर एक ब्यारलको १३० डलरसम्म पुग्यो। तर फेरि झरेर अघिल्लो मार्च महिना तेलको मूल्य १५ महिना यताकै कम ७० डलर प्रति ब्यारलमा ओर्लियो।

तेलको बढ्दो मूल्यका कारण अब फेरि यूकेसहित विश्वभरि यसको मूल्य बढ्ने छ र यसले जीवन निर्वाहमा परेको चाप बढाउने छ।अमेरिकाले ओपेक प्लसको पछिल्लो कदमलाई गलत भनेको छ।

रुसको तेलको अवस्था के छ?
रुसले युक्रेन अतिक्रमण गरेपछि युरोपेली युनियनका देशहरूले समुद्रमार्गमार्फत् रुसी तेल आयात बन्द गरिदिए भने अमेरिका र यूकेले सम्पूर्ण रूपमा रुसी तेल किन्न बन्द गरिदिए।

अहिले रुसले भारत र चीनमा धेरै निर्यात गरिरहेको छ। ती देश मस्कोविरुद्धको पश्चिमा प्रतिबन्धमा सामेल भएका छैनन्।

तर रुसको तेल आय न्यून रहिरहोस् भन्नाका लागि सम्पन्न देशहरूको समूह जी सेभनले रुसको तेलको क्रय मूल्यमा प्रति ब्यारल अधिकतम सीमा ६० डलर तोकिदिएका छन्।(बीबीसी)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया