‘यहाँको ‘इम्प्रुभ’भन्दा राम्रो व्यवस्थापनले लोडसेडिङ हटेको हो’
सूर्यनाथ बास्तोला विसं २०१४ सालमा नोकरी सुरु गरेर २०४२ सालमा सेवानिवृत्त भएका हुन् । अहिलेको नेपाल विद्युत् प्राधिकरणको डाइरेक्टर इन चिफ भएका उनी विशिष्ट श्रेणी पदमा पुगेर सेवानिवृत्त भएका हुन् । जलस्रोत क्षेत्रका बारेमा लामो समयदेखि कलम चलाउँदै आएका इञ्जिनियर सूर्यनाथ बास्तोला अहिले पनि उत्तिकै सक्रिय भएर चासो राख्छन् । प्रोजेक्ट इन्चार्ज भएर पनौती, मध्य मर्स्याङ्दी, देवीघाटलगायत विद्युत् आयोजना निर्माण उनैले गरेका हुन् ।
यसैगरी कन्काइ विद्युत् आयोजनाको सर्भेको काम पनि बास्तोलाले नै गरेका हुन् । सेवानिवृत्त भएपछि केही समय अमेरिका बस्दा बास्तोलाले मेरील्यान्डमा त्यहाँको विश्वविद्यालयमा अन्डर ग्राजुयट इन्जिनियरहरूलाई पढाउने कामसमेत गरे । विदेशमा बस्दा नेपाल र नेपालप्रतिको अघात मायाले आफ्नै मुलकमा अझै केही गर्नुपर्छ भन्ने सोच राखेर फर्केको उनले बताए । पञ्चायत हुँदै मुलुक गणतन्त्रमा पुग्दा समेत नेपालका राजनीतिक दलको मुलुक बनाउने कुरामा सोच बदलिन नसकेकोमा उनलाई दुःख लागेको छ । मुलुकले सोचेजति विकास गर्न नसक्नुमा राजनीतिक अस्थिरता पनि एउटा कारण भएको उनको बुझाइ छ ।
दुई वर्षदेखि मुलुकमा स्थिर सरकार भएकोले अब मुलुकमा केही गरेर देखाउने बेला आएको उनले बताए । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले त्यो अठोट पनि देखाएको उनको बुझाइ छ, प्रधानमन्त्रीले लिएको अठोटलाई सबै राजनीतिक दलहरूले साथ दिएर मुलुकको विकास गर्न ढिलो गर्न नहुने उनको तर्क छ । नेपालको विकासमा जलस्रोत, पर्यटन, कृषिलाई प्राथमिकतामा राखेर अगाडि बढ्न उनले सुझाए । नेपालको जलस्रोत अर्थतन्त्रका बारेमा केन्द्रित रहेर उनै बास्तोलासँग आर्थिक दैनिकका लागि रामहरि चौंलागाईंले गरेको कुराकानीः
तपाईंले लामो समय जलस्रोतसँग सम्बन्धित रहेर काम गरिसक्नुभएको छ, त्यसबेला तपाईंले गरेका उल्लेखनीय र महत्वपूर्ण कामहरूको बारेमा केही बताइदिनुहोस् न ?
म २०१४ सालमा भारतबाट इलेक्ट्रोनिक इञ्जिनियर गरेर आएपछि नोकरीमा प्रवेश गरेको हुँ । त्यो बेला मुलुकभरिका खोलानालाका बारेमा अध्ययन गरेर रिपोर्ट तयार गर्दै कति बिजुली उत्पादन गर्न सकिनेरहेछ भनेर सर्भे गर्ने काम भयो । त्यतिबेला जलस्रोत क्षेत्रमा काम गर्ने चार जना मात्र इञ्जिनियरहरू थिए । यिनै चार जनाबाट त्यो काम गरियो । त्यसपछि म रुसमा पढ्न गएँ ।
मलाई सरकारले नै पढ्न पठाएको हो । मैलै त्यहाँ चार वर्ष पढेर मास्टर्स डिग्री गरेर फर्केँ र पुनः विद्युत् प्राधिकरणमा काम सुरु गरेँ । त्यसपछि मैले सुरुमा कन्काइ आयोजना गरेको हो । त्यो आयोजना जापान सरकारको सहयोगमा सर्भे भयो । त्यसपछि नुवाकोटको देवीघाट आयोजना सर्भे भएर बनाउने तयारी गरियो । तरपछि भारतले नै सो आयोजना बनाउने भनेपछि उसैलाई सुम्पियौँ । त्यसलगत्तै म मर्स्याङ्दी आयोजना बनाउन खटिएँ । त्यो आयोजना पनि विदेशी सहयोगमा पाँच वर्षमा तयार भएको हो ।
सो आयोजना सम्पन्न भएपछि म सरकारको विशिष्ट श्रेणीमा बढुवा भएको हो । मेरो बढुवासँगै म विद्युत् प्राधिकरणको निर्देशक भएँ । त्यसपछि म प्लानिङ कमिसनमा रहेर दुई–तीन वर्ष काम गरेँ । विभिन्न क्षेत्रमा काम गरेको अनुभवहरूलाई मैले किताब निकालेर पनि सार्वजनिक गरिदिएको छु । सकेसम्म सबै नेपालीले मेरो अनुभवलाई थाहा पाऊन् भनेर यसो गरिएको हो । यो कुरालाई अहिलेका राजनीतिक दलका नेताहरूले पनि बुझून् भन्ने मेरो अभिप्राय छ ।
तत्काल नेपालले जलस्रोतबाट लाभ लिनका लागि गर्नुपर्ने मुख्य कामहरू के–के हुन सक्छन् ?
जलस्रोत नेपालको लागि विकासको लागि एउटा महत्वपूर्ण अंग हो । यसबाट मुलुकले दीर्घकालीन फाइदा लिनसक्छ । तर, यस विषयमा सुरुमा त योजनाबारे खाका नै बनाउन आवश्यक छ । त्यसका लागि विद्युत्सम्बन्धी ठूल–ठूला योजना बनाएर भारत, बंगलादेशलगायत छिमेकी मुलकहरूसँग सहकार्य गरेर नेपालबाट उत्पादित बिजुली निर्यात गर्न सकिन्छ । यसैगरी नेपालको अर्को छिमेकी मुलुक चीनसँग पनि यस विषयमा छलफल गर्न आवश्यक छ । उनीहरूसँग सहकार्य गरेर लगानी भित्र्याउनेको लागि नेपालले रणनीति तयार गर्नुप-यो ।
नेपालमा उत्पादित बिजुली अरु मुलुकको तुलानामा सस्तो पनि हुनेछ । अहिले पनि हाम्रा छिमेकी मुलुकहरू नेपालमा उत्पादन हुने बिजुली किन्नको लागि तयार छन् । जस्तो माथिल्लो कर्णालीको बिजुली बंगलादेशले किन्छु भनेर सम्झौता पनि भइसकेको छ । मैले यस्ता खालका ठूला आयोजनाहरू बनाउनुपर्छ भनेर पहिलेदेखि नै भन्दै आइरहेको पनि छु । सरकारले पनि गर्ने भनेको पनि छ तर डिसिजन मेकरहरूले बोल्ड निर्णय गर्न नसकेको कारण बन्न सकिरहेको छैन । उनीहरूले पनि विभिन्न स्वार्थले गर्दा बोल्ड निर्णय गर्न नसकेका कारण पनि ठूला आयोजना बन्न नसकेको हो । नेपालको सन्दर्भमा भन्नुपर्दा धेरै लामो समयको अन्तरालपश्चात् भारतबाट बिजुली आयात गरेर लोडसडिङको अन्त्य गरिएको छ । यहाँ इम्प्रुभ भएर लोडसेडिङ हटेको भन्दा पनि मेनेजमेन्ट राम्रो गरिएको कारणले हटेको हो ।
प्रजातन्त्र पुनर्स्थापनापछि राजनीति अस्थिरताका कारण मुलुकमा ठूला आयोजना बन्न नसकेको भन्ने गरिन्छ, तपाईं त पञ्चायतकालमा पनि काम गरिसकेको मान्छे, त्यो बेलामा चाहिँ किन यो क्षेत्रमा सोचेजति विकास हुन किन नसकेको हो ?
पञ्चायतमा पनि काम नभएको होइन, भएका थिए । त्यो बेला लोडसेडिङ थिएन । मुलुकका लागि आवश्यका मात्रामा उत्पादन भएको थियो । विदेश निर्यातको लागि सरकारको बीचमा कन्ट्रोभर्सी भयो । जहाँबाट ठूला निर्णयहरू हुन्थे, त्यही नै त्यस्तो देखियो । त्यो बेलाका विज्ञहरू पनि बिजुली बेच्नु हुँदैन भन्थे । यो नेपालको मुख्य धन हो, उनीहरू नै निहुरिएर आउँछ भन्ने भ्रममा परे । पछि भारतले नेपालसँग बिजुली आयात गर्नुभन्दा पनि न्यूक्लियर पावर उत्पादन ग-यो । यसको मुख्य कारण भनेको हामीहरूसँग समझदारी नमिलेकोले नै हो । यो कुरामा भारतसँग लेनदेनका विषयमा समझदारी गर्न सकेको भए यो क्षेत्रले ठूलो फड्को मारिसक्ने थियो ।
नेपालसँग समझदारी हुन नसकेपछि भारतले भुटानसँग सहकार्य गरेर त्यता लगानी गरेको भन्न खोज्नुभएको हो ?
हो, मैले माथि पनि भनेँ नि यही कुरा नमिलेपछि न्यूक्लियरतर्फ उसले हात अगाडि बढायो । थर्मल पावरहरू बनाए । त्यसपछि उनीहरूले नेपालको बिजुलीलाई खासै महत्व दिएनन् । बरु उनीहरूले भुटानसँग समझदारी गरेर हात अगाडि बढाए । अबको १० वर्षपछि भारतको नर्दन क्षेत्रमा पानीको अभाव हुने निश्चित छ । यसकारण नेपालको पानी नलिइकन उसलाई सुखै छैन । उसले कुनै पनि हालतमा नेपालको पानी लिनको लागि प्रयत्न गर्नेछ । मेरो विचारमा बरु नेपालले अहिले नै बुद्धि पु-याएर समझदारी गर्न सक्नु नै बुद्धिमानी हुनेछ । यसबाट नै नेपालले लाभ लिएर समृद्ध बन्न सक्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा अहिले मुलुकमा पाँच वर्षको लागि स्थायी सरकार रहेको छ तर जनताका अपेक्षाबमोजिमको काम हुन नसकेको गुनासो छ । यही अवस्थामा सरकारले अगाडि सारेको योजना सफल होलान् त ?
म प्रधानमन्त्री केपी ओलीको प्रशंसा गर्छु । किनभने उहाँले मुलुक बनाउने सपना देख्नुभएको छ । जसरी पनि यो मुलुकलाई समृद्ध बनाउनुपर्छ भनिरहनुभएको छ । यसअघिका सरकारले विकास गर्न नसकेको कारण भनेको स्थायी सरकार नभएकैले हो । राजनीति नै स्थिर थिएन । यसबीचमा विकास नभएको पनि होइन, भइरहेको पनि छ । तर, जनताले चाहेअनुसारको काम हुन सकिरहेको छैन ।
प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य प्रतिकूलताका बावजुद पनि ठूलो अठोट गर्नुभएको छ । मेरो पाँचवर्षे कार्यकालमा मुलुकलाई समृद्ध बनाउँछु भनेर लागिरहनुभएको छ । उनको यो अठोट र संकल्प पूरा हुन पनि सक्छ । किनभने हिजोका दिनमा नेपाली जनताले धेरै दुःख पनि पाइसकेका छन् । ब्युरोक्रेसी र ब्युरोक्याट्सले पनि धेरै दुःख पाइसकेका छन् । तर, उनीहरूले पनि भनेजस्तो गर्न पाइरहेका छैनन् र सकेका थिएनन् । हिजोका दिनमा राष्ट्रिय स्वार्थभन्दा पनि दलगत र व्यक्तिगत स्वार्थहरू बढी हाबी भए । अब अहिले समय बदलिएको छ । मुलुकमा स्थायी सरकार छ । अब उनीहरूले आफ्नो सोच बदल्नुपर्छ । प्रधानमन्त्री ओलीजीलाई मेरो सुझाव के छ भने नेपाली जनता र राजनीतिक दलहरूलाई व्यक्तिगत स्वार्थ होइन, राष्ट्रिय स्वार्थ बोकेर काम गर्नको लागि प्रेरित गराउन सक्नुपर्छ । तब मात्र यो मुलुकको विकास हुनसक्छ ।
समृद्ध मुलुक बन्नका लागि तपाईंंले देखेका समृद्धिका आधारहरू के–के हुन् ?
जलस्रोत, पर्यटन, कृषि, जडीबुटीलगायतका क्षेत्रको विकास गर्न सकियो भने नेपाल स्वीजरल्याण्ड बन्न सक्छ । त्यसका लागि उदार मन र दिल भएको मानिस चाहियो । त्यहीअनुसारको राजनीतिज्ञ र विज्ञहरूको पनि आवश्यकता हुन्छ । त्यसैगरी उनीहरूमा मुलुकप्रतिको बफादारिता पनि चाहियो । विदेशी लगानी भित्र्याउन पहल गर्नसक्ने क्षमताका मानिसहरू पनि चाहियो । नेपालको पैसाले मात्र हामीले देखेको र सोचेको विकास गर्न सकिँदैन । त्यसको लागि विदेशी लगानी ल्याउनै पर्छ । नेपाली बैंकहरूमा भएको पैसाले पनि गर्न सकिँदैन र पुग्दैन पनि ।
विदेशी लगानी ल्याउनको लागि उनीहरूलाई बिश्वासमा लिन आवश्यक छ । त्यसपछि उनीहरूलाई प्रतिफल दिन सकिने विषयमा पनि विश्वास दिलाउन सक्नुप-यो । जनताको विकासका लागि उनीहरूलाई पनि उत्साहित पार्न सक्नुपर्दछ । अहिले जनतामा निराशा उत्पन्न भएको अवस्था छ । कुनै पनि व्यवस्था र राजनीतिज्ञले गरेनन् भन्ने उनीहरूमा परिरहेको छ । त्यो निराशा हटाउनको लागि पनि अहिलेको राजनीतिक नेतृत्वले जनतामा उत्साह जगाउन आवश्यक रहेको छ साथै विदेशी संघसंस्थाहरूलाई पनि हामी राम्रो काम गर्न सक्छौँ भनेर विश्वास दिलाउन सक्नु पर्दछ ।
मुलुकमा दश–दश वर्षमा राजनीतिक परिवर्तन भइरहेका छ । यसको मतलव मुलुक विकास नभएको भन्ने होइन र ? राजनीति गर्नेहरूले राम्रो काम गरेनन् । जनताको माग सम्बोधन भएनन् । त्यसपछि उनीहरूले परिवर्तन खोजिरहेका हुन् । अब भने त्यस्तो निराश बन्नुपर्ने अवस्था मैले देखेको छैन । मुलुकमा स्थायी सरकार छ । यतिबेला पनि हुन नसकेको विकास अब कहिले पनि हुन सक्दैन । भोलि कस्तो दिन आउँछ भन्न सकिँदैन । यो सरकारको लागि काम गरेर देखाउने मौका पनि हो । यही मौकामा मुलुकलाई समृद्धिको बाटोमा लैजान आवश्यक छ ।
प्रधानमन्त्रीज्यूले पानीजहाजको कुरा अगाडि सार्दा अहिले त्यो आवश्यक नभएको भन्नेहरूको जमात बढी छ । तपाईंको विचारमा अहिले त्यो नेपाल र नेपालीको आवश्यकताको विषय हो कि होइन ?
हामी जहिले पनि योजना बनाउँदा छोटो अवधिलाई हेरेर मात्र बनाउँछौँ । योजना आयोगले पनि पाँच वर्षलाई नै टार्गेट गरेर काम गरिरहेको छ । अब हामीले जलस्रोतलगायत जुनसुकै विषयको योजना बनाउँदा २० देखि २५ वर्षको लागि बनाउनुपर्छ । त्यस्ता योजना बनाउनको लागि त्यही विषयका विज्ञहरूको राय सुझाव लिन आवश्यक छ । अनुभव भएका, बुढापाका, विदेशीहरू ल्याएर भए पनि त्यो काम गर्नुप-यो । सर्ट टाइमका काम गर्नेहरूले पनि आफ्नो काम गरिरहनपर्छ । तर, दीर्घकालीन योजनाका लागि त्यही किसिमको प्लान गर्नुपर्छ । अनि पानीजहाज कुन नदीमा सञ्चालन गर्न सकिन्छ त्यो कुरा निर्धारण गर्न सकिन्छ । कुन नदिलाई कुन ठाउँमा मिसाउँदा त्यस्ता काम सजिलै गर्न सकिन्छ त्यस बारेमा अध्ययन अनुसन्धान पनि गर्न सक्नुपर्दछ ।
भारतले नर्दन क्यानेल भनेर दक्षिण भागबाट बंगालसम्म क्यानल बनाउन लागेको छ । लङट्रम योजनाका साथ त्यो काम गरिरहेको छ । त्यहाँ गएर नेपालका नदिहरू जोडिन्छन् । हो, अब हामीले उनीहरूलाई भन्न सक्नुप-यो हाम्रो पानी तिमीहरूले प्रयोग गर तर हामीलाई बिजुली उत्पादनमा सहयोग गर र बिजुली पनि किन । यी विषयमा हामीहरूको बीचमा छलफल हुनुप-यो । भारतले अहिले ग्यालजेन नदिमा ठूल्ठूला पानीजहाज ल्याउने भनेर विश्व बैंकसँग ऋण लिएर योजना बनाइरहेको छ । उसको प्लानसँग हाम्रो प्लान पनि मिसाएर छलफल गनुप-यो ।
हाम्रो कोशी, गण्डकीलगायत नदीहरू भारतको गंगा नदीमा गएर मिसिन्छन् । यसकारण पनि पानीजहाज चल्न सक्छ । त्यसका लागि पनि विदेशी लगानी भित्र्याउन यो योजना भारतसँग मिलाउन सक्नुपर्छ । अर्को कुरा नेपालको बिजुली भारत र बंगलादेशले किन्छ नै । त्यसको लागि उनीहरूसँग नेगेसियट गरेर कुन–कुन आयोजनाको कति मेघावाट बिजुली किन्न सक्छन् भन्ने विषयम इन्टेनसिभ नेगोसिएसन गर्न सक्नुपर्छ ।
अहिले मुलुकमा लोडसेडिङ छैन, यसको मतलब नेपालको उत्पादनले आवश्यक माग धानेको हो कि लोड मेनेजमेन्ट मात्र गरिएको हो । तपाईंं विज्ञ भएको नाताले के देख्नुहुन्छ ?
साना–साना प्रोजेक्टहरू बैंक तथा फाइनान्सहरूको लगानीमा बनेकोले पनि केही राहत पक्कै भएको हो । त्यसैगरी भारतबाट पनि नेगोसियट गरेर आयात भएको र प्राधिकरणको वितरण मेनेजमेन्ट राम्रो गरिएकोले पनि सुधार भएको हो । यसअघिको प्राधिकरणको मेनेजमेन्टले बिजुली उद्योगलाई फोकस गरेर उपभोक्तलाई कम बिजुली दिएको कारण पनि बढी लाडेसेडिङ भएको हो । अहिलेको कार्यकारी निर्देशकले उद्योग र उद्योगीलाई भन्दा पनि यतातिर प्रायोरिटी दिएकोले आम उपभोक्ताले उज्यालोमा बस्न पाएका हुन् ।
नेपालमा अत्यधिक बिजुली उत्पादन गरेर प्रयोगमा ल्याउन सकिएको खण्डमा इन्धनमा भइरहेको अर्बौं लगानी नेपालमा नै राख्न सकिने अवस्था छ कि छैन ?
नेपालमा दुई किसिमको इलेक्ट्रिक पावर प्रयोग गर्न सकिन्छ, एउटा इलेक्ट्रिक र अर्को ट्र्याक्सन । ट्र्याक्सन भनेको पूर्व–पश्चिम हाइवेमा बिजुलीको रेल कुदाउन सकिने थियो । बाटो नभएको कारण त्यो हुन सकेन । बिजुलीबाट सस्तो पर्दथ्यो । ट्र्याक्सन हिमालसम्म नै चढ्न सक्छ । त्यो काम भारतले गरेको पनि छ । त्यसबाट बस, गाडी कारहरू चल्छन् । बिजुलीबाट सबै काम गर्न सकिन्छ । त्यसको लागि लगानी ल्याएर काम गर्न सक्नुपर्छ । त्यसपछि इन्धन आयात स्वतः घटेर गइहाल्छ नि ।
बिजुली निर्यात गर्न सकिने खालका अहिले नेपालमा बनिरहेको विद्युत्सम्बन्धी ठूला आयोजनाहरू पनि निर्धारित समयमा बन्न सकिरहेका छैनन् । रकम अभाव वा नीति निर्माणमा भएकोे कमजोरी के कारणले ढिला भएको देख्नुहुन्छ ?
विदेशी लगानी कहीँबाट ल्याउन सकिएको छैन । भारतसँग पनि नेगोसिएट गर्न सकिएको छैन । उत्पादनपछि कसले किन्ने भन्ने विषयमा कसैसँग समझदारी भएकै छैन । अनि कसरी ठूला आयोजना बन्न सक्छन् ? नेपालमा दशवटा ठूला आयोजना बन्न सक्छन् । त्यो पनि धेरै सस्तोमा । हामीले योजना विकास गरेर छलफलमा भारतलाई बोलायो भने ऊ आउँछ पनि ।
तपाईंले धेरै विदेशी लगानीको कुरा गर्नुभयो तर अमेरिकी सरकारले अनुदानमा उपलब्ध गराउन लागेको परियोजना (एमसीसी) समेत विवादमा परेको छ नि ?
उसले ट्रान्समिसन लाइन निर्माणमा सहयोग गर्न खोजेको हो । आर्थिक हिसाबले त्यो नराम्रो होइन । तर, शर्तहरू के–के छन्, त्यो मुख्य विषय हो । मुलुक विकास गर्ने हो भने त उनीहरूको केही न केही शर्त त हामीहरूले मान्नै पर्छ । तर, उनीहरूको हात माथि पर्नेगरी होइन । मुलुकको इज्जत बचाएर ऋण लिनुपर्छ । लगानी भित्र्याउनुपर्छ । नयाँ लगानी नल्याइकन मुलुकको विकास छोटो समयमा गर्न पनि सकिँदैन ।
क्याटेगोरी : अन्तर्वार्ता
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया