Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदपाकिस्तानसँग नेपाल २३८ रनले पराजित

पाकिस्तानसँग नेपाल २३८ रनले पराजित


काठमाडौं, एशिया कप क्रिकेटअन्तर्गत पहिलो खेलमा नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भएको छ।

एक दिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यताप्राप्त पाकिस्तानसँग उसको घरेलु मैदानमा भएको खेलमा नेपाल १०४ रनमा समेटिएको थियो।

टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले नेपाललाई ३४३ रनको लक्ष्य दिएको थियो। विशाल लक्ष्य पछ्याउने क्रममा नेपाल २३.४ ओभरमा अल आउट हुन पुग्यो।

पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपालले आगामी सोमवार अर्को दक्षिण एशियाली राष्ट्र भारतको सामना गर्दैछ।
नेपाललाई थियो ब्याटिङको ‘डर’
नेपालको ब्याटिङमा जुन डर थियो अथवा पाकिस्तानी बलरहरूको जुन उच्च कोटीको क्षमता थियो, त्यो डर सत्य साबित भएको देखियो।

बायाँ हाते तीव्र गतिका बलर साइन अफ्रिदी नेपालको लागि ‘डर’ को विषय थियो।

ओपनर कुशल भुर्तेलले पहिलो ओभरको दुई बलमा अफ्रिदीलाई लगातार दुई चौका हानेपछि खेलमा एकाएक रोमाञ्च बढेको थियो।
तर अफ्रिदीले त्यही ओभरको अन्तिम दुई बलमा दुई विकेट लिएर आफ्नो क्षमता पुष्टि गरिदिए।

पाँचौँ बलमा ओपनर कुशल भुर्तेल एज लागेर विकेट किपर रिजवानबाट समातिए भने अर्को बलमा रोहित पौडेल गोल्डन डकआउट हुन पुगे।

एलबीडब्लुको शिकार भएका रोहितले अफ्रिदीको बलको गति भेउ पाउन सकेनन्।
लगातार विकेट ढलेपछि नेपाली खेलाडीहरू दवाबमा आएको देखिएको थियो।

त्यसै बेला अर्का ओपनर आशिफ शेख पनि आउट हुन पुग्यो। १.४ ओभरमा उनी ५ रन बनाएर पवेलियन फर्किए।

त्यसपछि सोमपाल कामी र आरिफ शेखले नेपाली इनिङ सम्हाल्ने काम गरे। यी दुईले मिलेर चौथो विकेटका लागि ५९ रनको महत्त्वपूर्ण साझेदारी निभाए।

इनिङ्स सम्हाल्नमा माहिर मानिएका यी दुईमा आरिफ १४.४ ओभरमा आउट हुन पुगे।

हरिफ रौफलाई ठूलो शट हान्ने धुनमा विकेट छोडेर प्रहार गरेका आरिफले २६ रन बनाएका थिए। ३८ बल खेलेका उनले ५ चौका हानेका थिए।

त्यसपछि सोमपाल कामी पनि टिक्न सकेनन्। हरिफकै बलमा १७ औँ ओभरमा मोहम्मद रिजवानले मुस्किलले सोमपालको डाइभिङ क्याच लिएका थिए।

४६ बलमा ४ चौका प्रहार गरेका सोमपालको २८ रन नै नेपालको सर्वाधिक रन बन्यो।

त्यसपछि त नेपालको विकेट एकपछि अर्को गर्दै धराशायी बन्न पुगेको थियो।

नम्बर एक टोली विरुद्ध कसिकसाउ बलिङ
पाकिस्तानसँग नेपालको खेल दर्शकहरूले अपेक्षा गरेजस्तै देखिएको थियो।

मुल्तान रङ्गशालामा नेपाली बलरहरूले विश्व नम्बर एक टोलीका ब्याटरहरु विरुद्ध कसिकसाउ बलिङ प्रदर्शन गरिरहँदा नेपाली समर्थकहरू दङ्ग देखिएका थिए।

खेल सुरु हुनु अगाडि नेपालको बलिङमा चौका र छक्काको वर्षा हुने कतिपयको अपेक्षा भए पनि बुधवार साँझको खेलमा त्यसो भएन।

महत्त्वपूर्ण पक्ष के थियो भने पाकिस्तानी ब्याटरले ३५ ओभरको पहिलो बलमा मात्र बल्ल पहिलो छक्का प्रहार गरेका थिए।

सोमपाल कामी, करण केसी, ललितनारायण राजवंशी र सन्दीप लामिछानेलेको बलमा विपक्षी खेलाडीहरू खुलेर खेलिरहेको देखिएको थिएन।

नेपालले गुमाएको अवसर
तिसौँ ओभरमा करण केसीले पाकिस्तानी कप्तान बाबर आजमको क्याच ड्रप नगरेको भए कथाले अझ रोचक मोड लिन सक्थ्यो।

नेपालले गरेको दुई वटा रन आउट उच्च कोटीको थियो। दीपेन्द्रसिंह ऐरी र रोहित पौडेलले गरेको ‘डाइरेक्ट हिट’ पाकिस्तानी खेलाडीहरूको अपेक्षा विपरीत देखिएको थियो।

यद्यपि पाकिस्तानले आफ्नो भूमिमा आफ्नो टोली एकदिवसीय शीर्ष वरीयताको टोली भएको प्रमाणित गरेरै छोड्यो।

उनीहरूको वास्तविक अनुभवी प्रदर्शन ४० ओभरपछि देखियो।

अन्तिम १० ओभरमा पाकिस्तानले १२९ रन बटुलेको थियो।

जसको मदतले टोलीले छ विकेट गुमाएर ३४२ रनको विशाल लक्ष्य बनायो। यो नेपालले अहिले सम्म पाएको विशाल रन लक्ष्य हो।
पाकिस्तानका दुई जना खेलाडीले शतक प्रहार गर्दै टोलीका लागि ३४२ रन बनाउन उल्लेख्य योगदान गरे।

अन्तिम ओभरमा सोमपाल कामीको बलमा १५१ रन बनाएका बाबर आजम र उनको ठाउँमा आएका सादब खान आउट भए।

पाकिस्तानका लागि उल्लेख्य रन जोडेका बाबर सोमपालको बलमा नेपालका बैकल्पिक खेलाडी सन्दिप जोराबाट क्याच आउट भए।

इफ्तिखार अहमदले पनि पाकिस्तानका लागि अविजित १०९ रन जोडे।
नेपालका लागि सोमपाल कामीले दुई विकेट लिए भने करण केसी र सन्दिप लामिछानेले एक-एक विकेट लिए।

पाकिस्तानका ओपनिङ ब्याटरहरू फखर जमान १४ रनमा र इमाम-उल-हक पाँच रनमा आउट भए।

करण केसीको बलमा जमामलाई आशिख सेफले क्याच गरे भने रोहित पौडेलको बलमा रन लिने क्रममा इमाम रन आउट भए।

पाकिस्तानसँगको खेलमा नेपाली टोलीबाट कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, आरिफ शेख, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, गुलसन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी र सन्दिप लामिछानेले खेलेका थिए।

नेपाली भावना
छिमेकी देशले विश्व क्रिकेटमा लामो समयदेखि जमाएको धाकलाई समर्थन वा विरोध गरिरहेका नेपाली समर्थकहरूका लागि नेपालकै समर्थन गर्न पाउनु भनेको आखिर एउटा दुर्लभ उत्सव थियो।

बुधवार मुल्तान रङ्गशालामा भएको उद्द्घाटन खेलमा कतिपय नेपाली क्रिकेट समर्थकहरू पनि नेपालको झन्डा सहित पुगेका थिए।
यसै हप्ता एक दिवसीय विश्व वरीयताको शीर्ष स्थानमा उक्लेको पाकिस्तानसँग नेपालको प्रतिस्पर्धा चुनौतीपूर्ण रहेको विश्लेषण गरिएको थियो।

पाकिस्तानी टोलीका स्टार ब्याटरहरु कप्तान बाबर आजम, मोहम्मद रिजवान र फखार जमान अनि बलिङमा बायाँ हाते तीव्र गतिका शाहिन अफ्रिदी, हरिस रौफ, नसिम शाहसँगको खेल नेपालका लागि उपलब्धिमूलक भएको कतिपयको विश्लेषण छ।(बीबीसी)


क्याटेगोरी : खेलकुद

तपाईको प्रतिक्रिया