Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदराष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला ब्याडमिन्टनको उपाधि दाहाललाई

राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला ब्याडमिन्टनको उपाधि दाहाललाई


काठमाडौं । ‘१६ औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला ब्याडमिन्टन प्रतियोगिता’को पुरुष एकलतर्फको उपाधि नेपाल एपीएफ क्लबका प्रिन्स दाहालले जितेका छन् । बिहीबार भएको फाइनल खेलमा एपीएफका दाहालले त्रिभुवन आर्मी क्लबका रुकेश महर्जनलाई २१–११ र २१–११ ले पराजित गरी उपाधि जितेका हुन् ।

यसै गरी बिहीबार नै भएको महिला एकलतर्फको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबकी रसिला महर्जनले नेपाल एपीएफ क्लबकी जेसिका गुरुङलाई २१–१९, १५–२१ र २१–१७ ले पराजित गरी उपाधि हात पारेकी छन् । यस्तै, १९ वर्षमुनिका केटाअन्तर्गत नेपाल एपीएफ क्लबका क्षितिज खनालले एपीएफ क्लबकै रोशन साउदलाई १३–२१, २१–१७, २१–१८ ले पराजित गरी उपाधि जिते । अन्डर टुभेल ब्वाइजअन्तर्गतको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबका रिजन मगरले त्रिभुवन आर्मी क्लबकै सुदेश राजकोटीलाई २४–२२, २१–१८ ले पराजित गरी उपाधि जितेका छन् ।

यसै गरी मेन्स डबलतर्फ नेपाल एपीएफ क्लबका प्रिन्स दाहाल र विजित थापा मगरले नेपाल पुलिस क्लबका जीवन आचार्य र विष्णु कटुवाललाई २१–१८, २१–१३ ले पराजित गरी उपाधि जित्न सफल भएका छन् । वुमेन्स डबलतर्फको खेलमा त्रिभुवन आर्मी क्लबका रशिला महर्जन र अनुमाया राईले नेपाल एपीएफ क्लबका जेशिका गुरुङ र सुनैना मुखियालाई २१–१६, २१–१२ ले पराजित गरी उपाधि जिते भने मिक्स डबलतर्फ नेपाल एपीएफ क्लबका प्रिन्स दाहाल र जेसिका गुरुङले नेपाल एपीएफ क्लबकै विजित थापा मगर र शोभा गौचनलाई २३–२१, २२–२० ले पराजित गरी फाइनल खेल जित्न सफल भए ।

५५ वर्षमाथिका भेट्रान्सतर्फ चितवनका बुद्धि चौधरी र धादिङका विष्णुलाल श्रेष्ठले बैतडीका पूर्णचन्द्र जोशी र कीर्तिपुरका राजु महर्जनलाई २३–२१, २२–२० ले पराजित गरी उपाधि जितेका छन् भने ४५ वर्षमाथिका भेट्रान्सतर्फका खेलमा नेपाल एपीएफ क्लबका सञ्जय कपाली र अनिल थाम्सुङ्ले कास्की पोखराका विशाल हिराचन र शम्भुकुमार श्रेष्ठलाई २१–१३, २२–२० ले पराजित गरी उपाधि जितेका छन् । इन्टर गभरमेन्ट सर्भिस (सिनियर अधिकृत)तर्फको खेलमा नेपाल टेलिकमका शोभाकर भण्डारी र हरिकृष्ण शर्माले नेपाल एपीएफ क्लबका धीरेन्द्र चन्द र सुधीर सुवेदीलाई २२–२०, २१–१२ ले पराजित गरी उपाधि जिते ।

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा आयोजित प्रतियोगिताको समापन समारोहमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विजयी खेलाडीहरूलाई सिल्ड, पदक, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरे । कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रतियोगिता सञ्चालनमा सहयोग पु-याउने विभिन्न संघ संस्था, रेफ्री तथा अफिसियलहरूलाई समेत प्रशंसा पत्र तथा मायाको चिनो प्रदान गरेका थिए । कुल पुरस्कार राशि आठ लाख ६५ हजार रुपैयाँ रहेको प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल, महिला युगल, १२ वर्षमुनिका केटा, १९ वर्षमुनिका केटा, भेट्रान्स युगल ४५÷५५ वर्ष, मिक्स डबल्स र इन्टर गभरमेन्ट सर्भिस (सिनियर अधिकृत)लगायत गरी १० वटा इभेन्ट्सहरू समावेश गरिएको थियो ।

नेपाल एपीएफ क्लबको आयोजनामा उक्त प्रतियोगिता सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकस्थित नेपाल एपीएफ क्लबको कभर्ड हलमा जेठ २१ गतेदेखि सञ्चालन भएको हो ।


क्याटेगोरी : खेलकुद
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया