हरि बास्तोला
पोखरा, वैशाख १९
‘तरकारी किनेर होइन टिपेर खानुपर्छ’ भन्ने लक्ष्यका साथ यहाँको रूपा गाउँपालिकाले प्रत्येक घरपरिवारलाई तरकारीको बीउ निःशुल्क वितरण गरेको छ । कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहदा सामाजिक दूरी कायम गर्दै तरकारी खेतीप्रति प्रेरित गर्ने उद्देश्यले सो गाउँपालिकाले तरकारीको बीउ निःशुल्क वितरण गरेको हो ।
गाउँपालिकामा रहेका कुल चार हजार पाँच सय घरपरिवारलाई विभिन्न जातका नौ लाख मूल्यबराबरका तरकारीका बीउ निःशुल्क वितरणसँगै प्रत्येक व्यक्तिको स्वास्थ्य परीक्षण गरिएको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए । उनका अनुसार प्रत्येक घरलाई कम्तीमा ४० वटा बिरुवा उत्पादन हुनेगरी घिरौँला, काँक्रो, रामतोरिया, लौका, करेला, सिमी, बोडी, चिचिन्ना, रायोसागलगायत विभिन्न जातका तरकारीका बीउ वितरण गरिएको हो ।
‘बारी बाँझो राख्ने, तरकारी किनेर खाने संस्कारको अन्त्य गरी बारीमै अग्र्यानिक तरकारी उत्पादन गरेर खानुपर्छ’, उनले भने, ‘त्यसबाट आफ्नै मिहिनेतले फलाएको ताजा तरकारी खानुका साथै आर्थिकसमेत बचत हुने गाउँपालिकाले पूर्ण विश्वास लिएको छ ।’ गाउँपालिकाले व्यावसायिक कृषिका लागि सातवटै वडामा पाँच/पाँचवटा तरकारीका टनेल निर्माणमा सहयोग गरेको बताउँदै अध्यक्ष ओझाले भने, ‘टनेलमा बेमौसमी तरकारी उत्पादन भई कृषकले उपभोग गर्नाका साथै बाँकी रहेको पोखरा बजारमा बिक्री गरेर आयआर्जन गर्न थालेका छन् ।’ पालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको ३५ वटा टनेलमा कुल ११ लाख रूपैयाँ लगानी भएको बताउँदै अध्यक्ष ओझाले पालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण सुपर जोन कार्यक्रमअन्तर्गत धान, केरा र मौरी पकेट क्षेत्र घोषणा गरी लगभग ३५ लाख रूपैयाँ लगानी भएको बताए ।
तरकारी खेतीका लागि गाउँपालिकाले बीउसँगै प्राविधिक सहयोग, आवश्यक ज्ञानका लागि तालिमसमेत प्रदान गरेको उनको भनाइ छ । तरकारी खेतीमा देखिने समस्या समाधानका लागि एक अनुगमन समितिसमेत गठन गरिएको उनले बताए । वडाध्यक्षको संयोजकत्वमा गठन गरिएको अनुगमन समितिमा वडासदस्य र सम्बन्धित वडासचिवको सहभागिता रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिए । सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका अध्यक्ष एवं स्थानीय बासिन्दा कालीदास सुवेदीका अनुसार गाउँपालिकाले वितरण गरेको तरकारीको बीउ उम्रेका छन् यसले गाउँवासीलाई केही गर्नुपर्छ भन्ने धारणा विकसित गरेको छ ।
स्वास्थ्यकर्मी र जनप्रतिनिधिसहितको टोली प्रत्येक घरमा पुगेर थर्मल गनले ज्वरो मापनसहित बीउ वितरण गरिएको बताउँदै उनले भने, ‘बीउ वितरणसहित स्वास्थ्य परीक्षणले महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाममा समेत टेवा पुगेको छ ।’ उनका अनुसार तरकारीको बीउ वितरणसँगै गाउँमा तरकारी खेती गर्ने लहर नै चलेको छ । यतिखेर विदेश तथा सहरबाट गाउँ फर्केका स्थानीय बासिन्दा तथा भाडामा बस्ने मानिससमेत उत्पादनसँग जोडिन थालेका छन् । सो गाउँपालिकाले कोरोना भाइरसको संक्रमण फैलिन नदिन बाहिरबाट गाउँ प्रवेश गर्ने जोकोहीलाई पनि निषेध गरेको छ । गाउँ प्रवेश गर्ने मुख्य नाकामा सुरक्षाकर्मी र कोरोना स्वयंसेवकसहितको टोली चौबीसै घण्टा खटिएका छन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- लेबनानमा युद्धविराम घोषणा
- सहकारी नियमन गर्न तीन महिनाभित्र बनाउनु पर्ने निकाय गठनको काम कहाँ पुग्यो?
- डेडिकेटेड फिडर तथा ट्रंकलाइन बक्यौता रहेका उद्योग सञ्चालकहरुको घरमा प्राधिकरणको लाइन काट्ने तयारी
- वन मुद्दामा आरोपित भीआईपी व्यापारी धरौटीमा छुट्नुको रहस्य !
- बक्यौता उठाउन प्राधिकरणको नयाँ जुक्ति
- पहाड र तराईका केही स्थानमा हुस्सु, बाँकी भागमा मौसम सफा
- यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया