Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाल‘क्वारेन्टाइन’ व्यवस्थापन कमजोर

‘क्वारेन्टाइन’ व्यवस्थापन कमजोर


महेन्द्र शाही
सोलुखुम्बु, जेठ १
सोलुखुम्बु जिल्लाको सोलुदूधकुण्ड नगरपालिका ४ फाप्लुस्थित क्वारेनटाइनमा बसेकाहरूले व्यवस्थापकीय पक्ष कमजोर रहेको बताएका छन् । केही दिनअगाडि झापाबाट सोलुखुम्बु आएका आपा शेर्पाले आफूहरू क्वारेनटाइनमा बसेको भए पनि शौचालयदेखि खानेपानीलगायत अन्य व्यवस्थापनमा सुधार गर्नुपर्ने देखिएको बताए ।

क्वारेनटाइन क्षेत्रमा दैनिक दर्जनौँ मानिस रमिता हेर्न आउने गरेको भन्दै स्वास्थ्य सुरक्षाको दृष्टिकोणले जोखिम बढेको उनको भनाइ छ । आफूहरू क्वारेनटाइनमा बसेको भए पनि सँगै आएका सवारीचालक खुलेआम बजारमा हिँड्नुले क्वारेनटाइनमा राख्ने सवालमा समेत एकरूपता नभएको शेर्पाको भनाइ छ । ‘हामी क्वारेनटाइनमा बस्नेसँगै आएको सवारी चालकचाहिँ बजारमा बसेर हिँड्नुले स्वास्थ्य सुरक्षा कसरी भयो ?’ प्रश्न गर्दै शेर्पाले भने, ‘सरकारले हामीलाई हेर्ने दृष्टिकोण समेत फरक भयो ।’ काठमाडौँबाट इलाम घुम्न गएका शेर्पासहित दुई जना झापा पुगेपछि लकडाउनमा फसेका थिए । उनीहरूले सोलुखुम्बु प्रशासनदेखि स्थानीय सरकारलाई समेत बारम्बार गुहार मागेको भए पनि कसैले सहयोग नगरेको गुनासो गरे ।

व्यक्तिगत पहलबाट झापा प्रशासनको सहयोगमा सल्लेरी आएको उनीहरूको भनाइ छ । माप्यदूधकोशी ७ स्थायी ठेगाना भएका शेर्पाले सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर ५ मा कोठाभाडामा बस्ने गरेको सुनाए । यसअघि पनि सोही क्वारेनटाइनमा बसेकाहरू मादकपदार्थ सेवन गरी गाउँ पसेपछि तनाव सृजना भएको थियो । नगरपालिका र सुरक्षा निकायबीचको समन्वय अभाव हुँदा उक्त समस्या आएको प्रहरीले जनाएको छ । कोरोनाको जोखिम न्यूनीकरणका लागि कार्यपालिका बैठक बसेर निर्णय गर्नुपर्ने नगरपालिका लथालिङ्ग तरिकाले हिँडिरहेको उपमेयर कल्पना राईको भनाइ छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x