Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालबारअनुसार पसल, व्यवसाय सञ्चालन गर्न पाउने बाँके प्रशासनको अनुमति २ दिनमै फिर्ता

बारअनुसार पसल, व्यवसाय सञ्चालन गर्न पाउने बाँके प्रशासनको अनुमति २ दिनमै फिर्ता


बाँके, जेठ २५
बाँकेमा बारअनुसार व्यवसाय सञ्चालन गर्न दिने अनुमति प्रशासनले २ दिनमै फिर्ता लिएको छ । जिल्लामा बारअनुसारका पसल, व्यवसायहरू सञ्चालन गर्न दिने भनिएको अनुमति जिल्ला प्रशासन कार्यालय बाँकेले शुक्रबार फिर्ता लिएको जनाएको छ । प्रशासनले शुक्रबार एक सूचना जारी गरी लकडाउनलाई व्यवस्थित बनाई सर्वसधारणको जनजीविकालाई सहज बनाउन समयतालिका अनुसार पसल, व्यवसाय सञ्चालन गर्न दिएको अनुमित फिर्ता भएको जनाएको हो ।

बजार सञ्चालक, व्यवसायीले स्वास्थ्य सुरक्षासम्बन्धीको मापदण्ड पूरा नगरेका कारण यसअघि बारअनुसार व्यवसाय सञ्चालन गर्न दिने अनुमति रद्द भएको सूचनामा उल्लेख छ । २२ र २३ गतेको बजार अनुगमनको अवस्थाले कोरोना भाइरसको जोखिम बढ्नसक्ने अवस्था बढेको पाइएकाले निर्णय फिर्ता गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।

यद्यपि अत्यावश्यक र दैनिक उपभोग्य वस्तु यसअघिकै सूचनाअनुसार बिहान ११ देखि ३ बजेसम्म सञ्चालन गर्न पाउने सूचनामा उल्लेख छ । जिल्ला प्रशासन कार्यालय बाँकेले २१ गते लकडाउनलाई व्यवस्थित गरी व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको थियो । सर्वदलीय, सर्वपक्षित बैठकको सुझावका आधारमा प्रशासनले बारगतरूपमा व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

सर्बदलीय बैठकपछि प्रशासनले जारी गरेको सूचनाअनुसार हरेक आइतबार र बुधबार मोबाइल, इलेक्ट्रोनिक्स, स्टेशनरी र पुस्तक पसल, फोटो स्टुडियो, छापाखाना, फर्निचर, फर्निसिङ तथा भाँडा पसल सञ्चालनमा आउने त्यसैगरी सोमबार र बिहीबार कपडा, फेन्सी, जुत्ता, कस्मेटिक, चस्मा तथा गरगहनाका पसल सञ्चालन गर्न दिने बताइएको थियो ।

यस्तै मंगलबार र शुक्रबार अटो मोबाइल्स, कोल्ड स्टोर, जुत्ता, मोटरसाइकल तथा अन्य पसलहरू सञ्चालन गर्न प्रशासनले छुट दिएको थियो । औषधि पसल, दैनिक उपभोग्य सामग्री, निर्माण सामग्री, मलखाद तथा बीउबिजन बिक्री गर्ने पसल भने हरेक दिन सञ्चालन गर्न सकिने बताइएको थियो । उक्त पसल तथा व्यवसाय बिहान ११ बजेदेखि ३ बजेको अवधिमा मात्र सञ्चालन गर्न पाइने रहेको थियो भने बैंकहरू भने सार्वजनिक विदाको दिनबाहेक हरेक दिन खुल्ला रहने जिल्ला प्रशासन कार्यालय बाँकेद्वारा जारी सूचनामा उल्लेख गरिएको थियो ।

कालोबजारी हुन नदिन उपमहानगरपालिका सक्रिय यसैबीच नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले लामो समयको लकडाउनका कारण बजारमा कालोबजारी हुन नदिन उपमहानगर सक्रिय रहेको बताएकी छिन् । यसका लागि स्थानीय सरकार, स्थानीय प्रशासन र सम्बद्ध व्यवसायीबीच सहकार्य र समन्वय हुनुपर्नेमा उनले जोड दिइन् ।

नेपालगञ्ज उपमहानगरपालिका उपभोक्ता हित संरक्षण समितिको शुक्रबार भएको बैठकमा समितिका संयोजक समेत रहेकी थापा मगरले आपूर्तिमा सहज व्यवस्थापन गरी सहजरूपमा व्यापार व्यवसाय सञ्चालनका लागि स्थानीय सरकार लागिपरेको बताइन् । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले पेशागत इमानदारिता सबैमा आवश्यक पर्ने बताए ।

बैठकमा केएल दुगड ग्रुपका प्रबन्धक प्रदिपकुमार छाछेड, पानी संघ बाँकेका अध्यक्ष विनय श्रेष्ठ, नेपालगञ्ज किराना तथा खाद्य व्यवसायी संघका अध्यक्ष फणाधर भण्डारी, मासु व्यवसायी संघका अध्यक्ष दिपेन्द्रराज श्रेष्ठ, चेम्बर अफ कमर्सका अध्यक्ष सतिशकुमार अग्रवाल, रानीतलाउ तरकारी बजार समितिका अध्यक्ष मोतिसरा थाापालगायतले असहज अवस्थामा काम गरिरहेको भन्दै बजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुने अवस्था नभएको बताए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x