Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालरोजगारीलाई जोड्दै रूपातालको माछा

रोजगारीलाई जोड्दै रूपातालको माछा


हरि बाँस्तोला
पोखरा, जेठ २७
प्राकृतिक सम्पदाको संरक्षणसँगै यसको भरपूर उपयोग गर्ने हो भने रोजगारीको गतिलो आधार खोज्न सकिन्छ भन्ने तथ्यलाई यहाँको एउटा सहकारीले चरितार्थ पारेको छ । प्राकृतिक एवं मानवीय अतिक्रमणसँगै तालको अस्तित्व नै संकटमा पर्दै गएको वास्तविकतामा पोखरा उपत्यकाको तेस्रोे ठूलो तथा सुन्दर रूपातालको संरक्षणसँगै माछापालन गरेर रूपाताल पुनर्स्थापना तथा मत्स्यपालन सहकारी लिमिटेडले राम्रै आम्दानी गरेको छ । रामसार सूचीमा सूचीकृत रूपाताल जलाधार क्षेत्रका स्थानीय बासिन्दाको सक्रियतामा २०५८ सालमा स्थापित संस्थाले स्थापनाकालयता तालको संरक्षण र प्रवर्द्धनका साथै तालमा माछा पालेर मनग्य आम्दानी गर्दै आएको छ ।

जैविक विविधता र विविध पारिस्थितिकीय प्रणालीका कारण यस क्षेत्रलाई महत्वपूर्ण स्थालका रूपमा लिने गरिएको रूपातालमा प्राकृतिक आहारा प्रशस्त पाउने हुँदा माछापालन पनि राम्रैसँग फस्टाएको छ । सिमल काँडे, लेउ, करौते, नाभोलगायत विभिन्न झारको चपेटामा परेर तालको सम्पूर्ण भूभाग ढाकी संकटमा पर्दै गएको ताललाई बचाउँदै त्यसबाट आम्दानी गर्दै आएको सहकारीका अध्यक्ष लेखनाथ ढकालले जानकारी दिए । ‘पानीमा मौलाएको झार आहारा बनाउने उन्नत जातका माछाका भुरा प्रत्येक वर्ष तालमा छोड्दै आएका छौँ’, उनले भने, ‘हुर्केका माछाले झार खान थालेपछि अहिले तालको मुहार फेरिनाका साथै माछा बिक्रीबाट सहकारीले राम्रो आम्दानी गर्दै आएको छ ।’ उनका अनुसार रूपातालको स्वादिष्ट माछा बिक्री हुँदैनकी भन्नै पर्दैन, ग्राहक तालको छेउमा रहेको सहकारीको कार्यालयमै खरिद गर्न आउने गरेका छन् । सहकारीले गत वर्ष कूल एक करोड ८७ लाख मूल्यबराबरको माछा उत्पादन गरेको थियो । चालू आवको हालसम्म एक करोड ४० लाखको माछा उत्पादन भएको छ ।

प्रत्येक दिन साँझ तालमा सातजना कर्मचारीमार्फत तालको छुट्टाछुट्टै स्थानमा सातवटा महाजाल थाप्ने गरेको बताउँदै ढकालले बिहान सबेरै जाल झिक्दा १०० देखि ५०० केजीसम्म माछा पर्ने गरेको छ । सहकारीले तालको माछा छोपेर आम्दानी गर्नेमात्र नभई प्रत्येक वर्ष लाखौँ माछाका भुरासमेत छोड्ने गरेको छ । यस वर्ष ६० हजारभन्दा बढी विभिन्न जातका भुरा छोडिसकिएको अध्यक्ष ढकालले जानकारी दिए । संस्थाले पोखरा महानगरपालिका वडा नं ३१ स्थित चौरमा सात रोपनी जग्गा खरिद गरी ह्याचरीसमेत सञ्चालन गरी भुरा उत्पादन तथा हुर्काउने गरेको छ ।

सहकारीले तालमा अहिलेसम्म ६० लाखभन्दा बढी भुरा छोडेको छ भने स्थानीय जातका माछाको संरक्षण गर्दै आएको छ । दुई दशकअघि ३६ जना शेयर सदस्यबाट पाँच हजार लिएर सुरु गरेको सहकारीमा आकर्षण बढेसँगै अहिले ८७२ जना शेयर सदस्य पुगेका छन् । रूपाताल जलाधार क्षेत्रका स्थानीय बासिन्दालाई संस्थाको शेयर सदस्य बनाउने प्रावधान सहकारीको छ । तालमा उत्पादित माछा रहु, नैनी, कमन, ग्रास भाकुर प्रतिकेजी ४ सय ५० रूपैयाँ, सिल्भर ३ सय ३० रूपैयाँ, तिलेपिया प्रतिकेजी तीन सय रूपैयाँ र लोकल सहर प्रतिकेजी एक हजार रूपैयाँमा बिक्री गर्ने गरेको सहकारीका उपाध्यक्ष जानुका अधिकारीले बताईन् । उन्नत जातका तीन केजीभन्दा बढी तौलको माछाको दर भने केही बढी हुन्छ ।

संस्थाले जलाधार क्षेत्रअन्तर्गतका १४ वटा सामुदायिक वन समूहलाई पाँच÷पाँच हजार रूपैयाँ, १७ वटा सामुदायिक विद्यालयलाई छात्रवृत्ति प्रदान गर्न चार हजार रूपैयाँका दरले आर्थिक सहयोग गरेर सामाजिक उत्तरदायित्वसमेत पूरा गर्दै आएको उनको भनाइ छ । संस्थाले स्थानीय आमा समूह, युवा क्लबलगायत यस क्षेत्रमा हुने विभिन्न मेला महोत्सवमा समेत आफ्नो उपस्थिति जनाउँदै आएको छ । सहकारी स्थापनासँगै सुरुमा तालको दक्षिणतर्फको ४२५ मिटर लम्बाइको सालको खम्बामा कालो नाइलनको जाली राखेर छेकबार निर्माण गरिएको छ । तालमा हुर्केका माछा जोगाउनका लागि छेकबार राखिएको हो । १०७ हेक्टर क्षेत्रफलमा फैलिएको रूपा तालको गहिराई चारदेखि ६ मिटर रहेको छ ।

संस्थाले माछाको संरक्षण, तालको फोहर सरसफाइ र माछा छोप्नका लागि १६ वटा डुङ्गा खरिद गर्नाका साथै तालमा सयर गर्ने पर्यटकका लागि एउटा मोटरबोटसमेत सञ्चालन गर्दै आएको छ । सहकारीमा हाल १९ जनाले प्रत्यक्ष रोजगारको अवसर प्राप्त गरेका छन् । विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्र्रमण रोक्नका लागि गरिएको बन्दाबन्दीका कारण चैत ११ देखि जेठ १९ गतेसम्म माछा झिकिएन । जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिएर गत जेठ २० गतेदेखि माछा झिकेर बिक्री गर्न सुरु गरेको संस्थाका प्रबन्धक नवराज खड्काले जानकारी दिए । सोमबार बिहानमात्र ५८ हजार मूल्यबराबरको माछा महाजालमा परेको थियो । सहकारीले तीन समूहमार्फत चौबीसै घण्टा डुङ्गामार्फत माछाको सुरक्षाको व्यवस्था मिलाइएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x