सुबास बस्नेत
दोलखा, जेठ २८
जिल्लाको सदरमुकाम चरीकोटमा रहेको प्रस्तावित चरीकोट अस्पतालले निःशुल्क उपचार गर्ने भने पनि बिरामीसँग उपचार गरेको शुल्क लिने गरेको पाइएको छ । १० वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा दिनेगरी स्वास्थ्य मन्त्रालयसँग सम्झौता गरेको चरीकोटस्थित न्याय हेल्थ नामक गैरसरकारी संस्थाले बिरामीसँग शुल्क लिने गरेको खुलेको हो ।
प्राथमिक स्वास्थ्य केन्द्र चरीकोटलाई अमेरिकी दातृ निकायको सहयोगमा १० वर्षसम्म निःशुल्क गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने र ५० बेडभन्दा बढी क्षमताको अस्पताल बनाउने सम्झौता गरेको न्याय हेल्थले उल्टै बिरामीसँग शुल्क लिइरहेको खुलेको हो । प्रस्तावित अस्पतालले हात भाँचिएर १३ जेठमा अस्पताल आएका दोलखा शैलुङ गाउँपालिका– ४ का फुर्वा तामाङलाई धरौटी भन्दै न्याय हेल्थको लेखा शाखाले १० हजार रूपैयाँ लिएको थियो । न्याय हेल्थले उपलब्ध गराएको रसिदमा लेखा प्रमुख गोपी श्रेष्ठले हस्ताक्षर गरी रकम बुझेका छन् । निःशुल्क अस्पतालमा किन शुल्क उठाइयो भन्ने प्रश्न गर्दा लेखाप्रमुख श्रेष्ठले स्वास्थ्य सेवा प्रमुखको निर्देशनमा रकम लिएको बताए । अस्पतालका मेडिकल निर्देशकको निर्देशनमा रसिद काटेको उनको प्रतिक्रिया छ ।
तामाङलाई अस्पताल प्रशासनले सुरुमा उपचार नहुने भन्दै काठमाडौं जान सुझाव दिएको थियो । तर, केहीबेरमा अस्पताल प्रशासनले १० हजार खर्च लाग्ने भनेपछि तामाङ रकम बुझाएर भर्ना भएका थिए । निःशुल्क सेवा दिँदै आएको संस्थाले एकाएक बिरामीसँग रकम असुलेपछि न्याय हेल्थको आलोचना सुरु भएको छ । यस अस्पतालले केही दिनअघि मात्रै पनि ३७ जना स्वास्थ्यकर्मी एकैपटक हटाउने निर्णय गरेको थियो । निष्कासित ३७ स्वास्थ्यकर्मीहरू आन्दोलनमा छन् । ५ माघ ०७२ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग न्याय हेल्थ नेपालले चरीकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई सार्वजनिक निजी साझेदारीको अवधारणामा ५० बेडभन्दा माथि क्षमताको हुने गरी १० वर्ष सञ्चालन गर्ने सम्झौता भएको थियो ।
सम्झौताको बुँदा नम्बर ३ को १ मा न्याय हेल्थले अस्पताल सञ्चालन गर्ने अवधिभर सरकारको नीति तथा कानुनबमोजिम सम्पूर्ण स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्नुपर्ने उल्लेख छ । सम्झौतामा सो संस्थाले तोकिएको अवधिभर पर्याप्त स्वास्थ्यकर्मी, निःशुल्क औषधि उपचारसँगै सम्पूर्ण सेवा निःशुल्क प्रदान गर्नुपर्ने उल्लेख छ । तर, न्याय हेल्थले भने सम्झौता उल्लंघन गर्दै बिरामीसँग रकम लिएको हो । सम्झौतामा स्वास्थ्य मन्त्रालयको तर्फबाट तत्कालीन नीति योजना तथा अन्तर्राष्ट्रिय सहयोग महाशाखा प्रमुख महेन्द्रप्रसाद श्रेष्ठ र न्याय हेल्थको तर्फबाट डाइरेक्टर गभर्नेन्स एन्ड पार्टनरसिप प्रमुख एसपी कलौनीले हस्ताक्षर गरेका थिए ।
प्रस्तावित चरीकोट अस्पतालका मेडिकल निर्देशक एवं न्याय हेल्थ दोलखाका स्वास्थ्य सेवा प्रमुख डा. विनोद दंगालले हात भाँचिएर आएका बिरामीको हातमा पाता राख्नुपर्ने भएको र सो पाता अस्पतालमा भएका खरिद गर्न रकम लिएको बताए । सामग्री किन्न लिएको रकम किन न्याय हेल्थको रसिद प्रयोग गरेको भन्ने प्रश्नमा डा. दंगालले गल्ती भएको स्वीकार गरे । अस्पताल प्रशासनमाथि यसअघि पनि धेरै बिरामीसँग रकम असुल्ने गरेको आरोप लाग्दै आएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया