नारायण अधिकारी
चितवन, साउन ७
नारायणी नदीको वहाव मंगलबार बिहान ४४ वर्षयताको सबैभन्दा उच्च भएको छ । बिहान ९ बजे नदीको वहाव ९ दशमलव ९१ मिटर पुगेको थियो । देवघाटमा रहेको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरका प्रमुख जलविज्ञ रामविकेश रायका अनुसार त्यतिबेला नदीमा पानीको वहाव १४ हजार ७ सय ७९ घरमिटर प्रतिसेकेण्ड रहेको थियो । यसअघि सन् १९७४ अगष्ट ५ मा १० दशमलव १ मिटर पानीको तह र १५ हजार ३ सय घनमिटर प्रतिसेकेण्ड वहाव मापन गरिएको थियो ।
यसबीचको अवधिमा सन् २०१८ को वर्षात्मा १४ हजार घनमिटर प्रतिसेकेण्ड वहाव र तह ९ दशमलव ६ मिटर रहेको उनले जानकारी दिए । त्यतिबेला पानीको वहाव २७ वर्षयताको सबैभन्दा बढी थियो । सन् १९६३ देखि हालसम्मको तथ्यांकलाई हेर्दा नारायणीको शिरतर्फका क्षेत्रमा सन् १९७४ यताको सबैभन्दा बढी पानी परेको देखिन्छ । सन् २०१३ मा १३ हजार घनमिटर प्रतिसेकेण्ड नारायणीको वहाव मापन भएको थियो ।
जलस्रोतविज्ञ रायले भने, ‘४४ वर्षको अवधिमा नारायणी नदीमा पानीको वहाव आज बिहान सबैभन्दा उच्च भएको देखिन्छ ।’ जल विज्ञान विभागका वरिष्ठ जलविज्ञ विक्रम श्रेष्ठ कोशी पनि नारायणी नदीले खतराको तह नाघेको बताउँछन् । नारायणी नदीको खतराको तह आठ मिटर र वहाव नौ हजार ९ सय ९२ घनमिटर प्रतिसेकेण्ड रहेको छ । यसको चेतावनी तह ७ दशमलव ३ मिटर र आठ हजार ४ सय ६० घनमिटर प्रतिसेकेण्ड रहेको छ ।
जलविज्ञ श्रेष्ठले मंगलबार पानीको वहाव यही अवस्थामा रहने र बुधबारबाट क्रमशः घट्दै जाने बताए । पहिलेका वर्षहरुमा ढिलो गरी मनसुन सक्रिय हुने गरेको भए पनि यस वर्ष छिटो मनसुन शुरु भएको थियो । गएको जाडो मौसम र प्रि–मनसुनको समयमा औषतभन्दा बढी पानी परेका कारण नारायणी नदीका सहायक नदी, खोलाहरुमा पानीको वहाव बढ्न गएको छ । कतिपय ठाउँमा पहिरो गई नदी, खोला थुनिएर फुट्ने गर्दा पनि तिनमा एक्कासी पानीको मात्रा बढ्न गएको उनको भनाइ छ ।
नारायणी नदीमा मस्याङ्दी, त्रिशूली, सेतीजस्ता ठूला नदीहरु मिसिएका छन् । मुग्लिनमा त्रिशूलीमा मस्याङ्दी, गाईघाटमा त्रिशूलीमा सेती मिसिएको छ भने देवघाटमा त्रिशूलीमा कालीगण्डकी मिसिएर नारायणी नदी बनेको हो । यी ठूला नदीहरुमा प्रसस्त साना नदी र खोलाहरु मिसिएका छन् । नारायणीको शिर क्षेत्रमा कास्की, स्याङ्जा, गोरखा, लमजुङ, रसुवा, नुवाकोट, धादिङलगायतका जिल्ला रहेका छन् ।
जल तथा मौसम विज्ञान कार्यालय पोखराका प्रमुख राजाराम ढकालका अनुसार गएको २४ घण्टामा कास्कीमा १ सय १८ दशमलव ७ मिलिलिटर र गोर्खामा १ सय ४५ दशमलव ८ मिलिलिटर पानी मापन गरिएको थियो । त्यस क्षेत्रमा पानी बढी परेका कारण नारायणी नदीको वहाव उच्च भएको हो । नदी बढेसँगै यसको प्रत्यक्ष प्रभाव चितवन र नवलपरासी जिल्लामा पर्दछ । नारायणी नदी किनारका बस्तीमा पानी पसेपछि सोमबार साँझबाटै केही बस्तीलाई स्थानान्तरण गरिएको छ ।
भरतपुर महानगरपालिकाको वडा नम्बर १६, २६ र २७ मा नारायणी नदीको पानी पसेपछि त्यहाँको बस्ती स्थानान्तरण गरिएको थियो । नारायणी नदीमा पछिल्ला वर्षहरुमा लगाइएको बाँधका कारण नदीको पानी बस्तीमा पस्नबाट धेरै हदसम्म जोगिएको स्थानीय बताउँछन् । नारायणीमा मिसिएको त्रिशूलीको वहाव उच्च भएर कटान गर्दा इच्छाकामनाको फिस्लिङमा दुई तले घरसहित तीन घर बगाएको थियो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया