Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालश्रमिकलाई लकडाउन अवधिको पारिश्रमिक ५० प्रतिशत मात्र दिइने सहमति

श्रमिकलाई लकडाउन अवधिको पारिश्रमिक ५० प्रतिशत मात्र दिइने सहमति


काठमाडौं, साउन १४
नेपाल उद्योग वाणिज्य महासंघसहित रोजगारदाता संस्थाहरू नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल घरेलु तथा साना उद्योग महासंघ र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र आबद्व ट्रेड युनियन महासंघहरूबीच लकडाउन अवधिको श्रमिकको पारिश्रमिक ५० प्रतिशत मात्र दिने सहमति भएको छ ।

उद्योग प्रतिष्ठानले २०७६ चैत्र महिनाको पूरा पारिश्रमिक भुक्तानी गर्ने, २०७७ वैशाख महिनाको लागि श्रमिकको ५० प्रतिशत पारिश्रमिक भुक्तानी गरी फरफारक गर्ने र २०७७ जेष्ठ महिनाको हकमा लकडाउनको कारण काममा उपस्थित हुन नसकेका श्रमिकलाई पाउने पारिश्रमिकको ५० प्रतिशत मात्र भुक्तानी गर्ने सहमति भएको छ ।

उक्त सहमति कार्यान्यवन गर्ने सन्र्दभमा नेपाल सरकार समक्ष सिफारिस गर्न द्विपक्षीय सहमति समेत भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको समन्वयमा लामो समयदेखि जारी औपचारिक एवं अनौपचारिक छलफलबाट रोजगारदाता र ट्रेड युनियन महासंघहरूबीच मंगलबार सहमति भएको हो । विश्वव्यापीरूपमा फैलिएको कोभिड १९ को महामारीको रोकथामको लागि सरकारले जारी गरेको लकडाउनका कारण उद्योग र व्यवसाय बन्द रहेको समयको पारिश्रमिक दिन कठिनाइ भएकोले लकडाउन अवधिको ५० प्रतिशत पारिश्रमिक दिने सम्बन्धमा रोजगारदाताहरूका तर्फबाट सरकारमा सुझाव पेश गरिएको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद्का सभापति चन्द्रप्रसाद ढकालको समन्वयमा रोजगारदाताका प्रतिनिधि संस्थाहरूका तर्फबाट यसमा निरन्तर पहल गरेका थिए । गत वैशाख २ गते सम्पन्न रोजगारदाताहरूको छाता संस्थाको उच्चस्तरीय भेलाले लकडाउन अवधिको श्रमिकको पारिश्रमिकलगायतका विषयमा सुझाव पेश गर्न महासंघको रोजगारदाता परिषद्का सभापति ढकाललाई जिम्मेवारी दिइएको थियो ।

पारिश्रमिकलगायत कोभिड १९ को संक्रमणबाट उत्पन्न समस्या समाधानका लागि सुझाव सिफारिस गर्न श्रम मन्त्रालयको पहलमा गएको वैशाख २८ गते त्रिपक्षीय कार्यदल समेत गठन भएको थियो । सोही पृष्ठभूमिमै रहेर रोजगारदाता र ट्रेड युनियन महासंघहरूबीचको निरन्तर गृहकार्यपश्चात यो सहमति भएको महासंघले जनाएको छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको उपस्थितिमा सम्पन्न सहमति हस्ताक्षर कार्यक्रममा सहमतिपत्रमा रोजगारदाताहरूका तर्फबाट महासंघको रोजारदाता परिषद्का सभापति एवं उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, परिषद्का उपसभापति भरतराज आचार्य, नेपाल उद्योग परिसंघका उपाध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष मोहन कटुवाल र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको तर्फबाट संयुक्त ट्रेड युनियन समन्वय केन्द्र एवं नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्य अध्यक्ष, संयुक्त ट्रेड युनियन समन्वय केन्द्र महासचिव एवं राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघका अध्यक्ष लालकुमार लामा, नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष विनोद श्रेष्ठ, अध्यक्ष, अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष मा. जगत सिम्खडा, समाजवादी ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष नवराज दाहाल, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष चिरागमान सिंह कुंवर, मधेशी ट्रेड युनियन महासंघ, नेपालका अध्यक्ष पल्टन ठाकुर र ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष हिकमतजंग भण्डारीले हस्ताक्षर गरेका छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x