एक महिनाभित्र बञ्चरे डाँडा ल्याण्डफिल साइट निर्माण सक्न निर्देशन
काठमाडौं ।
सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले एक महिनाभित्र बञ्चरे डाँडा ल्याण्डफिल साइट निर्माणकार्य सम्पन्न गरी फोहोर व्यवस्थापन गर्न निर्देशन दिएका छन् । बञ्चरेडाँडा ल्याण्डफिल साइटको शुक्रबार निरीक्षण गर्दै उनले कुनै पनि बहानामा आलटाल नगरी तोकिएकै समयमा काम सम्पन्न गर्न निर्देशन दिएका हुन् ।
पहिलो र दोस्रो चरणको निर्माणको अन्तिम चरणमा पुगेको बञ्चरे ल्याण्डलफिल साइटमा निर्माणको प्रगतिबारे जानकारी लिँदै उनले निर्माण कम्पनीका प्रतिनिधिलाई मंसिर १५ भित्र फोहोर विसर्जन गर्न मिल्ने गरी काम सक्न निर्देशन दिए । लुम्बिनी–कोशी एण्ड न्यौपाने जेभिका प्रतिनिधि डम्बरबहादुर न्यौपानेले मंसिर १ गतेबाट फोहोर विसर्जन गर्न मिल्ने गरी अन्तिम काम भइरहेको जानकारी गराए ।
काठमाडौं र ललितपुर दुई महानगरसहित उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन हुने ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न लिचेड पोखरीको निर्माण भइरहेको न्यौपानेले बताए । मन्त्रीसँगै मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंह, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलाल, उपमहानिर्देशक प्रद्मकुमार मैनालीसहितको टोली निरीक्षण गर्न पुगेका थिए ।
मन्त्री श्रेष्ठले उपत्यका र आसपासका नगरलाई सुन्दर बनाउन व्यवस्थित फोहोर व्यवस्थापन अपरिहार्य रहेको उल्लेख गर्दै त्यसको लागि तत्काल बञ्चरे ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्नुको विकल्प नभएको बताए । सरकारको महत्वपूर्ण आयोजनाको रुपमा रहेको सो ल्याण्डफिल साइटमा करिब सय वर्षसम्म फोहोर व्यवस्थापन गर्न मिल्नेछ । सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक गेलालले फोहोर वर्गीकरण नगरी विसर्जन गर्दा २५ र वर्गीकरण गर्दा करिब सय वर्षसम्म ढुक्कसँग फोहोर व्यवस्थापन गर्न सकिने जानकारी दिए । सरकारले विभागलाई ल्याण्डफिल साइटमा आवश्यक पर्ने भौतिक संरचना निर्माण गर्न जिम्मा दिएको थियो ।
महानिर्देशक गेलालले मंसिर १५ भित्र फोहोर व्यवस्थापन गर्न मिल्ने गरी अन्तिम तयारी भइरहेको जानकारी दिए । महानिर्देशक गेलालले अहिलेसम्म ल्याण्डफिल जाने बाटोको निर्माण, डाँडा काट्ने, ड्याम निर्माण, रातोमाटो बिच्छ्याउने, ग्याबिङ पर्खाल निर्माण, दुईवटा भवन निर्माण सम्पन्न भइसकेको जानकारी दिए । ‘अब फोहोर विसर्जन गर्न स्थानबाट लिचेड पोखरीसम्म पुग्ने ह्युम पाइप राख्ने र लिचेड पोखरी निर्माण गर्न मात्र बाँकी छ, त्यसपछि मन्त्री ज्युले भनेकै समयमा फोहोर बिसर्जन गर्नेछौँ’, महानिर्देशक गेलालले भने ।
विभागले हालसम्म करिब ४० करोड रुपैयाँ खर्च गरिसकेको छ । पहिलो चरणमा ३४ करोड ६८ लाख ७४ हजार र दोस्रो चरणको लागि ४६ करोड पाँच लाख ९४ हजार रुपैयाँको ठेक्का सम्झौता गरिसकेको छ । पहिलो चरणको निर्माण सम्झौता वैशाख २२ सम्म थियो । लुम्बिनी–कोशी एण्ड न्यौपाने जेभीले निर्माणसम्पन्न गर्न नसकेपछि विभागले यही कातिक २२ गतेसम्म म्याद थपेको थियो । दोस्रो चरणको निर्माण ठेक्का कालिका कन्स्ट्रक्सनले पाएको थियो ।
सो कम्पनीले आगामी जेठ १९ भित्र सम्पन्न गर्ने सम्झौता गरेको छ । ठेकेदार कम्पनीले कोभिड–१९को स्वास्थ्यजन्य समस्याको कारणले कामदार र निर्माण सामग्री आपूर्तिमा कठिनाइ, सिसडोलमा फोहोरको पहिरो गई आगमन अवरुद्ध भएको र कोल्पुखोलामा वर्षात्मा बाढी आएर निर्माणकार्यमा प्रभावित भएको जनाएको छ । १३ वर्षदेखि सिसडोल ल्याण्डफिल साइटको भ्याली १ र २ फोहोर विसर्जन भइरहेको थियो ।
दैनिक १ हजार १ सय मेट्रिक टन फोहोर विसर्जन हुने सिसडोल ल्याण्डफिल साइटमा काठमाडौँ महानगरपालिकाबाट मात्र दैनिक करिब सात सय मेट्रिक टन फोहर विसर्जन भइरहेको छ । वि.सं. २०६२ सालमा २ वर्षको लागि मात्रै फोहोर व्यवस्थापन गर्न मिल्ले गरी मात्र सिसडोल ल्याण्डफिल साइट तयार गरेको थियो । लगत्तै दीर्घकालीन रुपमा फोहोर व्यवस्थापन बञ्चरेडाडामा गर्न १ हजार ७ सय ९२ रोपनी जग्गा अधिग्रहण गरेको थियो ।
उपत्यकाको फोहोर व्यवस्थापन गर्न जापानिज सहयोग नियोग (जाइका)ले सन् २००२ मा सिसडोल ल्याण्डफिल साइट हस्तान्तरण गरेपछि बञ्चरेडाँडा दीर्घकालीन ल्याण्डफिल साइटको कन्सेप्चुयल डिजाइन तयार गरी १ अर्ब ८६ करोड लाग्ने अनुमान गरेको थियो । जाइकाले सो ल्याण्डफिल साइट सन् २००९ सम्ममा सम्पन्न हुने जनाएको थियो । जाइकाले कन्सेप्चुयल डिजाइन तयार गरेको ११ वर्ष बितिसकेको छ ।
सरकारले २०६२ सालमै तीन वर्षभित्र बञ्चरे डाँडाको पूर्वाधार तयार पारेर २०६५ सालबाट फोहोर व्यवस्थापन गर्ने लक्ष्य तय गरेको थियो । लगत्तै एक दशकअघि बञ्चरेडाँडाको ल्याण्डफिल साइटको जग्गा अधिग्रहण गरेको थियो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया