Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालमानव विकास सूचकांकमा सामान्य सुधार, जोखिम कायमै

मानव विकास सूचकांकमा सामान्य सुधार, जोखिम कायमै

नेपाल मानव विकास प्रतिवेदन २०२० सार्वजनिक


काठमाडौं ।
नेपाल मानव विकास प्रतिवेदन २०२० सार्वजनिक गरिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कँडेलले आइतबार संयुक्तरूपमा प्रतिवेदन सार्वजनिक गरेका हुन् । राष्ट्रिय योजना आयोगले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहयोगमा प्रतिवेदन सर्वाजानिक गरेको हो ।

उक्त प्रतिवेदनअनुसार नेपालको मानव विकास सूचकांकमा सामान्य सुधार देखिएको छ । प्रतिवेदनमा नेपाल अब मध्यम मानव विकासको सूचकांकको स्तरमा पुगेको उल्लेख गरिएको छ । प्रतिवेदनअनुसार हाल नेपालको मानव विकास सूचकांक शून्य दशमलव ५८७ रहेको छ, जसअनुरूप नेपाल मध्यम मानव विकासको कोटीमा पर्दछ । सन् २०१५ देखि २०१९ सम्ममा नेपालको मानव विकास सूचकांक शून्य दशमलव ५६६ बाट शून्य दशमलव ५८७ मा वृद्धि भएको छ ।

मानव विकासका सूचकहरूलाई मध्यनजर गर्दा सन् २०१९ मा विद्यालय शिक्षाको मध्यक वर्ष ५ दशमलव २, विद्यालय शिक्षाको अपेक्षित वर्ष १२ दशमलव ७ वर्ष र अपेक्षित आयु ६९ दशमलव ७ वर्ष रहेको छ भने प्रतिव्यक्ति कुल राष्ट्रिय आय २७ सय ४८ अमेरिकी डलर (क्रय शक्ति समतामा मापन गरिएको) रहेको छ । प्रतिवेदनअनुसार लैंगिक विकास सूचकांक, लैंगिक असमानता सूचकांक र मानव विकास सूचकांकमा नेपाल दक्षिण एसियाका केही देशभन्दा अगाडि रहेको र सरकारले गरेको लगानीको प्रतिफल देखिएको छ । स्तरोन्नतिका लागि प्रमुख मानिएको आय मापदण्डमा नेपाल पछाडि रहेकोे भए पनि मानव सम्पत्ति र आर्थिक जोखिमको दुई अत्यावश्यक मापदण्ड भने पूरा भएको छ ।

यति हुँदाहुँदै पनि केही जोखिम र चुनौती भने कायम रहेको प्रतिवेदनमा स्पष्ट पारिएको छ । नेपालको विशेषगरी ग्रामीण र सहरी क्षेत्र तथा प्रदेशबीच मानव विकासमा असमानता रहेको छ । स्तरोन्नतिको मापदण्डलाई आधार मानेर प्रदेशस्तरको तुलना गर्दा वाग्मती प्रदेशबाहेक अरु प्रदेश औसतभन्दा पछाडि रहेका छन् । आयको तुलनतामा प्रदेशबीच मानव सम्पत्तिमा भिन्नता रहेको छ । तर प्रदेश नं २ मानव सम्पत्ति निर्माणमा पछाडि रहेको छ । वाग्मती प्रदेशको प्रतिव्यक्ति आय मात्र राष्ट्रिय औसतभन्दा माथि रहेको छ । कर्णाली प्रदेश, प्रदेश नं २, सुदूरपश्चिम प्रदेशको प्रतिव्यक्ति आय वाग्मती प्रदेशको प्रतिव्यक्ति आयको क्रमशः २९ प्रतिशत, ३३ प्रतिशत र ३१ प्रतिशत रहेको छ ।

अतिकम विकसित राष्ट्रका समावेशीकरण र स्तरोन्नति मापदण्डमा दुई लगातार त्रैवार्षिक समीक्षामा तीनमध्ये कम्तीमा पनि दुईवटा मापदण्डको थ्रेसहोल्ड पूरा गर्नुपर्ने हुन्छ । यस्तै प्रतिव्यक्ति आयको थ्रेसहोल्डभन्दा कम्तीमा दुई गुणा बढी भएमा एक मापदण्ड पूरा गर्दासमेत प्रर्पाप्त हुने देखिन्छ । जोखिमका हिसाबले नेपाल संवेदनशील अवस्थामा नै छ । वैदेशिक प्रत्यक्ष लगानीसहितको व्यापार र विकास वित्तमा अन्तर्राष्ट्रिय सहयोग उपायमा मध्यम प्रभावको बाबजुद स्तरोन्नतिबाट केही क्षेत्रमा नकारात्मक प्रभाव पर्नसक्ने देखिएको छ ।

प्रमुख संरचनात्मक र संस्थागत अवरोध, नीति अन्तर र अन्य जोखिमले दिगो मानव विकास र स्तरोन्नतिप्रति ठूलो चुनौती स्वास्थ्य र शिक्षामा पहुँच र गुणस्तर, संरचनात्मक र स्थान विशेष अवरोध रहेको प्रतिवेदनमा समावेश गरिएको छ । त्यस्तै कम उद्यमशीलता क्षमता, ठूलो पूर्वाधारमा रहेको अन्तर र जानसाङ्ख्यिक लाभांश प्राप्त गर्न अक्षम रहेको उल्लेख छ । अर्थ व्यवस्थाको कम सकारात्मक परिवर्तनले उत्पादशील आधार अर्थ व्यवस्थाको क्षमता विकासमा बाधक देखिएकोसमेत प्रतिवेदनमा समेटिएको छ । उत्पादनका साधनमा स्वामित्व, सम्पत्तिमा पहुँच, अवसरमा पहुँच र वितरण लाभजस्ता विषयमा पनि असमानता छ । त्यस्तै श्रम बजार र रोजगारीको क्षेत्रमा पनि उच्च प्रकारका जोखिम रहेका छन् । मानव विकास र स्तरोन्नतिका लागि कोरोनाको प्रभाव पर्नसक्ने देखाएको छ ।

कोरोनाका कारण आगामी वर्षमा मानवीय सम्पत्ति र आर्थिक उपलब्धि थप जोखिममा पर्नसक्ने संकेत प्रतिवेदनमा समावेश गरिएको छ । अपर्याप्त स्वास्थ्य पूर्वाधार, मेडिकल आपूर्ति अवरोध र अन्य रोगबाट प्रताडित व्यक्तिलाई थप जोखिम रहेको उल्लेख गर्दै प्रतिवेदनमा गरिब घर परिवारका बालबालिका शारीरिक विकास र मस्तिष्क विकासको मामिलामा उच्च जोखिमको सामना गर्नुपर्ने तथा विद्यालय देशव्यापी बन्द भएपछि लाखौँ विद्यार्थीको शिक्षामा अवरोध आएको उल्लेख्य गरिएको छ ।

समस्या समाधानका लागि अल्पकालीन, मध्यकालीन एवं दीर्घकालीनरूपमा राहत तथा आर्थिक पुनरुत्थान उत्पादनशील रूपान्तरण जरुरी रहेको प्रतिवेदनले सुझाव दिएको छ । अर्थतन्त्रको उत्पादनशील रूपान्तरणको बाटोमा ठोसरूपमा अघि बढ्नुपर्ने, आपूर्ति र माग पक्ष दुवै ठूलो रणनीतिक परिवर्तन गर्ने, उच्च उत्पादन र उत्पादकत्व बढाउने कुरामा ध्यान दिन सुझाव दिइएको छ । उद्यमशीलता क्षमता र उत्पादन सम्बन्धसहित संस्थागत क्षमताको सुदृढीकरण गर्ने, उत्पादनशीलता अभिवृद्धि गर्न लैंगिक समानता, मानव संसाधन विकास र सुशासनजस्ता विषयमा ध्यान दिन सुझाव दिइएको छ ।

उत्पादक क्षमतासँग जोडेर लगानीको संरचनामा परिवर्तन ल्याउने, रोजगारी, ज्याला र वितरणात्मक प्रणालीबाट क्रयशक्ति बढाउने तथा उत्पादन सम्बन्धका साथै बजार सञ्जाललाई प्राथमिकता दिनुपर्ने प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन सार्वजानिक कार्यक्रममा अर्थमन्त्री पौडेलले प्रतिवेदनमा देखाइएका जोखिमलाई कम गर्दै त्यसमा दिइएका सुझावलाई सरकारले ग्रहण गरेर कार्यान्वयन गर्ने बताए । प्रतिवेदनले नेपाललाई सन् २०२२ मा विकासशील राष्ट्रमा स्तरोन्नतिको मार्गमा अघि बढ्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया