Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालबाँके मालपोतमा बिचौलिया प्रवेशमा रोक

बाँके मालपोतमा बिचौलिया प्रवेशमा रोक


बाँके ।
मालपोत कार्यालयमा व्यापक भ्रष्टाचार भएको जनगुनासो आएपछि बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले छड्के अनुगमन गरेका छन् । सेवा प्रवाह प्रभावकारी नभएको जनगुनासोलाई मध्यनजर गर्दै बुधबार दिउँसो अनुगमनमा निस्केका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले मालपोत परिसरमा बिचौलिया प्रवेशमा रोक लगाएका छन् ।

बाँकेका प्रहरी प्रमुख ओम रानासहित छड्के अनुगमन गरेका उनले कार्यालय अस्तव्यस्त रहनुका साथै अधिकांश कर्मचारी पोसाक, परिचयपत्रविना कार्यालयमा उपस्थित भएको, कार्यालयभित्र बिचौलियाहरुको बिगबिगी रहेको, बिचौलियाहरु नै कार्यालयभित्र छिरेर कर्मचारीसरह काम गरिरहेको पाइएको बताएका छन् । सबै शाखाहरुमा छड्के अनुगमन गरिसकेपछि कार्यालय प्रमुख कार्यकक्षमा सबै कर्मचारीहरुलाई गुनासो आउन नदिन जिम्मेवारीपूर्ण कार्य गर्न उनले कडा निर्देशन दिएका छन् ।

प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले निष्ठाको अभावमा सार्वजनिक सेवा प्रवाह नभएको बताउँदै इमानदारितापूर्वक कार्य गर्न निर्देशन दिए । उनले आफू बाँकेमा आइसकेपछि धेरै कार्यालयहरुको सेवा प्रवाहमा सुधार आए पनि मालपोतको सेवा सुधार नभएको, मालपोतमा व्यापक भ्रष्टाचार भएको र भ्रष्टाचार संस्थागत हुँदै गइरहेको चिन्ता व्यक्त गरे ।

नागरिकहरुको व्यापक जनगुनासो आएका कारण मालपोत प्रशासनको निगरानीमा रहेको उनले बताए । विभिन्न बहानामा मालपोतमा कर्मचारीहरुले सेवाग्राहीहरुलाई सास्ती दिइरहेको उनले बताए । साथै उनले पोसाक नलगाउने र परिचयपत्र नलगाउने कर्मचारीलाई कार्यालयमा छिर्न नदिन कार्यालय प्रमुखलाई निर्देशन समेत दिए ।

अनुगमनका क्रममा बाँके प्रहरी प्रमुख ओम रानाले सेवा प्रवाह प्रभावकारी बनाउनका लागि विविधता अपनाउन आग्रह गरे । सो क्रममा भ्रष्टाचारविरुद्ध क्रियाशील बासका कार्यकारी निर्देशक नमस्कार शाहले मालपोतको सेवाबाट सेवाग्राहीहरु सन्तुष्ट नभएको बताउँदै सेवा प्रभावकारी बनाउन जरुरी रहेको बताए । मालपोत कार्यालयका निमित्त प्रमुख अमर सेजुवालले निर्देशनको पालना गर्दै सेवा प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया