पर्साको राष्ट्रिय वन क्षेत्रमा काठ तस्करी बढ्यो
सन्तोष पौडेल
वीरगञ्ज, पुस २२
चिसोको कारण वनगस्ती कम भएको र विभिन्न सुरक्षा निकायले पनि काठ तस्करी नियन्त्रणमा चासो नदेखाएको कारण अहिले पर्साको उत्तरी क्षेत्रको राष्ट्रिय वनमा रूखको फँडानी बढेको छ । चिसोको कारण घरायसी प्रयोगको लागि दाउरा र काठ तस्करहरूले व्यापारका लागि रूख कटान गर्ने क्रम बढेको छ ।
पर्सा जिल्लामा ११ हजार पाँच सय ७५ हेक्टर वनक्षेत्र छ । यो वन क्षेत्र वार्षिकरूपमा दुई प्रतिशतले अतिक्रमण र फँडानीको शिकार हुँदै छ । सबडिभिजन वन कार्यालय, बढनिहारका सहायक वन अधिकृत शशिकान्त तिवारीले वार्षिक दुई प्रतिशतले वन क्षेत्र अतिक्रमण र फँडानीको शिकार भइरहेको बताए । उनले हालका दिनमा पर्याप्त कर्मचारी नहुँदा पनि वन फँडानी नियन्त्रण गर्न समस्या परेको बताए । उनले माओवादी जनयुद्धकाल र मधेस आन्दोलनताका पर्साको वन व्यापकरूपमा फँडानी भएको र सोको तुलना अहिले निकै नियन्त्रणमा आइसकेको बताए ।
तिवारीले यस्तो दाबी गरे पनि पर्सा जिल्लाको वनको अवस्था भने निकै कहालीलाग्दो छ । पर्साको उत्तरी क्षेत्रमा वनसँग जोडिएका दुईवटा साझेदारी वन उपभोक्ता समिति र ६ वटा सबडिभिजन वन कार्यालय तथा इप्रका, प्रहरी चौकी र सशस्त्र प्रहरी बेस छन् । तर उनीहरूको नाकमुनिबाट ठूलो परिमाणमा काठ तस्करी भइरहेको छ । राति काठ तस्करहरूले जङ्गल फँडानी गरेर काठ भित्र्याउने र नजिकको समिल तथा सीमापार भारतसम्म पु-याउँदै आएका छन् । जङ्गल क्षेत्रबाट काँधमा, मोटरसाइकल, साइकल, ट्याक्टरमा गोलिया काठहरू बोकेर ल्याउने गरिन्छ । अहिलेसम्म वन तथा सुरक्षाकर्मीहरूले एक जना पनि काठ तस्करलाई पक्राउ गर्न सकेका छैनन् ।
वार्षिकरूपमा आधा दर्जन काठ तस्कर पनि समातिँदैनन् । काठसँगै समातिनेमा खासगरी भरियाहरू पर्दछन् । वन कर्मचारी र सुरक्षाकर्मीसँग काठ तस्करहरूको फेहरिस्त छ । तर, उनीहरू अहिलेसम्म समातिएका छैनन् । केही काठ तस्कर समातिए पनि कानुनको सहारामा वन कार्यालयबाटै छुट्छन् ।
हालै मात्र एउटा समिल सञ्चालक रङ्गेहात काठ तस्करी गर्दा पक्राउ परे पनि उनलाई जनप्रतिनिधिको सिफारिसमा तारिखमा छाडिएको छ ।पर्सा जिल्लामा ६ वटा सबडिभिजन वन कार्यालय छन् । यी प्रत्येक कार्यालयमा एक जना सहायक वन अधिकृत, एकजना रेन्जर र ८ जना वनरक्षक गरी १० जनाको दरबन्दी तोकिएको छ । तर, कुनै पनि सबडिभिजन वन कार्यालयमा दरबन्दीअनुसारका कर्मचारी छैनन् । कर्मचारी अभावमा पनि वन फँडानी आशाप्रदरूपमा नियन्त्रणमा आउन नसकेको सबअ तिवारी बताउँछन् ।
यसैगरी, तिवारीले आर्थिक प्रलोभनमा वन कर्मचारीहरू नपरेको दाबी गर्छन् । उनले वन कर्मचारी र काठ तस्करबीचको सहकार्य प्रमाणित भए सम्बन्धित कर्मचारीलाई कारबाही गर्ने बताए । उनले सुरक्षाकर्मीको अभावमा वन सुरक्षा प्रभावकारी नभएको बताएका छन् । मूल काठ तस्कर तारिखमा छाडिने र भरियाहरू सजायको भागिदार हुने गरेकाले पनि काठ तस्करीमा नियन्त्रण हुन नसकेको हो । तस्करहरूको मनोबल बढेर अहिले खुलेआम तस्करी भइरहेको छ । सबैया साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष लखनलाल साहले वन र समितिको गस्ती टोलीलाई देखेर तस्करहरू भाग्ने गरेको र काठ तथा साइकल, मोटरसाइकल मात्र बरामद हुनेगरेको बताए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया