Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालबझाङमा छाउगोठ भत्काउने अभियान सुरु

बझाङमा छाउगोठ भत्काउने अभियान सुरु


आशिष बहादुर सिंह
बझाङ, पुस २७
बझाङ जिल्लामा पनि जिल्लाभरका छाउगोठको तथ्यांक संकलन गर्न र छाउगोठ भत्काउने अभियान सुरु गरिएको छ । जयपृथ्वी नगरपालिकाको धार्मीलेखबाट सुरु गरिएको छाउगोठ भत्काउने अभियानमा प्रमुख जिल्ला अधिकारीे, जिल्ला प्रहरी कार्यालयका प्रमुख, मानवअधिकारकर्मी, महिलालगायतको सहभागिता रहेको थियो भने धामी लेकमा ११ वटा छाउगोठ भत्काइएका थिए ।

अघिल्लो साता प्रहरी प्रशासनको टोलीले जयपृथ्वी नगरपालिका–९ सेलाखेतमा गएर छाउगोठ भत्काउन निर्देशन दिएको थियो । त्यसलगत्तै चलाएको सचेतना अभियानपछि सातवटा छाउगोठ भत्काएको जयपृथ्वी नगरपालिका–९ का वडाध्यक्ष नवराज कोइरालाले बताए । गाउँमा छाउगोठहरू थिए, हामीले भन्दा गाउँलेले भत्काउन मानेका थिएनन् प्रशासनको टोली पुगेपछि सबैले आ–आफ्ना छाउगोठ भत्काउन थालेका वडाध्यक्ष कोइरालाले बताए ।

गाउँलेलाई सुरुमा भेला गराई छाउपडी प्रथा त्याग्न र सामाजिक कुरीति हटाउन सचेतना दिएको र एउटा छाउगोठ प्रहरीले भत्काएपछि अन्य गोठहरू विद्यार्थी तथा किशोरीको सहभागितामा भत्काइएको र सबै गरी ३६ छाउगोठ भत्काइएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए । धार्मीलेखमा केही बूढापाकाले अवरोध पु-याएपछि प्रहरीसँग छोरी बुहारी र विद्यार्थीले छाउगोठ भत्काउन साथ दिएका थिए ।

उनीहरुले छाउगोठ भत्काउनुपर्छ भन्दै नारासमेत लगाएका थिए । जयपृथ्वी नगरपालिकाको सेलाखेत, धामीलेखबाट सुरु गरिएको छाउगोठ भत्काउने अभियानसँगै सबै पालिकामा रहेका छाउगोठको तथ्यांक लिने काम सम्पन्न गरेको र अब धमाधम जिल्लाभरका छाउगोठ भत्काइने प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमले बताए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x