‘विज्ञान र उद्यमशीलता’ युवा सम्मेलन सुरु
काठमाडौं । राष्ट्रिय युवा परिषद्को आयोजनामा ‘विज्ञान, प्रविधि, नवप्रवर्तन र उद्यमशीलतामा युवा राष्ट्रिय सम्मेलन’ सुरु भएको छ । युवालाई अध्ययन अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलतासँग जोड्न सम्मेलन आयोजना गरिएको युवा परिषद्ले जनाएको छ ।
परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुंगेलले विज्ञान र प्रविधि क्षेत्रमा भएका अनुसन्धानलाई युवाको उद्यमशीलतासँग जोड्न सम्मेलन आयोजना गरिएको जानकारी दिए । सम्मेलनबाट प्राप्त सुझावले सरकारलाई विज्ञान र प्रविधिको नीतिनिर्माणमा सहयोग पु-याउने उनको दाबी छ । सूचना प्रविधि र विज्ञानका विद्यार्थीलाई अनुसन्धानमूलक बनाउन कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।
उपाध्यक्ष ढुंगेलले युवाको प्रतिभालाई प्रस्फुटन गराउन सातै प्रदेशमा नवप्रवर्तन केन्द्र स्थापना गरिने समेत जानकारी दिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले विद्यालय तहमा विज्ञान र प्रविधि विषयमा विद्यार्थीलाई आकर्षित गर्ने कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको बताए । उनले सम्मेलनले विज्ञान र प्रविधि शिक्षामा सहयोग पु-याउने जनाउँदै विज्ञान र प्रविधिलाई समाजसँग घुलमिल गराउनुपर्ने उल्लेख गरे ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्तोलाले अनुसन्धान र नवप्रवर्तनमा नेपालको शिक्षा कमजोर रहेको विश्वास गर्दै सरकारले उच्च शिक्षामा बजेट बढाउनुपर्नेमा जोड दिए । उच्च शिक्षामा अनुसन्धान र नवप्रवर्तनका काम हुनसके युवालाई स्वरोजगारमुखी बनाउन सकिने जनाउँदै उनले सम्मेलनले युवालाई नवउद्यमीको सिर्जना गर्न अवसर प्राप्त गर्ने बताए ।
नेपाल विज्ञान तथा प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले विज्ञान र प्रविधिलाई समाजको समस्या समाधान गर्ने माध्यम बन्ने विश्वास व्यक्त गरे । उनले विज्ञान र प्रविधिमार्फत युवा जनशक्तिलाई परिचालन गरे मुलुकले समृद्धि हासिल गर्नसक्ने बताए । विज्ञान र प्रविधि क्षेत्रमा लगानी गरे प्रतिफल प्राप्त गर्न सकिने जनाउँदै उनले विज्ञान र प्रविधि क्षेत्रमा काम गर्ने संस्थाबीच अन्तर्सम्बन्ध गराउनुपर्नेमा जोड दिए ।
काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा भोला थापाले विज्ञानबाट सिकेका कुरालाई उद्यमशीलतातर्फ लैजानुपर्ने बताए । उनले युवाले आफूसँग भएको सीपलाई उत्पादनशीलतामा परिणत गर्नु आवश्यक रहेकामा जोड दिए । सम्मेलनमा स्नातकोत्तर तह अध्ययन गरिरहेका विद्यार्थीलाई युवा वैज्ञानिकले अनुसन्धान गरेका विषयमा जानकारी गराइने परिषद्का प्रमुख प्रशासकीय अधिकृत डा बाबुराम ढुङ्गानाले जानकारी दिए । सम्मेलनमा विज्ञान, प्रविधि, शिक्षा, स्वास्थ्यलगायत चार विषयमा अनुसन्धानकर्ताले कार्यपत्र प्रस्तुत गर्नेछन् । सोमबारसम्म सञ्चालन हुने सम्मेलनमा करिब चार सय युवा वैज्ञानिकको सहभागिता छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- नागार्जुनमा बाटो मिचेर बनाएको घर भत्काउन आदेश
- नेपाली बजारमा एलजीको नानोसेल टीभी सार्वजनिक
- नेसनल लाइफद्वारा बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान
- इ–सेवाको घर जित्ने विजेता घोषणा हुने
- धनी देशले प्रत्येक वर्ष तीन सय अर्ब अमेरिकी डलर तिर्ने सहमति
- सरकारी खर्चको वर्तमान अवस्था र स्थिति
- नेपालमा नबढेको चिनियाँ पर्यटकको संख्या
- द्वन्द्वपीडितका घाउचोटको छिटो उपचार गर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया