Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनिजी क्षेत्रलाई तत्काल कोभिड खोपको प्राथमिकतामा राख्न माग

निजी क्षेत्रलाई तत्काल कोभिड खोपको प्राथमिकतामा राख्न माग


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले निजी क्षेत्रलाई तत्काल कोभिड खोपको प्राथमिकतामा राख्न सरकारसँग माग गरेको छ । महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्व महासंघको पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डलले नवनियुुक्त प्रधानमन्त्री शेर बहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग सिंहदरबारमा छुट्टा छुट्टै भेट गरी थिलोथिलो भएको मुलुकको उद्योग व्यवसाय र अर्थतन्त्रलाई माथि उठाउन तत्काल यो क्षेत्रलाई कोभिड खोपमा पहिलो प्राथमिकतामा राख्न आग्रह गरेको हो ।

यस्तै महासंघले बजेटमा समेटिएका निजी क्षेत्रका लागि ल्याइएका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन, साना तथा मझौला उद्यम व्यवसायलाई तत्काल स्टिमुलस प्याकेज ल्याउन र लामो समयदेखिको ट्रङ्क तथा डेडिकेटेड लाइनको समस्या समाधान गर्न जोड दिएको छ ।

महासंघका अध्यक्ष गोल्छाले कोभिडले सरकारको राजस्वको मुख्य स्रोत निजी क्षेत्र र निजी क्षेत्रद्वारा सिर्जना गरिएको उपक्रमबाट प्राप्त हुने आम्दानी नै रहेकोले यस क्षेत्रलाई प्राथमिकतामा राखेर नीति नियम बनाउन आग्रह गरे । ‘हामीले दिएका सुझाव बजेटमा पनि समेटिएका छन, मौद्रिक नीतिका लागि पनि हाम्रा सुझाव दिएका छौँ । तीनको प्रभावकारी कार्यान्वयन हामीले खोजेका छौँ र त्यसमा सरकारबाट सहयोगको अपेक्षा गरेका छौं’, अध्यक्ष गोल्छाले भने ।

अबको एक दशकभित्र मुलुकको अर्थतन्त्र कस्तो हुने भन्ने लक्ष्यका साथ महासंघले नेपाल राष्ट्रिय आर्थिक रणनीतिपत्र २०३० (नेट २०३०) सार्वजनिक गरेको र सरकारले समेत यसको अपनत्व लिइसकेकाले त्यसको कार्यान्वयनमा पनि सहयोग खोजेको महासंघको भनाइ थियो । महासंघले नेट २०३० का विषयमा छिट्टै विस्तृतरूपमा जानकारी गराउने पनि अध्यक्ष गोल्छाले जानकारी गराएका थिए ।

महासंघसँगको भेटवार्तामा प्रधानमन्त्री देउवाले समग्र उद्योग व्यवसाय र अर्थतन्त्रको कमजोर अवस्थालाई माथि उठाउन सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै निजी क्षेत्रलाई निर्धक्क काम गर्न अनुरोध गरेका थिए । अर्थमन्त्री शर्माले निजी क्षेत्रलाई खोपलगायत अन्य आवश्यक कार्यमा आफ्ना तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्धता जनाउँदै निजी क्षेत्रसँग नजिकमा रहेर कार्य गर्ने विश्वास दिलाएको महासंघले जनाएको छ ।

अर्थमन्त्री शर्माले महासंघले दिएका सुझावलाई सहयोग गर्ने र आगामी सहकार्यका लागि छिटै विस्तृत छलफल गर्ने आफ्नो योजना रहेको पनि बताए । प्रतिनिधि मण्डलमा वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघई सहभागी रहेका थिए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x