द्रुत गतिमा औद्योगिक ग्राम निर्माण गर्दै तिलोत्तमा
पोसकान्त पोखरेल
बुटवल, माघ १४
बढ्दो बेरोजगारी र घट्दो औद्योगिक उत्पादनलाई मध्यनजर गर्दै रूपन्देहीको तिलोत्तमा नगरपालिकाले दु्रत गतिमा औद्योगिक ग्राम निर्माण गर्ने कार्यलाई अगाडि बढाएको छ । औद्योगिक ग्राम निर्माणमा राज्यको नीतिअनुरूप रूपन्देहीमा दुईवटा नगरपालिकामा औद्योगिक ग्रामको योजना अगाडि सारिएसँगै तिलोत्तमा नगरपालिकाले उक्त योजनालाई द्रुत गतिमा सम्पन्न गर्नेगरी अगाडि बढेको हो ।
संघीय सरकारको ६० प्रतिशत, प्रदेश र स्थानीय सरकारको ४० प्रतिशत लगानीमा निर्माण हुन लागेको तिलोत्तमा औद्योगिक ग्रामको प्रारम्भिक डीपीआरसम्बन्धी छलफल कार्यक्रममा बोल्दै नगरप्रमुख बासुदेव घिमिरेले औद्योगिक ग्रामको निर्माणसँगै साना तथा घरेलु उद्योगहरूलाई धेरै प्रोत्साहन पुग्ने विश्वास व्यक्त गरे । नगरप्रमुख घिमिरेले तिलोत्तमा नगरपालिका–१० मा निर्माण हुन लागेको औद्योगिक ग्राम सम्पूर्ण नगरबासीको लागि खुशीको कुरा भएको बताए ।
उक्त औद्योगिक ग्राम निर्माणको लागि तत्काल दुई करोड रूपैयाँ विनियोजन भएको छ । ‘यदि समयमै योजनाअनुरूप काम गर्न सकिएन भने हामीलाई औद्योगिक ग्राम निर्माणको लागि परेको बजेट फिर्ता हुन सक्छ ।’ घिमिरेले भने, ‘निर्धारित समयमा काम गर्न नसकेर बजेट फिर्ता हुनु विकास निर्माणमा हाम्रो महत्वाकांक्षी चाहना असफल हुनु हो । अबको १५ दिनभित्र डीपीआर तयार हुन्छ । डीपीआर तयार भएसँगै धमाधम काम सुरु गरेर निर्धारित समयमै औद्योगिक ग्राम निर्माण गर्नु जरुरी छ ।’
उद्योग सञ्चालनको लागि तिलोत्तमा औद्योगिक ग्राम सञ्चालन कार्यविधि २०७६ निर्माणको लागि नगरकार्यपालिकामा प्रस्ताव पेश भई सकेको जानकारी गराउँदै नगरप्रमुख घिमिरेले ठूला उद्योगहरूसँगै साना तथा घरेलु उद्योगहरूमा पनि धेरैको रोजिरोटी चलेको बताए । ‘लघु उद्योगको प्रवर्द्धनात्मक विकास गर्नु उत्तिकै जरुरी विषय हो ।
१५ बिघा क्षेत्रफलमा हाल निर्माण गर्न लागिएको औद्योगिक ग्रामको लागि अझै चार÷पाँच विगाह जग्गा थपिने सम्भावना छ ।’, उनले भने, ‘करिब ५० करोड लागतमा निर्माण हुन लागेको ग्रामभित्र ३५ भन्दा बढी उद्योगहरू सञ्चालनमा आउन सक्छन् । उद्योगीहरूले प्रतिकठ्ठा वार्षिक पाँच हजार रूपैयाँ भाडा तिरे पुग्छ ।’ उद्योगहरू सञ्चालनको सडक, खानेपानी, फोहरमैला व्यवस्थापनलगायतका सेवासुविधाहरूको प्रबन्ध स्थानीय सरकारले गर्ने उनले बताए । ‘ढुक्क भएर उद्योगमा लगानी गर्नुस् सबै समस्याहरूको समाधानको बाटो खोज्न हामी सधैँ लाग्ने छौं’, उनले भने ।
सोही क्रममा तिलोत्तमा नगरपालिकाका नेकपा अध्यक्ष मोहन चापागाईंले औद्योगिक क्षेत्रको विस्तारमा व्यक्तिगत जमिन भाडामा लिँदा परेका विभिन्न समस्याहरूको उदाहरण दिँदै राज्यले उद्योग सञ्चालनको लागि लिजमा स्थायीरूपमा जमिन उपलब्ध गराउनु समस्त उद्योगीहरूको लागि खुशीको कुरा भएको बताए । उनले सम्भावनाहरूलाई जीवित राख्दै भविष्यप्रति चिन्तन गर्नुपर्ने समय भएकोले उत्पादन र उत्पादकत्व वृद्धि अहिलेको मुख्य आवश्यकता भएको औल्याए ।
नगरप्रमुख बासुदेव घिमिरेको अध्यक्षता तथा प्रदिप वनको सञ्चालनमा भएको तिलोत्तमा औद्योगिक ग्रामको डीपीआरमाथिको छलफलमा स्थानीय बुद्धिजीवी, उद्योगी व्यावसायी, जनप्रतिनिधि, कर्मचारी प्रत्रकारहरूलगायतको उपस्थिति रहेको थियो । उक्त प्रारम्भिक डीपीआरमाथिको छलफलमा सबैले आफ्ना–आफ्ना धारणाहरू व्यक्त गरेका थिए । त्यसमा अधिकांसले औद्योगिक ग्राम सञ्चालनको लागि जग्गा थोरै भएको र आकाशको भागलाई पनि सक्दो उपयोग गर्नुपर्ने आवश्यकता औँल्याएका थिए । डेकोर स्टुडियो काठमाडौँले तयार गरेको प्रारम्भिक डीपीआरमा, उद्योग, स्वास्थ्य केन्द्र, बैंक तथा इन्स्योरेन्स अफिस, बाल उद्यान, हारियालीसहितका सडक, पार्किङ स्थल, स्टाफ क्वाटर, उद्योगका उत्पादनहरूको ग्यालेरी रुम, चाइल्ड केयर सेन्टर, अग्नि नियन्त्रण कक्ष, खानेपानीलगायत औद्योगिक ग्राममा हुने सबै मापदण्ड तथा आवश्यकताहरू समावेश गरिएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया