१७औँ राष्ट्रिय कफी दिवस मनाइँदै
उत्पादनको २५ प्रतिशत कफी विदेश निर्यात
काठमाडौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा बुधबार १७औँ राष्ट्रिय कफी दिवस मनाइँदै छ । कफी उत्पादक किसान, स्टेट, प्रशोधक, बिक्रेता, कफी उपभोक्ता र कफीलाई माया गर्ने सबै नेपालीहरूको राष्ट्रिय पर्वको रूपमा रहेको ‘राष्ट्रिय कफी दिवस’ हरेक वर्ष मंसिर १ गते मनाउने गरिएको छ ।
बोर्डले यसवर्ष ‘कफी किसानलाई संरक्षण र प्रोत्साहन, व्यावसायिक कफी उत्पादनमा युवाको योगदान’ भन्ने मूल नाराका साथ राजधानीमा १७औँ राष्ट्रिय कफी दिवस मनाउन लागेको हो । बोर्डका अनुसार मात्रात्मक रूपमा थोरै उत्पादन भए पनि नेपाली कफीले गुणस्तरका सन्दर्भमा नेपाललाई चिनाउन थालिसकेको छ । स्पेसियालिटी कफीको रूपमा नाम कमाइसकेको नेपाली कफीको माग स्वदेश तथा विदेशमा उच्च रहेको बोर्डले जनाएको छ । विशेषगरी सहरी क्षेत्रमा बढ्दो कफी संस्कृतिले गर्दा कफीको आन्तरिक बजारमा पनि व्यापक वृद्धि भएको देखिन्छ । तर मागअनुसार उत्पादन नहुँदा विगत केही वर्ष कफीको आयात बढेको बोर्डको भनाइ छ । यद्यपि गत वर्ष भने आयात कम भई निर्यातमा केही आशाको किरण पलाएको छ ।
आर्थिक वर्ष २०७६/७७ मा नेपालभर दुई सय ९६ दशमलव पाँच मेट्रिकटन ग्रीन वीन कफी उत्पादन भएको थियो । भन्सार विभागको आव २०७६/७७ को तथ्यांकअनुसार ११ करोड ८८ लाखबराबरको दुई सय ६६ मेट्रिकटन कफी नेपालमा आयात हुँदा ५ करोड ७७ लाख रूपैयाँबराबरको ४६ दशमलव ८९ मेट्रिकटन मात्रै कफी निर्यात भएको थियो । आव २०७७/०७८ को तथ्यांकअनुसार भने १० करोड ६७ लाखबराबरको एक सय ९८ दशमलव ७६ मेट्रिकटन कफी आयात हुँदा नौ करोड ६० लाखबराबरको ७२ दशमलव ४८ मेट्रिकटन कफी विदेश निर्यात भएको छ ।
बोर्डका अनुसार कुल उत्पादनको झन्डै २५ प्रतिशत कफी विदेश निर्यात हुँदै आएको छ । नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा स्वाद र गुणस्तरको हिसाबले अन्य राष्ट्रको भन्दा बढी मूल्य प्राप्त गर्दै आएको बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार देशभित्रै पनि कफीको माग बढ्दै गइरहेकाले आन्तरिक माग पूर्तिका लागि पनि कफीको रोपण तथा उत्पादन वृद्धिमा सबैको ध्यान पुग्नुपर्ने देखिन्छ ।
कफीकिसानहरूलाई संरक्षण र प्रोत्साहन गर्दै कफी क्षेत्रमा युवापुस्ताहरूलाई आकर्षण गरी कफी खेतीलाई कफी स्टेटमा रूपान्तरण गर्न सकेमा मात्रै व्यावसायिक उत्पादन र आत्मनिर्भर बन्न सकिने तथ्यलाई बोर्डले प्रमुखताका साथ अगाडि बढाएको छ । कफी क्षेत्रमा व्यापक रूपान्तरणको लागि संरक्षण र प्रवर्द्धनका कार्यक्रमहरूमार्फत ठूला व्यावसायिक फार्महरू स्थापनाका लागि लगानीकर्ताहरूलाई आकर्षित गर्न जरुरी रहेको बोर्डका निर्देशक भट्टराई बताउँछन् । उनका अनुसार न्यून स्रोत साधनका बाबजुत व्यावसायिक कफी उत्पादन बढाउन बोर्डले प्रमुखताका साथ युवालक्षित कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको छ । यस्तै बोर्डले केही जिल्ला, प्रदेश र स्थानीय सरकारसँग पनि योजनाबद्ध समन्वयात्मक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ, जुन आगामी दिनमा अझ बढाएर लगिने भट्टराईले बताए ।
गत वर्षदेखि बोर्डले व्यावसायिक उत्पादनको लागि सम्भावित प्रदेशहरूमा सम्भाव्यता अध्ययन गरी चक्लाबन्दीमा कफी क्षेत्र विस्तार, स्थानीय क्षेत्रभित्र व्यावसायिक नर्सरी बिरुवा उत्पादन तथा नार्कसँगको समन्वयमा अनुसन्धानात्मक प्रविधिको विकास कार्यक्रमलाई प्रमुखताका साथ अगाडि बढाएको छ । खासगरी बोर्डले तीनै तहका सरकारको बीचमा एकीकृत कार्यक्रमको अवधारणा अगाडि बढाउँदै उत्पादनकेन्द्रित कार्यक्रमहरू सञ्चालन गर्न स्थानीय सरकारलाई प्राविधिक सहयोग उपलब्ध गराउने, व्यावसायिक फार्महरू विस्तार, साना तथा मझौला प्रशोधन उद्योग स्थापना तथा प्रवर्द्धन कार्यहरूमा प्रदेश सरकारबाट कार्यक्रमहरू सञ्चालन गर्ने र ठूला प्रशोधन उद्योग स्थापना, गुणस्तर व्यवस्थापन, बजारीकरण प्रवर्द्धन तथा नीतिगत कार्यहरूमा बोर्डलगायत संघीय सरकारको भूमिका रहने गरी समन्वयात्मक कार्यक्रमहरू अगाडि बढाउन जोड दिँदै आएको छ ।
यस्तै गत वर्षदेखि बोर्डले ऐन तथा नीतिलाई कफी मूल्य श्रृंखलामा काम गर्ने सबै व्यक्ति तथा संघसंस्थाहरूको भूमिका स्पष्ट हुनेगरी समयसापेक्ष सुधार गर्न संसोधन प्रक्रिया अगाडि बढाएको छ । यसैगरी कफी संस्कृतिको विकास गरी आन्तरिक खपत बढाउने उद्देश्यले विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूको समन्वयमा नेपाली कफीको प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरेको छ ।
साथै बोर्डले मंसिर १ गतेदेखि लागू हुनेगरी यस वर्षको कच्चा कफीको मूल्य निर्धारण गरेको छ । बोर्डका अनुसार फ्रेस चेरी कफी ग्रेड ‘ए’को मूूल्य प्रतिकेजी ९० रूपैयाँ तोकिएको छ भने ग्रेड ‘बी’को मूल्य प्रतिकेजी ८० रूपैयाँ तोकिएको छ । यस्तै पार्चमेन्ट कफी ग्रेड ‘ए’को मूल्य प्रतिकेजी चार सय ५० रूपैयाँ र ग्रेड ‘बी’को मूल्य तीन सय ९७ रूपैयाँ तोकिएको छ । यसैगरी ड्राइ चेरी कफी ग्रेड ‘ए’को मूल्य प्रतिकेजी एक सय ४८ रूपैयाँ र ग्रेड ‘बी’को मूल्य प्रतिकेजी ९५ रूपैयाँ तोकिएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया