Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालअन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी शुक्रबारदेखि

अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी शुक्रबारदेखि


चितवन । उद्योग संघ चितवन र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा यहाँ अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ । शुक्रबारदेखि आइतबारसम्म यहाँको प्रदर्शनी केन्द्रमा आयोजना हुने सो प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको संघले जनाएको छ । संघले बुधबार पत्रकार सम्मेलन गरी तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो । अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीको यो छैटौँ संस्करण हो ।

संघका अध्यक्ष त्रिलोचन कँडेलका अनुसार प्रदर्शनीमा भारतका ५० स्टलसहित दुई सय स्टल रहनेछन् । ३० प्रतिशत स्टल अत्याधुनिक प्रविधिका उपकरण र अन्य उत्पादनको रहनेछन् । कोरोना भाइरस संक्रमण जोखिमका कारण शिथिल बनेको उद्योग व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले प्रदर्शनी गर्न लागिएको उनले बताए । प्रदर्शनी सम्पन्न गर्न दुई करोड ५० लाख रुपैयाँ हाराहारी खर्च हुने भन्दै संस्थागत रुपमा बचत रकम भने न्यून रहने उनको भनाइ थियो । ‘प्रदर्शनी नाफाको लागि भन्दा पनि देशको अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले आयोजना गर्न लागेका हौँ ।’ यसबाट चितवन उद्योग संघलाई भन्दा पनि यहाँका अन्य आर्थिक क्षेत्रलाई मद्दत पुग्ने उनको भनाइ छ । यसपटकको प्रदर्शनीबाट पाँचदेखि सात लाख रुपैयाँसम्म मात्र बचत हुने अनुमान गरिएको छ ।

प्रदर्शनीमा देशभरका उद्योग तथा व्यवसाय गर्न इच्छुक नवउद्यमी, विभिन्न राष्ट्रका आधुनिक प्रविधि उत्पादक, आधुनिक औद्योगिक प्रविधिबारे जानकारी राख्न इच्छुक उद्योग तथा व्यवसायसँग सम्बन्धित व्यक्तिहरूले अवलोकन गर्ने बताइएको छ । कोरोना भाइरस संक्रमणका कारण चीन, मलेसियाजस्ता देशबाट आउने प्रदर्शकहरु यसपटक आउन नसकेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

संघका उपाध्यक्ष एवं प्रदर्शनी केन्द्र सञ्चालन विभागका संयोजक सूर्यप्रसाद न्यौपानेले उद्यमीहरूलाई नयाँ प्रविधिबारे जानकारी गराउन र विश्व बजारका नवीनतम प्रविधिको अनुसरणमार्फत औद्योगिक उत्पादकत्व वृद्धिसहित दिगो उद्यमशीलताका लागि उपयुक्त माध्यम बन्ने बताए । यसले स्वदेशी तथा विदेशी उद्योगी, व्यवसायीबीच भेटघाट तथा छलफल गर्नमा पनि सहयोग पुग्ने उनको भनाइ थियो । भारतको च्याम्बर अफ कमर्सका प्रतिनिधिहरु समेत प्रदर्शनीमा सहभागी हुने कार्यक्रममा जानकारी गराइएको थियो । सो अवसरमा संघका गभर्निङ काउन्सिलका अध्यक्ष सोमराज मरहठ्ठाले प्रदर्शनीको महत्वका बारेमा जानकारी गराए । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x