सिबिफिन र अर्थशास्त्र केन्द्रीय विभागबीच सम्झौता
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र अर्थशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयबीच विभिन्न नीतिगत विषयमा अध्ययन तथा अनुसन्धान गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सिबिफिनको कार्यालय, सुन्धारामा बिहीबार एक कार्यक्रमको आयोजना गरी समझदारीपत्रमा हस्ताक्षर भएको हो । सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यान र त्रिभुवन विश्वविद्यालय, अर्थशास्त्र केन्द्रीय विभागकका विभागीय प्रमुख प्रा.डा. शिवराज अधिकारीले नौबुँदे समझादारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
समझादारीपत्रमा उल्लेख गरिएअनुसार अर्थशास्त्र केन्द्रीय विभागमा स्नातकोत्तर र एमफिल स्तरमा अध्ययनरत विद्यार्थीहरुमध्ये छनोट भएका विद्यार्थीहरुले बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा अध्ययन तथा अनुसन्धान गरी शोधपत्र तयार गर्दा लाग्ने केही खर्च व्यहोर्ने गरी ‘सिबिफिन फेलोसिप’ प्रदान गरिने भएको छ । तर, उक्त फेलोसिपअन्तर्गतको रकम प्राप्त गर्न सम्बन्धित विद्यार्थीहरुले तयार गरेको शोधपत्र अर्थशास्त्र केन्दीय विभागमार्फत स्वीकृत भएको हुनुपर्ने जनाइएको छ ।
त्यसैगरी, नीति अध्ययन तथा अनुसन्धानका लागि सिबिफिनको तर्फबाट अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महानिर्देशक, अर्थशास्त्र केन्द्रीय विभागको तर्फबाट विभागीय प्रमुख एवं एक जना विभागीय प्रतिनिधि, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको तर्फबाट एक÷एक जना उच्चपदस्थ अधिकारी रहने गरी एक उच्चस्तरीय संयन्त्र गठन गर्ने र उक्त संयन्त्रमार्फत नीति अध्ययन तथा अनुसन्धानको कार्य अगाडि बढाउने जनाइएको छ । सिबिफिनले पहिचान गरेका प्राथमिकताप्राप्त क्षेत्र तथा विषयवस्तुमा वार्षिक कम्तीमा दुईवटा अध्ययन तथा अनुसन्धान गरी प्रतिवेदन तयार गर्ने र उक्त अध्ययन तथा प्रतिवेदन तर्जुमा वा प्रकाशित गर्दा लाग्ने खर्च सिबिफिनले व्यहोर्ने समझदारीमा उल्लेख गरिएको छ । साथै, सिबिफिनको व्यवस्थापन र अर्थशास्त्र केन्द्रीय विभागको सहयोगमा रेमिट्यान्स बढाउने, पुँजीगत खर्चवृद्धि, उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्ने, कृषि क्षेत्रको व्यवसायीकरण, आयात प्रतिस्थापन, उत्पादन तथा रोजगारीवृद्धिका साथै नयाँ उद्यमी तथा उद्यमशीलताको विकास एवं विस्तारजस्ता विषयमा अन्तर्क्रिया एवं कार्यशाला गोष्ठी आयोजना गरिने समझदारीपत्रमा उल्लेख गरिएको छ ।
अध्ययन तथा अनुसन्धानका सम्भावित क्षेत्रहरुमा बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित नीति निर्माणमा सिबिफिनको सहयोग एवं योगदान, बैंक तथा वित्तीय क्षेत्रबाट विविध क्षेत्रमा गरिएकोे लगानी, त्यसको प्रतिफल र योगदान, बैंक तथा वित्तीय क्षेत्रको सुधार एवं स्तरोन्नति, वित्तीय साक्षरता एवं पहुँच, डिजिटल बैंकिङ, विद्युतीय भुक्तानी, विदेशी विनिमय नीति, आफ्नै देश सुहाउँदो भुक्तानी प्रणालीको विकास, बैंक तथा वित्तीय संस्थाहरुको सञ्चालनमा प्रत्यक्ष प्रभाव पार्ने ब्याजदर तथा सेवा शुल्क, पुँजी निर्माण, पुँजी बजारको विकास, लगानीका नयाँ–नयाँ क्षेत्र पहिचान गरी लगानी विस्तार गर्ने, नयाँ उद्यमी तथा उद्यमशीलताको विकास, स्वदेशी उत्पादन र उपभोगसहित आत्मनिर्भर अर्थतन्त्रको निर्माण, मौजुदा नीतिहरुको प्रभावकारिता र सुधारसम्बन्धी अध्ययन तथा सुझाव तर्जुमासहित गरिबी, असमानता, बेरोजगारीजस्ता जल्दाबल्दा विषयहरु तोकिएको छ ।
कार्यक्रममा सिबिफिनका अध्यक्ष गोल्यानले सिबिफिनको मुख्य उद्देश्य नै सरोकारवाला निकाय र पक्षहरुसँग सहकार्य गरी नीतिगत विषयमा अध्ययन गरी सुझावसहितको प्रतिवेदन नियामक निकायमा पेश गरी कार्यान्वयनका लागि पहल गर्नु रहेको बताए । राष्ट्र एवं जनताको हित एवं समृद्धिका विषयमा नियामक निकाय र सरोकारवाला पक्षहरुसँग सहकार्य गरी अगाडि बढ्ने कार्यमा सिबिफिन निरन्तर लागिरहने उनको भनाइ छ । त्यसैगरी अर्थशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा शिवराज अधिकारीले नेपालको शैक्षिक क्षेत्रलाई अध्ययनबाट अनुसन्धान केन्द्रमा स्थापित गर्न सिबिफिनले थालेको यो महत्वपूर्ण पहल भएको बताए । नीतिगत अध्ययन तथा अनुसन्धानका लागि सहकार्य गर्नका लागि समझादारी पत्रमा उठान गरिएका विषयहरु अत्यन्तै सान्दर्भिक रहेकोले विभागले उक्त कार्यमा सहमति जनाई समझादारी गरेको उनको भनाई थियो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया