Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसुकुम्बासीलाई जग्गासहित चिटिक्कका घर

सुकुम्बासीलाई जग्गासहित चिटिक्कका घर


दोलखा, माघ २८
तामाकोशी गाउँपालिकाले भूमिहीन व्यक्तिलाई जग्गा उपलब्ध गराई निजी आवास निर्माणमा समेत सहयोग गरेको छ । गाउँपालिकाले पालिकाभित्र रहेका करिब १९ घरपरिवारलाई सुकुम्बासी पहिचान गरी उनीहरुलाई जग्गा प्रदान गरेको थियो ।

पालिकाले जग्गाको लालपुर्जा दिएसँगै उनीहरुलाई बस्नको लागि निजी आवास निर्माणमा समेत सहयोग गरेको छ । चरीकोटबाट करिब २२ किलोमिटर दूरीमा रहेको पालिकाको वडा नम्बर १ भीरकोटस्थित कालिदहमा सुकुम्बासी अवस्थामा बसिरहेका चार घरपरिवारको अहिले स्वरुप नै बदलिएको छ । सडकको छेउमा जस्ता र बाँसको बार लगाएर बसेका सुकुम्बासीहरुको अहिले चिटिक्कका पक्की घर बनेका छन् । टहराको जीवनयापन बदलिएर अहिले उनीहरुको इँट्टाको गाह्रो लगाएर बनेका चिटिक्कका घरमा पुगेको छ । ४० सालदेखि सुकुम्बासी बनेर टहरामा जीवनयापन गरिरहेका उनीहरु अहिले जग्गाधनीका साथै घरमालिक समेत बन्न पाएका छन् ।

स्थानीय मंगलसिंह तामाङ भन्छन्, ‘मलाई आफ्नो जग्गा हुन्छ, घर हुन्छ भन्ने कल्पनासम्म थिएन ।’ सुकुम्बासी जीवन अन्त्य गरी लाजपुर्जासहित घर पाएपछि आफ्नो दिनचर्या नै बदलिएको उनले बताए । सोही स्थानका सन्देश तामाङ हाल आफ्नो घर र जमिन देखेर आफैँ दङ्ग परेका छन् । उनी भन्छन, ‘कल्पना पनि गरेको थिइनँ, हाम्रो जीवनमा पनि आफ्नै घर र जमिन हुन्छ भने अत्यन्तै खुसी छौँ । सरकारले हामी गरिबलाई पनि हेरेको छ ।’

कालिदहमा जस्तै गाउँपालिकाले उपलब्ध गराएको जग्गामा अन्य ११ सुकुम्बासी परिवारहरुले पनि घर निर्माण गरिरहेका छन् । गाउँपालिकाभित्र रहेको सुकुम्बासीहरुको पहिचान गरी चालू आर्थिक वर्षमा नै पालिकालाई ‘सुकुम्बासीविहीन गाउँपालिका’ घोषणा गर्ने लक्ष्य राखेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विज्ञानराज कोइरालाले बताए । कोइरालाका अनुसार गत वर्षबाट सुरु गरिएको सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने अभियान यस वर्ष अन्त्य गरिनेछ । सरकारले भूकम्प लाभग्राहीका लागि दिएको अनुदान तथा गाउँपालिकाले दिएको जमिनबाट सुकुम्बासीको समस्या समाधान गर्न गाउँपालिकाले नेतृत्व लिएको बताए ।

गाउँपालिका प्रमुख ईश्वरचन्द्र पोखरेलले भूमिहीन घरपरिवारको पहिचान गरी पालिकाले उनीहरुलाई जग्गा प्रदान गरी बस्नको लागि घर बनाउन सहयोग गरेको बताए । पोखरेलले आफू निर्वाचित भएपछि सुकुम्बासी समस्या अन्त्य गर्ने घोषणाअनुसार सुकुम्बासी पहिचान गरी पालिकाभित्रका १९ परिवारलाई जग्गा वितरण गरेको जानकारी दिए । प्रतिव्यक्ति एक रोपनीका दरले जग्गा उपलब्ध गरेको उनको भनाइ छ । गत वर्ष ११ जनालाई जमिन उपलब्ध गराएको र यस वर्ष बाँकी आठ जनालाई जमिन उपलब्ध गराउने उनले बताए । सुकुम्बासीहरुले सरकारले तोकेको मापदण्डमा रहेर आकर्षक घर निर्माण गरेका छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x