Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालभन्सारमा लिइने अग्रिम आयकर अव्यावहारिक रहेको व्यवसायीको गुनासो

भन्सारमा लिइने अग्रिम आयकर अव्यावहारिक रहेको व्यवसायीको गुनासो


काठमाडौं, फागुन २८
रूपन्देहीका उद्योगी व्यवसायीहरुले सामान वा वस्तु आयात गर्दा भन्सारमा लिइने अग्रिम आयकर अव्यावहारिक भएको भन्दै खारेज गर्न माग गरेका छन् । सामान बिक्रीबाट व्यवसायीलाई ५ प्रतिशत नाफा हुने सुनिश्चित नहुँदै अग्रिम रूपमा भन्सारमा कर असुल्ने सरकारको रणनीतिका कारण उद्योगी व्यवसायी मर्कामा परेको र यसले व्यवसायमा समेत ठूलो समस्या आइपरेको गुनासो उद्यमीहरूको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश पाँचको आयोजना र तिलोत्तमा उद्योग वाणिज्य संघको आतिथ्यमा हालै तिलोत्तमा आयोजना गरिएको कर तथा राजस्व नीतिसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा सहभागी उद्योगी व्यवसायीहरूले सरकारको कर नीतिका कारण उद्योगी व्यवसायी मारमा परेको औँल्याएका थिए । सरकारले व्यापारिक प्रयोजनका लागि आयात गरिने रांगा, भैँसी, खसीबोका, भेडा, च्याङ्ग्रा, जीवित, ताजा तथा फ्रोजन माछा, ताजा फूलहरू, ताजा तरकारी, आलु प्याज, सुख्खा तरकारी, लसुन, बेबी कर्न, ताजा फलफूलहरूमा कायम मूल्यमा ५ प्रतिशत र मासु, दूधजन्य पदार्थ, अण्डा, मह, कोदो, फापर, जुनेलो, चामल, कनिका, मैदा आँटा तथा जडीबुटी, उखु र वनस्पतिजन्य उत्पादनमा दुई दशमलव पाँच प्रतिशत अग्रिम आयकर भन्सार विन्दुमै असुलउपर गर्दै आएको छ ।

उनीहरूले तीनै तहका सरकार पाल्ने दायित्व उद्योगी व्यवसायीको हो जस्तो गरी कर लगाइएका कारण नयाँ उद्योग स्थापना हुन पनि नसकेको र भएका पुराना उद्योग पनि बन्द हुने स्थितिमा पुगेको भन्दै गुनासो गरेका थिए । व्यवसायीहरूले ऐन, कानुन, नीतिनियम मानेर काम गर्ने उद्योगी व्यवसायी सबैभन्दा बढी मर्कामा परेको बताएका थिए । सरकारले ल्याएका नयाँ कार्यक्रमहरू योगदानमा आधारित सामाजिक सुरक्षा योजना, ढुवानीमा अनलाइन ट्र्याकिङ सिस्टम (भीसीटीएस) र भन्सारमा असुल गर्ने अग्रिम आयकरले उद्योगी व्यवसायीलाई समस्यामा पारेको गुनासो गरे ।

सामाजिक सुरक्षा योजना कार्यक्रम तहगत रूपमा लगाउनुपर्ने, पहिलो ठूला र सक्षम उद्योग व्यवसायलाई र बाँकी अन्य उद्योग व्यवसायलाई विस्तारै लगाउनुपर्ने उनीहरुले सुझाव दिएका थिए । अन्तर्राष्ट्रिय व्यापारमा भुक्तानी प्रणालीको भरपर्दो व्यवस्था सरकारले बनाइदिनुपर्ने, एकै मालवस्तु आयातमा भन्सारैपिच्छे फरक दररेट कायम हुँदा व्यवसायीले समस्या भोग्नुपरेको, उद्योग व्यवसायलाई प्रोत्साहन गर्नेभन्दा पनि करमार्फत निजी क्षेत्रलाई कस्नेतर्फ तीनै तहका सरकारहरू उद्यत रहेको, विद्युत् कार्यालय भैरहवा शाखाले आफ्नो आन्तरिक भार मिलान गर्ने क्रममा बुटवल भैरहवा औद्योगिक कोरिडरको लाइन ट्रंक लाइनमा परेको भनी हाल आएर पूर्वजानकारीविनै ६६.६७ प्रतिशत वृद्धि गरी बिल जारी गर्दा उद्योग व्यवसायी त्रसित भएकोलगायतका समस्या राखेका थिए ।

कार्यक्रममा बोल्दै महासंघ प्रदेश ५ अध्यक्ष गुणनिधि तिवारीले व्यवसायीले उठाएका मुद्दाहरू गम्भीर प्रकृतिका रहेको बताउँदै यी समस्या समाधानका लागि महासंघले पैरवी गर्ने बताए । बुटवल उद्योग वाणिज्य संघ रूपन्देहीका अध्यक्ष खिमबहादुर हमालले सरकारका कर्मचारीको गल्ती कमजोरीको सजाय उद्योगी व्यवसायीलाई हुन लागेको बताउँदै ट्रंकलाइनका नाममा उद्योगहरूलाई लगाइएको विद्युतमा अतिरिक्त शुल्क कुनै हालतमा स्वीकार्य नहुने बताए । सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले सामान आयात गर्दा भन्सारमै लिइने अग्रिम आयकर खारेजीको माग गर्दै भन्सारमै लिइने अग्रिम आयकर, सामाजिक सुरक्षा योजना, ढुवानीमा अनलाइन ट्र्याकिङ सिस्टमलगायतका सरकारले लागू गरेका कार्यक्रमले उद्योग व्यवसाय बन्द गर्नुपर्ने स्थितिमा पुगेको दुःखेसो गरे ।

नेपाल उद्योग बाणिज्य महासंघले प्रत्येक वर्ष बजेट अंगाडी उद्योगी व्यवसायीका सुझाव संकलन गर्दै आएको र यो वर्ष अलि अंगाडीबाट नै सुझाव संकलनका काम सुरू गरिएको नेपाल उद्योग वाणिज्य महासंघका उपनिर्देशक विदुरचन्द्र लामिछानेले बताए । उनले जिल्ला तथा नगर उद्योग वाणिज्य संघमार्फत संकलन गरिएका सुझावहरूलाई संघीय सरकारको बजेट तयारीका क्रममा सुझावको रूपमा पठाउने समेत जानकारी दिए ।

तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारी (माधव)को अध्यक्षतामा भएको कार्यक्रममा सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष राज बहादुर क्षेत्री, तिलोत्तमा उवासंघका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्की, सल्लाहकार चन्द्रमान श्रेष्ठ, महासचिव कमल कंडेल लगायतले बोल्दै सरकारको अस्थिर नीतिका कारण उद्योग व्यवसाय सञ्चालन गर्ने अवस्था नरहेको भन्दै जिल्ला नगर उद्योग वाणिज्य संघले दिएका सुझाव र भोगेका समस्या समाधानका लागि आवश्यक पहल र पैरवी गर्न महासंघलाई आग्रह गरेका थिए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x