सेनाले चीनलाई बुझायो दुई अर्ब २५ करोड रुपैयाँ एक सातापछि मात्र स्वास्थ्य सामग्री आउने
काठमाडौं,बैशाख १०
कोभिड–१९ को सङ्क्रमणसँग जुध्न आवश्यक पर्ने स्वास्थ्य सामग्री सरकार–सरकार (जीटुजी) प्रक्रियाबाट खरिद गर्ने प्रक्रियालाई नेपाली सेनाले अन्तिम रुप दिएको छ । नेपाली सेनाले ती सामग्री ल्याउनको लागि चीन सरकारलाई एक करोड ८४ लाख ४१ हजार ७०६.३५ अमेरिकी डलर अर्थात् दुई अर्ब २५ करोडभन्दा बढी रुपैयाँ भुक्तानी गरेको छ । नेपालले भुक्तानी गरेको रकम पाइसकेको पनि चिनियाँ पक्षले जानकारी दिइसकेको छ ।
एउटा व्यापारिक समूह ओम्नी ग्रुपलाई स्वास्थ्य सामग्री खरिद गर्न दिँदा धोका पाएपछि सरकारले जीटुजीबाट खरिद गर्ने निर्णय गर्दै त्यसको जिम्मा नेपाली सेनालाई दिने भनेको थियो । सोही निर्णयअनुसार सेनाले सामग्री खरिदको प्रक्रिया पूरा गरेको हो । सेनाले मंगलबार जङ्गी अड्डामा पत्रकार सम्मेलन गर्दै चिनियाँ पक्षसँग खरिद सम्झौता सम्पन्न भई रकमसमेत भुक्तानी भइसकेकाले खरिद प्रक्रिया टुङ्गिएको जनाएको हो ।
सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले चीनबाट ३ सय ४२ टन स्वास्थ्य सामग्री सरकार–सरकार (जीटुजी) प्रक्रियाबाट खरिद गर्ने चरणमा प्रवेश गरिएको जानकारी दिए । ६७ प्रकारका स्वास्थ्य सामग्री खरिद गरेर सेनाले ल्याउनेछ । स्वास्थ्य सामग्री खरिदका लागि चीन सरकारको स्वामित्वमा रहेको चाइना साइनोफार्म इन्टरनेशनल कर्पोरेसनसँग सम्झौता भइसकेको छ ।
नेपाल र चीनबीच भएको सम्झौतामा रकम भुक्तानी गरेको एक साताभित्र सबै सामग्री चिनियाँ पक्षले ग्वान्झाउमा जम्मा गरिदिने उल्लेख छ । सोहीअनुरुप अबको एक साताभित्र चिनियाँ पक्षले ती स्वास्थ्य सामग्री ग्वान्झाउमा जम्मा गरिदिनेछ । तातोपानी नाकाबाट सामान ल्याउन ढिलो हुने भएकाले सेनाले विमानबाट सामान ल्याउने तयारी गरेको छ ।
ग्वान्झाउबाट तातोपानी नाकासम्म सामान ढुवानी गर्न करिब सात दिन लाग्नेछ । त्यस्तै भन्सार प्रक्रिया पूरा गर्न दुई दिने लाग्नेछ । अत्यावश्यक सामग्री हवाइ मार्गबाट ल्याउने विषयमा हवाइ सेवा प्रदायकसँग छलफल भइरहेको सेनाले जनाएको छ । सेनाले नेपाल एयरलाइन्स र श्री एयरसँग छलफल गरिरहेको छ । अत्यावश्यकबाहेकका सामग्री सडक मार्गबाट ढुवानी गर्न सकिने विषयमा पनि सेनाले छलफल जारी राखेको छ । बेइजिङस्थित नेपाली दूतावास तथा ग्वान्झाउस्थित महावाणिज्य दूतावासमार्फत पनि चिनियाँ ढुवानीकर्तासँग बुझ्ने काम भइरहेको सेनाले जनाएको छ ।
अत्यावश्यक सामग्री तातोपानी नाकामा ल्याएर अर्को गाडी राखेर नेपाल ल्याउनेभन्दा पनि सकभर चिनियाँ ढुवानीकर्ताको साधनबाट एकैचोटि डिपोमा ल्याउने ढंगबाट कुराकानी अगाडि बढेको सेनाको दाबी छ । चीन सरकारले नेपाललाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन प्राथमिकता दिएको छ । कोरोनाले विश्वव्यापी महामारीको रुप लिएसँगै प्रभावित मुलुकमा चीनले स्वास्थ्य सामग्री आपूर्ति गरिरहेको छ । महामारीको अवस्थामा चीनबाट स्वास्थ्य सामग्री खरिद गर्ने मुलुकको सूचीमा नेपाल ८१औँ स्थानमा छ । तर, चिनियाँ पक्षले नेपाललाई जतिसक्दो चाँडो आवश्यक सामग्री उपलब्ध गराइदिने वचनबद्धता व्यक्त गरेको छ । छिमेकी भएको कारण ८१औं सूचीमा रहे पनि पहिला नै नेपाललाई सामान दिने प्रतिबद्धता चीनले जनाएको हो ।
व्यक्तिगत सुरक्षाका सामग्री (पीपीई), मास्क, कोरोना परीक्षणका लागि आवश्यक कीटलगायत अत्यावश्यक सामग्री हवाइ र अन्य सामग्री सडक मार्ग हुँदै ल्याउने तयारी गरिएको छ । नेपालमा कोेभिड–१९ सङ्क्रमणको अवस्था सामान्य रहेमा अत्यावश्यकबाहेकका सामग्री सडक मार्ग हुँदै ल्याइनेछ भने अवस्था जटिल बन्दै गएमा हवाइ मार्गबाट पनि ल्याउने गरी तयारी अगाडि बढाइएको सेनाले जनाएको छ । सेनाले भारतबाट कोभिड–१९ का बिरामीलाई दिइने औषधि खरिद गर्ने विषयमा पनि छलफल गरिरहेको छ । सरकारले भारतबाट ५३ प्रकारको औषधि ल्याउने तयारी गरेको छ । भारतीय पक्षबाट हालसम्म कुनै जानकारी नआएको सेनाले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- महिला स्वास्थ्य स्वयंसेविकासँग शुल्क नलिन यातायात व्यवसायी सहमत
- मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको पाँचौँ दिन सप्तरीबाट १३ जनाको उद्धार
- विराटनगरमा हुन्डीको कारोबार फस्टाउँदै, प्रशासन मौन
- समसामयिक राजनीतिक व्यङ्ग्य
- दुई महिनामा ३५ अर्ब बढ्यो बैंकहरूको निक्षेप
- सेवा रेमिटको लाइसेन्स खारेज
- २५ करोड बढी कारोबार गर्ने चार सय करदाता केन्द्रीय बीजक अनुगमन प्रणालीमा आबद्ध
- रवि र दुर्गा प्रसाईँ पक्राउपछि उदाङ्गिएको आईजी कुँवरको नैतिकता !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया