Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअवैतनिक कामदारलाई न ज्याला न सम्मान

अवैतनिक कामदारलाई न ज्याला न सम्मान


काठमाडौं । नेपालमा पहिलो पटक घरेलु तथा अवैतनिक महिला कामदारको सम्बन्धमा गरिएको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । अक्सफार्म नेपालको सहयोगमा युवालय नामक गैरसरकारी संस्थाले सो क्षेत्रमा आबद्ध महिला कामदारले भौग्दै आएका समस्या, उनीहरूले पाउने पारिश्रमिक एवं परिवार तथा समाजमा उनीहरूले गरेका कामबारे भएको मूल्याङ्कनको सम्बन्धमा अध्ययन गरेको हो । उक्त अध्ययनको अन्तिम मस्यौदा उपत्यकामा शुक्रबार आयोजित एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरिएको हो । अनुसन्धान प्रतिवेदनउपर विज्ञको सुझावलाई समेत समावेश गरेर रिपोर्टलाई छिटै अन्तिम रूप दिइने संस्थाका अध्यक्ष सन्तोष महर्जनले जानकारी दिए ।

उक्त अध्ययनका लागि युवालयले चार प्रदेशका १३ जिल्लालाई आधार बनाएको जनाएको छ । जसमा सहरी क्षेत्र रहेको काठमाडौंदेखि मधेशका जिल्लाहरू, सुदूरपश्चिमका तराई तथा पहाडी इलाकाहरू तथा लुम्बिनी तथा कर्णाली प्रदेशका केही जिल्लासमेत समेटिएका छन् । सो अध्ययनका लागि २५ देखि ४० वर्ष उमेर समूहका कुल दुई सय आठ जना महिलाहरूसँग प्रत्यक्ष संवाद गरिएको अध्ययनकर्ताको भनाइ छ । जसमध्ये १०६ जना वैतनिक घरेलु कामदार रहेका थिए भने बाँकी १०२ जना अवैतनिक कामदार रहेको कार्यक्रम संयोजक विष्णुबहादुर खत्रीले जानकारी दिए ।

वैतनिक कामदार तर्फ २२ प्रतिशतले कार्यस्थलमा शारीरिक तथा मानसिक हिंसाको अनुभव गर्नुपरेको बताएका छन् । त्यस्तै, बिहान र बेलुकाको काममा दौडधुप बढी हुने र एकभन्दा धेरै घरमा काम गरेका महिलाहरूले बीचको समयमा पर्याप्त समय आराम पाउन नसकेको गुनासो गरेका थिए । यस्ता कामदारमध्ये अधिकांशले बिरामी हुँदा बिदा पाउने भए पनि बिदा लिँदा विभिन्न अपजसहरूको सामना गर्नुपर्ने अवस्था रहेको बताएका थिए ।

त्यस्तै, यसरी काम गर्ने अधिकांशको तलब मासिक तीनदेखि चार हजार रुपैयाँ मात्रै रहेको देखिएको छ । पारिश्रमिक कम भएकै कारण ३० प्रतिशतले जीविकोपार्जनको लागि एकभन्दा बढी घरमा काम गर्नुपर्ने अवस्था रहेको बताएका थिए । १४ प्रतिशतले त दुईभन्दा बढी घरमा काम गर्ने उल्लेख गरेका थिए ।

अवैतनिक कामदारलाई न ज्याला न सम्मान
अध्ययनले अवैतनिकरूपमा काम गर्ने घरेलु महिला श्रमिकको बारेमा समेत सर्भेक्षण गरेको थियो । १०२ जनामा गरिएको उक्त सर्भेक्षणमा ३४ जना फुर्सदको समयमा अन्य कार्यमा संलग्न रहेको पाइयो । त्यसमध्ये २६ जनाले घरमै केही सामाग्रीहरू उत्पादन गर्ने गरेको बताए भने बाँकीमध्ये केही मात्रै अफिस गएर का मगर्ने बताए । तर, घरमै बसेर गरिएका उत्पादनले बजार पाए÷नपाएकोबारे प्रष्ट
नभएको अध्ययनमा उल्लेख गरिएको छ ।

यस्ता श्रमिकमध्ये अधिकांशले घरमा काम गर्दा भुक्तानी र सम्मान दुवै नभएको गुनासो गरेका थिए । घरको काम गर्नु महिलाको कर्तव्य नै भएको सामाजिक मान्यताका कारण यस्तो अवस्था देखिएको अध्ययनको प्रारम्भिक निष्कर्ष छ । कतिपय महिलाले भने घर र अफिसको कामलाई सँगसँगै लैजान खोज्दा परिवारबाटै मानसिक यातना सहनुपरेको अनुभव व्यक्त गरेका थिए । यस्ता महिलाको बारेमा छिमेकीले कुरा काट्ने र त्यसको असर परिवारमा पर्ने गरेको गुनासो समेत सुनिएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया