Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘कम आयस्रोत भएका देशहरुका लागि ऋण स्थगन र ऋणमोचन गर’

‘कम आयस्रोत भएका देशहरुका लागि ऋण स्थगन र ऋणमोचन गर’


काठमाडौं,बैशाख १२

अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरस कोभिड–१९ बाट नेपालजस्ता कम आयस्रोत भएका मुलुकहरुको वित्तीय अवस्था नाजुक भएको भन्दै त्यस्ता देशको वित्तीय क्षमता बढाउन ऋण स्थगन र ऋणमोचन गर्नुपर्नेमा जोड दिएका छन् ।

कोरोनाभाइरस संक्रमणले संसारभरिकै अर्थतन्त्र थिलथिलो हुँदै गएपछि विश्वका एक सयभन्दा धेरै संस्थाहरूले संयुक्त आह्वान गर्दै विकासोन्मुख देशहरूलाई यो वर्ष ऋण तिर्न बाध्य नपार्न विकसित देशहरूलाई यसअघि नै आह्वान गरिसकेका थिए । नेपाललगायत विकासोन्मुख देशहरूले हरेक वर्ष अर्बौँ डलर ऋण तथा ब्याजका रूपमा विकसित देश तथा बहुपक्षीय वित्तीय संस्थाहरूलाई तिर्ने गर्छन् ।

चालू आर्थिक वर्षको बजेटमा नेपालले ऋण भुक्तानीका निम्ति वित्तीय व्यवस्थाबमोजिम १ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख अर्थात् कुल बजेटको ११ प्रतिशत छुट्याएको छ । त्यसको उल्लेख्य भाग विदेशी ऋण र ब्याज तिर्न प्रयोग हुन्छ ।

त्यसैले नेपाललाई ऋणमा राहत प्रदान भएको खण्डमा नेपाललाई अन्य अत्यावश्यक काममा खर्च गर्न ठूलो धनराशि मिल्न सक्छ । कोरोनाको कारण नेपालले स्वास्थ्य तथा अर्थतन्त्र उकास्नका लागि धेरै खर्च गर्नुपर्ने अवस्थामा छ । यस्तो बेला ऋण तिर्नुपरेन भने धेरै राहत हुनेछ ।

विश्वव्यापी रुपमा कोरोना महामारी फैलिएको कारण चालू आर्थिक वर्ष तथा आगामी आर्थिक वर्षमा नेपाललाई विप्रेषणको आय, निकासीको आय, पर्यटनबाट हुने आय सबै कम हुनेछ ।

यस्तो बेला ऋणका निम्ति विदेशी मुद्रा तिर्नु नपर्दा नेपाललाई विदेशी मुद्राको सञ्चय बनाइराख्न अनि चालू खाताको घाटा कम गर्न सघाउ पुग्नेछ । नेपालजस्ता अल्पविकसित देशहरूको हकमा यो वर्षमात्र राहत होइन कि ऋण राहतअन्तर्गत केही वर्ष माफी गराउनु आवश्यक छ । हालसम्म नेपालले आफूले लिएको विदेशी ऋणको सावाँ ब्याज नियमित तिरिरहेको छ ।

विश्वका ६९ वटा गरिब देशहरूले यसै वर्षमात्र अन्य सरकार तथा बहुपक्षीय संस्थाहरूलाई झण्डै २० अर्ब डलर तिर्नुपर्नेछ । त्यस्तै निजी कर्जादाताहरूलाई उनीहरूले ६ अर्ब डलर तिर्नुपर्नेछ ।

अर्थमन्त्री डा. खतिवडाले विश्व आर्थिक मञ्चका पदाधिकारी, दक्षिण एसियाली राष्ट्रहरुका सरकार प्रमुख तथा उच्चपदस्थ पदाधिकारी, निजी क्षेत्रका प्रतिनिधि, अर्थशास्त्री एवम् विश्व स्वास्थ्य संगठनका पदाधिकारीबीच विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड –१९) ले पारेको एवं पार्न सक्ने प्रभाव र त्यसलाई सम्बोधन गर्ने उपायबारे बिहीबार भिडियो कन्फरेन्स गर्दै त्यस्तो धारणा अगाडि सारेका हुन् ।

अर्थमन्त्रीले सीमानाकामा हुने मानिसहरुको आवातजावत नियन्त्रण तथा आप्रवासी कामदारहरुको लागि आधारभूत सुविधा उपलब्ध गराउन क्रसबोर्डर र अन्तर्राष्ट्रिय सहयोग र समन्वय गर्नुपर्ने, स्वच्छ व्यापारको माध्यमबाट आधारभूत खाद्यान्न, औषधि र स्वास्थ्य उपकरण उपलब्ध गराउन सुनिश्चितता प्रदान गर्नुपर्ने धारणा पनि छलफलमा व्यक्त गरेको अर्थमन्त्री खतिवडाको सचिवालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

अर्थमन्त्री खतिवडाले कोभिड –१९ ले हालसम्म पु¥याएको तथा थप पु¥याउनसक्ने आर्थिक क्षतिको पुनस्र्थापना गर्न सरकार, अन्तर्राष्ट्रिय संघ÷संस्था र निजी क्षेत्रको सामूहिक प्रयास आवश्यक हुने धारणा राखेका थिए ।

अर्थमन्त्री खतिवडाले कोभिड –१९ ले बहुसंख्यक जनतालाई बेरोजगारी र गरिबीतर्फ धकेलेको प्रसंग उठाउँदै विगत तीन दशकदेखि गरिबी निवारणमा गरेको प्रयास र सफलतालाई यसले कमजोर बनाउँदै लगेको र दिगो विकास लक्ष्य हासिल गर्न थप चुनौती थपेको उल्लेख गरेका थिए ।

अर्थमन्त्री खतिवडाले कोरोना भाइरसले नेपालको अर्थतन्त्र, स्वास्थ्य क्षेत्र र जनजीवनमा पारेको एवं पार्न सक्ने प्रभाव, कोभिड –१९ रोकथाम तथा नियन्त्रणमा नेपाल सरकारले हालसम्म चालेका कदमहरु तथा यस रोगको नियन्त्रणमा अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सहयोग, साझेदारी र समन्वयका क्षेत्रमा गर्न सकिने प्रयासबारे जानकारी गराएका थिए ।

अर्थमन्त्रीले के धनी के गरिब हामी सबै अप्रत्याशित र अनपेक्षित स्वास्थ्य जोखिमको सामना गरिरहेको उल्लेख गर्दै कोभिड –१९ जस्ता अज्ञात शत्रुको सामना गर्न नसकेसम्म सुरक्षा क्षेत्रमा भइरहेको बढ्दो खर्चले अर्थ नराख्ने उल्लेख गर्दै सार्वजनिक स्रोत मानव कल्याणमा पुनप्र्राथमिकीकरण र केन्द्रित गर्नुपर्ने बताएका थिए ।

अर्थमन्त्री खतिवडाले स्वास्थ्य क्षेत्र र संक्रमित रोगका विषयमा अनुसन्धान बढाउँदै जाने सन्दर्भमा न्यून आय भएका मुलुकहरुमा बढिरहेको संक्रमित रोगको चुनौती र प्रविधि हस्तान्तरणको समस्यालाई नजरअन्दाज गर्न नसकिने धारणा पनि व्यक्त गरेका थिए । छलफलमा बंगलादेशका प्रधानमन्त्री शेख हसिना, विश्व आर्थिक मञ्चका अध्यक्ष बर्ज ब्रेण्ड, विश्व स्वास्थ्य संगठनका दक्षिणा–पूर्व एसिया निर्देशक पुनम खेत्रापल सिंह लगायत अन्य सहभागीले कोभिड –१९ को संकटलाई पार लगाउन सबैको सामूहिक र एकीकृत प्रयास रहनुपर्ने कुरामा जोड दिएको अर्थ मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x