Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसामाजिक सुरक्षा कोष र फेदीखोला गाउँपालिकाबीच सम्झौता

सामाजिक सुरक्षा कोष र फेदीखोला गाउँपालिकाबीच सम्झौता


काठमाडौं । सामाजिक सुरक्षा कोष र फेदीखोला गाउँपालिकाबीच अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगार व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालन गर्ने सम्झौता भएको छ ।

कोषले आफ्नो कार्यक्षेत्र विस्तार गर्दै अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगार व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालनका लागि बुधबार फेदीखोला गाँउपालिकासँग सम्झौता गरेको हो । कोषले औपचारिक क्षेत्रका निजी संगठित संस्थामा कार्यरत श्रमिकका लागि सामाजिक सुरक्षा योजना र वैदेशिक रोजगारीमा रहेका श्रमिक र विदेशमै रहेका स्वरोजगारका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयन ल्याएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव तथा कोष सञ्चालक समितिका अध्यक्ष केवलप्रसाद भण्डारीको उपस्थितिमा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली र फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीबीच सम्झौता भएको हो । सम्झौताअनुसार अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगार व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७९ बमोजिम त्यस्ता श्रमिकको तर्फबाट गाउँपालिकाले सरकारले तोकेको मासिक न्यूनतम आधारभूत पारिश्रमिकको सीमित शुल्क कोषमा बुझाउने सहमित भएको छ । सहमतिअनुसार नौ दशमलब ३७ प्रतिशत र सम्बन्धित श्रमिकको ११ प्रतिशत गरी कुल २० दशमलव ३७ प्रतिशत रकम कोषमा जम्मा हुनेछ । कोषमा हाल एक हजार नौ सय १२ रुपैयाँ मासिक योगदान गरी कोषबाट सञ्चालित विभिन्न योजनामा सहभागी हुने गरी सम्झौता भएको कोषले जनाएको छ ।

यसैगरी कार्यविधिमा स्वरोजगार व्यक्तिले सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको ३१ प्रतिशतदेखि सोको तीन गुणासम्म (हाल न्यूनतम दुई हजार नौ सय नौ रुपैयाँ ३५ पैसाका दरले अधिकतम यसको तीन गुणासम्म) कोषमा योगदान गरी कार्यविधिबमोजिमको सुविधा उपभोग गर्न सक्ने व्यवस्था रहेको छ । कार्यविधिले नियमितरूपमा योगदान गर्ने योगदानकर्तालाई औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्त सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षाजस्ता योजनाहरू सञ्चालनमा ल्याएको छ ।

अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगार व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालनसम्बन्धी कोष र पालिकाबीचको सम्झौताले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सबैको लागि हुने गरी व्यापकता प्राप्त गर्ने विश्वास कोषले लिएको छ । फेदीखोला गाउँपालिकाले हाल निर्माण क्षेत्रमा कार्यरत सात सय १४ जना श्रमिकहरूलाई कोषमा आबद्ध गर्ने र कोषले कार्यविधिबमोजिमका सुविधाहरू प्रदान गर्ने गरी सम्झौता भएको पालिकाका अध्यक्ष सुवेदीले बताए ।

कार्यक्रममा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले कोषलाई सामाजिक सुरक्षा कार्यक्रमको बिस्तार गरी आम नागरिकसम्म पु¥याउने गरी अगाडि बढ्न निर्देशन दिए । साथै, अनौपचारिक क्षेत्रको कार्यक्रम विस्तारका लागि सात सय ५३ वटै पालिकालाई आह्वानसमेत गरे ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया