Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविराटनगर भन्सारद्वारा प्रतिबन्धित प्लास्टिक दाना भारततर्फ नै फिर्ता

विराटनगर भन्सारद्वारा प्रतिबन्धित प्लास्टिक दाना भारततर्फ नै फिर्ता


विराटनगर । विराटनगर भन्सार कार्यालयले कानुनविपरीत सरकारले आयातमा प्रतिबन्ध लगाएको तीन ट्रक रिसाइकल प्लास्टिक दाना भारततर्फ नै फिर्ता पठाएको छ । हनुमन्ता ग्रुपले ल्याएको सो प्लास्टिक दाना भारततर्फ नै फिर्ता गरिदिएको विराटनगर भन्सार कार्यालयले जनाएको छ । भन्सार ऐन २०६६ को पछिल्लो संशोधनको नियम ५० को उपनियम ९ मा उल्लेख भएअनुसार आयात प्रतिबन्ध लगाएको कुनै पनि वस्तु आयात गर्दा मूल्यको सय प्रतिशत जरिबाना गरी नष्ट गर्नुपर्ने उल्लेख छ । तर, भन्सारप्रमुख ज्ञानेन्द्रराज ढकालले उक्त कानुनी व्यवस्थाको धज्जी उडाएर सामान्य भन्सार ऐनको छिद्रालाई समाएर प्लास्टिक दाना आयात गर्ने हनुमन्ता ग्रुपका सञ्चालक अनिल (प्रिन्स) अग्रवालसँग सेटिङ गरी भन्सार विन्दुमा आइसकेको प्रतिबन्धित प्लास्टिकको दाना सामान्य निवेदनका आधारमा टिप्पणी सदर गरी भारततर्फ नै फिर्ता पठाएका छन् ।

हनुमन्ता ग्रुपका सञ्चालक अग्रवालले आफूलाई रिसाइकल प्लास्टिकको दाना आयात प्रतिबन्धको जानकारी नै नभएकाले सामान भारततर्फ नै फिर्ता गरिदिन भन्सारप्रमुखलाई निवेदन दिएका थिए । सोही निवेदनलाई आधार मानेर भन्सारप्रमुखले नेपाल भित्रिसकेको प्रतिबन्धित सामान भारततर्फ फिर्ता गरिदिएका हुन् । भन्सारप्रमुख ढकालले उक्त प्लास्टिक दाना फिर्ता पठाउनका लागि भन्सार विभागका महानिर्देशकलाई नै टिप्पणी आदेश गर्न लगाएका थिए । महानिर्देशकको टिप्पणी आदेशपछि मात्रै भन्सारले प्रतिबन्ध लगाइएको प्लास्टिकको दाना फिर्ता पठाउने आदेश गरेको स्रोतको भनाइ छ । ठूलै रकमको लेनदेनबाट भन्सारप्रमुख ढकालले प्रतिबन्धित रिसाइकल प्लास्टिकको दाना नीतिगत निर्णय भन्दै भारत फिर्ता पठाएको स्रोतको दाबी छ ।

विराटनगर भन्सारमा भन्सार प्रतिनिधिका रुपमा लामो समयदेखि भन्सार जाँचपासमा संलग्न रहँदै आएका निरन्जन अग्रवालले भन्सार कर्मचारीकै सेटिङमा सरकारले प्रतिबन्ध लगाएको रिसाइकल प्लास्टिकको दाना नेपाल ल्याउने गरेको दाबी पनि स्रोतले गरेको छ । सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाको क्षेत्रभित्र उद्योगको कार्यालय राखी सुनसरीकै खनारस्थित उद्योग सञ्चालन गर्दै आएको हनुमन्ता ग्रुपका नाममा भारतबाट आयात गरिएको तीन ट्रक करिब २० हजार मेट्रिक टन रिसाइकल प्लास्टिको दाना विराटनगर भन्सारको आईसीपीमा असारको पहिलो सातामा आएर रोकिएको थियो । वातावरण प्रदूषण एवं हानिकारक भएको भन्दै सरकारले आयातमा प्रतिबन्ध लगाएको जानकारी हुुँदाहुुँदै सेटिङमै भन्सार जाँचपास गराउने प्रयास सफल नभएपछि उक्त प्लास्टिकको दाना भन्सार यार्डमा नै थन्किन पुगेको थियो ।

नेपालमा भर्जिन प्लास्टिक दाना मात्रै आयात हुुँदै आएको र रिसाइकल प्लास्टिक दाना आयातमा प्रतिबन्ध लगाइएको छ । भर्जिन प्लास्टिक दाना अयात गर्दा प्रतिकेजी दुई सयसम्म मूल्य पर्ने तर रिसाइकल प्लास्टिक दाना आयात गर्दा प्रतिकेजी एक सय २५ मूल्य मात्रै पर्ने हुुँदा बढी मुनाफाका लागि केही छद्म उद्योगीहरूले भन्सार सेटिङमै हानिकारक वस्तु आयात गर्नेगरेको यहाँका उद्योगीको दाबी छ । रिसाइकल प्लास्टिकको दाना एनएस नपाएका प्लास्टिकको पाइप र प्लास्टिकको सुत्री बनाउने काममा प्रयोग हुनेगरेको छ । उद्योगहरूले पीपी, एलडी, एलएलडीपी र एसडी प्लास्टिकका दाना मात्रै आयात गर्दै आएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया