Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएफडीआई रोकिए पनि नौ महिनामा झण्डै ४३ अर्बको प्रतिबद्धता

एफडीआई रोकिए पनि नौ महिनामा झण्डै ४३ अर्बको प्रतिबद्धता


काठमाडौं, वैशाख १५
नोवल कोरोनाभाइरस (कोभिड १९) को कारण विश्व अर्थतन्त्रमा नकारात्मक असर परेको समयमा यसबाट नेपालको अर्थतन्त्र समेत जोगिन सकेको छैन । सोही क्रममा नेपालको उद्योग क्षेत्रमा आउने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) पछिल्लो समय आउनसकेको छैन । चैत महिनामा अर्थात् लकडाउनअघिको समयमा विदेशी लगानी आए पनि लकडाउनपछि भने कुनै पनि विदेशी लगानी नआएको र त्यो सम्भव समेत नभएको उद्योग विभागले जनाएको छ । विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाले हालको समयमा नेपालको उद्योग क्षेत्रमा असर परेको बताए । ‘कोरोनाभाइरसको कारण नेपाल तथा विदेशी मुलुकको अवस्था सामान्य नहुँदा विदेशी लगानीकर्ताहरु नेपाल आउन सम्भव नभएको हो’, उनले भने, ‘नेपाललगायत विभिन्न मुलुकको हवाइ सेवा समेत बन्द छ, कोरोनाभाइरसको त्रास छ त्यसैले गर्दा हालको अवस्थामा एफडीआई आउन सक्दैन ।’

उनले विदेशी लगानीकर्ताहरुलाई आफ्नो देशले समेत रोक्नसक्ने बताए । ‘विदेशभन्दा आफ्नै मुलुकमा लगानी गर्नका लागि त्यहाँको सरकारले लगानीकर्तालाई प्रोत्साहन गर्न सक्छ’, उनले भने, ‘त्यसैले नेपालको उद्योग क्षेत्रमा आउने विदेशी लगानीमा असर पर्न सक्छ ।’

अर्थविद् डा. डिल्लीराज खनालले पनि कोरोनाभाइरसको कारण नेपालको उद्योग क्षेत्रमा विदेशी लगानी आउन नसक्ने बताए । ‘कोरोनाभाइरसबाट बच्न यात्रा गर्न नहुने, दूरी कायम राख्नुपर्ने जस्ता कारणले गर्दा पनि विदेशी नेपालमा आउन सम्भव हुँदैन’, उनले भने, ‘जसले गर्दा उद्योगमा आउने एफडीआईमा असर पर्ने निश्चित छ ।’

विभागका अनुसार पछिल्लो समय एफडीआईस्वरुप नेपालको उद्योग क्षेत्रमा झण्डै ४३ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । चालू आर्थिक वर्ष (२०७६\०७७) को नौ महिना (साउनदेखि चैतसम्म) मुलुकको उद्योग क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) गत आव (२०७५\०७६) को सोही समयको तुलनामा २६ अर्ब ९२ करोड ४१ लाखले बढी लगानी प्रतिबद्धता आएको विभागले जानकारी दिएको छ ।

नौ महिनाको अवधिमा विदेशी लगानीकर्ताहरुले मुलुकको उद्योग क्षेत्रमा ४२ अर्ब ९१ करोड ६८ लाख लगानी प्रतिबद्धता जनाएका छन् । उनीहरुले एक सय ७६ वटा उद्योग स्थापना गर्न तथा नौ हजार ३५ जनालाई रोजगारी दिने प्रतिबद्धता उक्त लगानीबाट गरेका छन् । गत आवको सोही समयमा विदेशी लगानीकर्ताहरुले उद्योग क्षेत्रमा १५ अर्ब ९९ करोड २७ लाख लगानी गर्ने प्रतिबद्धता जनाएका थिए । उनीहरुले दुई सय ६८ वटा उद्योग स्थापना तथा नौ हजार दुई सय दुई जनालाई रोजगारी दिने प्रतिबद्धता समेत जनाएका थिए ।

विदेशी लगानीकर्ताहरुले चालू आवको नौ महिनाको अवधिमा सबैभन्दा बढी ऊर्जामा ११ अर्ब ८२ करोड २६ लाख तथा सबैभन्दा कम कृषिमा ५३ करोड ५० लाख लगानी प्रतिबद्धता जनाएका छन् । उनीहरुले सूचना तथा प्रविधिमा १० अर्ब ५५ करोड ४४ लाख, पर्यटनमा आठ अर्ब ९२ करोड ३२ लाख, उत्पादनमा तीन अर्ब २१ करोड ८५ लाख, सेवामा सात अर्ब ८६ करोड ३० लाख लगानी प्रतिबद्धता जनाएका छन् । सो प्रतिबद्धता उनीहरुले कृषिमा चारवटा, ऊर्जामा पाँच वटा, सूचना तथा प्रविधिमा ३२ वटा, उत्पादनमा २३ वटा, सेवामा ४५ वटा, पर्यटनमा ६७ वटा गरी एक सय ७६ वटा उद्योग स्थापना गर्नका लागि गरेको विभागले जनाएको छ । ती उद्योग स्थापनासँगै नौ हजार ३५ जनाले रोजगारी समेत पाउनेछन्  ।

गत आवको सोही समयमा लगानीकर्ताहरुले कृषिमा १५ करोड ९२ लाख , सूचना तथा प्रविधिमा ५३ करोड २२ लाख, उत्पादनमा सात अर्ब ७८ करोड ७४ लाख लगानी प्रतिबद्धता जनाएका थिए भने खनिजमा एक करोड ८८ लाख, सेवामा एक अर्ब ९६ करोड दुई लाख, पर्यटनमा पाँच अर्ब ५३ करोड ४८ लाख लगानी प्रतिबद्धता जनाएका थिए । उनीहरुले कृषिमा १५ वटा, सूचना तथा प्रविधिमा २२ वटा, उत्पादनमा ५७ वटा, खनिजमा दुईवटा, सेवामा ८५ वटा र पर्यटनमा ८७ वटा उद्योग स्थापना गर्न तथा नौ हजार दुई सय दुई जनालाई रोजगारी दिने बताएका थिए । नेपालको उद्योग क्षेत्रमा लगानी गर्ने विदेशी लगानीकर्ताहरुमा चीन, भारत, बेलायत, अष्ट्रेलिया, बंगलादेश, हङकङ, जापान, संयुक्त अरब इमिरेट्स (युएई), पाकिस्तान र मलेसियाका लगानीकर्ताहरु रहेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x