Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबढी मूल्य लिएपछि भाटभटेनीसहित चार पसललाई नगद जरिवाना

बढी मूल्य लिएपछि भाटभटेनीसहित चार पसललाई नगद जरिवाना


काठमाडौं, वैशाख १६
दैनिक उपभोग्य सामानमा उल्लेख गरिएभन्दा बढी मूल्य लिएको पाइएपछि भाटभटेनी सुपरमार्केटलाई नगद जरिवाना गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको स्थलगत अनुगमन टोलीले टंगालको भाटभटेनी सुपरमार्केटलाई तीन लाख रुपैयाँ जरिवाना गरेको हो ।

विभागको टोलीले सोमबार गरेको अनुगमनका क्रममा टङ्गालस्थित भाटभटेनी सुपरमार्केटले उपभोग्य वस्तु ‘एमआरपी’भन्दा बढी मूल्य लिई बिक्री गरेको पाइएको थियो । उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार भाटभटेनीलाई उक्त रकम जरिवाना गरिएको विभागले जनाएको छ । यसैगरी विभागले मूल्यसूची नराखी पसल सञ्चालन गरेको पाइएपछि कपनस्थित एमविटी खाद्य स्टोर्सलाई पनि एक लाख जरिवाना गरेको छ ।

लकडाउनको समयमा सरकारले जनतालाई उपभोग्य वस्तुको खरिदमा सहजीकरण गर्न भाटभटेनीलगायत ठूला पसल सञ्चालन गर्न अनुमति दिएको छ । विपद्को अवस्थामा उपभोक्ता ठगिने भन्दै विभागले लकडाउनको समयमा पनि बजार अनुगमनलाई तीव्रता दिएको छ । अन्य विभिन्न ठाउँका पसलले पनि बढी मूल्य लिएको उपभोक्ताहरुले गुनासो गर्ने गरेका छन् । तर, सरकारले सबै पसलका अनुगमन गर्न सकेको छैन । लकडाउनको अवधिमा निश्चित समयमा पसल खुल्ने त्यही मौकामा व्यापारीहरुले उपभोक्ता ठग्ने गरेका छन् ।

बढी मूल्यमा सामान बिक्री गरेवापत सोमबार थप तीनवटा पसललाई पनि कारबाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नियमित बजार अनुगमनका क्रममा बढी मूल्य लिएको भेटिएपछि कारबाहीस्वरुप जरिवाना गरिएको जनाइएको छ । भाटभटेनीबाहेक कपनस्थित अमरावती खाद्य भण्डारले बढी मूल्यमा खाद्य सामग्री बिक्री गरेको पाइएपछि दुई लाख जरिवाना गरिएको छ । भण्डारले आफूले नै महँगोमा सामान खरिद गरेको भने पनि बिल देखाउन नसकेपछि उक्त भण्डारलाई कारवाही गरिएको हो ।

त्यस्तै बढी मूल्यमा खाद्यान्न बिक्री गरेबापत कपनमा सञ्चालित एमबिटी खाद्य सप्लायर्सलाई एक लाख र जिएन स्टोरलाई ५० हजार जरिवाना गरिएको छ । ती चार पसललाई सोमबार कारबाही गर्दा छ लाख ५० हजार राजस्व संकलन भएको बताइएको छ । उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम सो जरिवाना गरिएको विभागले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x