Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेकपा : भुइँको टिप्न खोज्दा पोल्टाको गुमाउँदै

नेकपा : भुइँको टिप्न खोज्दा पोल्टाको गुमाउँदै


काठमाडौं, वैशाख १६
सत्तारुढ दल नेकपाभित्रको आन्तरिक लडाइँका कारण सिङ्गो मुुलुकको राजनीतिक अवस्था के हुने हो भन्ने अन्यौलता बढेर गएको छ । राजनीतिक वातावरण पनि त्यतिकै धुमिल हुँदै जान थालेको आभास मिल्दै छ । गत चैत्र ११ गतेदेखि अहिलेसम्म मुलुक लकडाउनमा छ । यो अन्यौलता कहिलेसम्म रहने हो एकीन हुने र भैहाल्ने स्थिति छैन । विश्वभरी नै कोरोना भाइरस संक्रमणको त्रास फैलिँदो क्रममा रहेको छ । संक्रमणका कारण अहिलेसम्म दुई लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ । यसैगरी साढे २९ लाख मानिस संक्रमित बन्न पुगेका छन् । अहिलेसम्म रोग नियन्त्रणको लागि भनेर उपयुक्त विधि र उपाय निस्कन सकेको छैन । लकडाउन नै अहिलेको रोकथामको उपाय भएको विश्वस्वाथ्य संगठनले बताएको छ ।

यही कारण आगामी भविष्य के हुने र विश्वको स्वास्थ्य स्थिति कसरी अगाडि बढ्ला भन्ने अन्यौलता बढेर गएको छ । यस्तो क्रुर र त्रासदीपूर्ण वातावरणका माझ आम मानिसहरू बाँच्न बाध्य भएका छन् । संक्रमणको त्रासले गर्दा स्वतन्त्र रूपमा आम मानिसहरू एक मुलुकबाट अर्को मुलुकमा जान, हिँड्न, डुल्न र घुम्नबाट समेत वञ्चित हुनुपरेको छ । यो त्रासले नेपाल मात्र नभएर पूरै विश्वलाई नै डामाडोलको स्थितिमा पु-याएको छ । यस्तो त्रासदीपूर्ण वातावरण कहिलेसम्म आम मानिसले झेल्नुपर्ने हो यकिन रूपमा कोही कसैले भन्न सक्ने वातावरण र स्थिति छैन । विश्वका सम्पूर्ण नागरिकहरू अहिले त्रासदीपूर्ण र कष्टकर जीवन झेलेर बाँच्न विवश भएका छन् ।

यता नेपाललाई कोभिड १९ ले भन्दा पनि डरलाग्दो गरी राजनीतिक वातावरणले डर देखाइरहेको छ । सरकारले हतारमा ल्याएको दुई अध्यादेशका कारण मुलुकको राजनीतिक वातावरण बिग्रन पुगेको हो । नयाँ वर्ष सुरु भएयता वर्षात् पनि त्यतिकै भइरहेको छ । जसरी आकाशमा कालो बादल मडारिएर मौसम धुमिल हुन पुगेको छ, त्यसरी नै सत्तारुढ दलभित्रको आन्तरिक झगडाले मुलुकको भविष्यलाई पनि अन्धकार र अन्यौलतातिर धकेलिरहेको छ । सत्तारुढ दलभित्रको आन्तरिक लडाइँको परिणाम संवैधानिक अंग र सुरक्षा निकाय पनि विवादमा तानिएका छन् । ती निकायलाई विवादमा तान्ने काम अरु कसैले नगरेर सत्तारुदल नेकपाका अध्यक्ष र सरकारको नेतृत्व गर्नेहरूबाट नै भएको हो यो कुरामा दुईमत र कुनै सन्देह छैन ।

मुलुकको सम्पूर्ण तागत कोरोनाविरुद्ध लगाएर मुलुकको भविष्यलाई सुनिश्चिततातर्फ अगाडि बढाउने दायित्व सरकारको हो । यो प्रयत्नतर्फ अगाडि बढ्नुपर्ने सरकार बेमौसमी अवस्थामा अध्यादेश ल्याएर राजनीतिक दल र मुलुकलाई विभाजित र विवादमा तान्ने काममा अग्रसर हुनु गलत थियो र छ । एक्कासी कसको उक्साहटमा परेर वा लागेर मधेश केन्द्रित दललाई फुटाएर आत्मरतिमा रमाउन खोज्दा अब नेकपाको आगामी भविष्य कतातिर जाला र यसले कुन मोड लेला भन्ने अन्यौल बढेको छ । मधेशवादी दलभित्र आन्तरिकरूपमा समस्या भए पनि खुलारूपमा बाहिर आउन सकिरहेको थिएन । त्यसलाई छरपस्ट गर्ने काम सरकारले ल्याएको अध्यादेशले गरिदिएको हो । विवादित अध्यादेश सरकारले फिर्ता लिए पनि सत्तारुढ दल नेकपाभित्रको आन्तरिक विवाद झन् चर्केर छताछुल्ल भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा गर्नुपर्नेसम्मका भनाइहरू दलका नेताहरूबाटै बाहिर आइरहेका छन् । उनीहरूको आन्तरिक लडाइँ र झगडाले मुकुक र जनताको भविष्यलाई अन्धकारतिर धकेल्ने काम भइरहेका छन् । यो घटनाले मुलुकलाई राजनीतिक जुवाको दाउमा राख्ने काम नेकपाबाट भइरहेको आरोप सर्वत्र लाग्न थालेको छ । सांसद डा. सुरेन्द्र यादव अपरहण काण्डले त मुलुकको राजनीति २०५२ बाट ०६० साल अगाडिको बीचमा भएका फोहोरी राजनीतिक गतिविधिको सम्झना गराउँदछ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x