बहुमुल्य बुटी यार्सागुम्बा बेचेर करोडौँ आम्दानी
मुगु । हिमाली जिल्लामा पाइने गरिबको हिरा भनेर चिनिने बहुमुल्य बुटी यार्सागुम्बा बेचेर यहाँका स्थानीयले जीविकोपार्जन गरिरहेका छन् । जिल्लाका सोरु, मुगुम कार्मारोङ्ग गाउँपालिकाका साथै छायाँनाथ रारा नगरपालिकाका स्थानीयले यार्सागुम्बा बेचेर गाउँमा करोडौँ रकम भित्र्याएका हुन् ।
गत जेठ ५ गते मुगुका दुई दर्जनभन्दा बढी पाटनमा यार्सा सङ्कलनका लागि मुगुम कार्मारोङ्ग गाउँपालिकाले प्रवेश अनुमति खुल्ला गरेको थियो । यस वर्ष पाटन तथा हिमालमा यार्सा टिप्न जिल्लाका स्थानीयका साथै दैलेख, जाजरकोट, जुम्ला, डोल्पा, कालीकोट, हुम्ला, मनाङ, मुस्ताङ, बाजुराबाट पनि सङ्कलकहरु आएको यार्सा सङ्कलन छोर्तेन लामाले बताए ।
वर्षाको समय भएकाले पानी र हिउँका कारण यार्सा पाइएको थिएन् । असार ५ गतेपछि मौसममा सुधार आएकाले पर्याप्त यार्सा पाइएको उनको भनाइ थियो । गाउँभरिका यार्सा टिप्न जाने प्रत्येकले रू दुई लाखबढी आम्दानी गरेका भन्दै यस वर्ष लुम्स गाउँमा मात्रै रू. ३० देखि ५० लाखसम्म रकम भित्रिएको कम्वर ऐडीले अनुमान गरे ।
वडा नं. १२ शोभा गाउँका स्थानीय गणेशबहादुर सावतका अनुसार यार्सा बेचेर गाउँमा रू. एक करोडभन्दा बढी आम्दानी भएको छ । उनका अनुसार मुगालीहरु वर्षभरि खान र वार्षिक आवश्यकताका लागि खर्चको जोहो एक महिना यार्सा टिपेर बेचेको पैसाबाट गर्दै आएका छन् ।
यार्सा व्यापारी पाटनमै पुगेर यार्सा सङ्कलकसँग यार्सा खरिद गर्ने भएकाले यार्सा बिक्री गर्न सङ्कलकलाई बजारको समस्या हुँदैन । पाटनमै टिप्ने उतै बेच्ने पैसामात्र घर ल्याउने गर्दछन् । पाटनमा यार्सा व्यापारीले खाल्वा (ठूलो, राम्रो) यार्सालाई प्रतिबुटी रू. आठ सय र मध्यमलाई प्रतिबुटी रू. चार सय ५० सम्म दिएको सावतले बताए ।
यार्सा बेचेर मुगुम कार्मारोङ्ग गाउँपालिकाका सबै बस्ती तथा छायाँनाथ रारा नगरपालिकाका केही बस्तीमा सबैभन्दा बढी रकम भित्रिएको यार्सा सङ्कलक बताउँछन् । त्यस्तै, मह गाउँमा मात्रै रू चार करोडभन्दा बढी रकम भित्रिएको स्थानीय बताउँछन् ।
छोर्तेन लामाका अनुसार मुगु गाउँमा मात्रै रू. तीन करोडभन्दा बढी रकम भित्रिएको छ । नगरपालिका भित्रका तल्लेख, झाकोट, बालचौर, रोवा, सोभा, लुम्स, घटटलेख, जिउला, ¥याङ्गच्याकाटी, थार्प, लुम, बाम, तिर्प, लह, लापुँ गाउँका स्थानीय पनि यार्सा बेचेर मनग्य आम्दानी गरेका छन् ।
किम्री गाउँका कार्मा सेराप लामाले भने, “भगवान्ले हाम्रा लागी हिमालमा यार्सा होइन हिरा उमारी दिएका हुन् । यार्सा नभइदिएको भए घर खर्च चलाउने, बालबच्चाको पढाइलगायत अन्य खर्चको जोहो गर्न गाह्रो हुन्थ्यो । यहाँ काम तथा रोजगारी पाउन गाह्रो छ । खेतीपातीमा राम्रो उब्जनी छैन, वर्षेभरि एक बाली उब्जन्छ, आफूजस्ता गरिबका लागि यार्सागुम्बा बरदान साबित भएको छ ।” प्रत्येक वर्ष परिवारका चारसदस्य यार्सा टिप्न पाटन जाने र रू. छ÷सात लाखसम्म आम्दानी हुने गरेको उनले बताए ।
“हिमालको हिरा टिप्न सोचेजस्तो सजिलो कहाँ छ र ?”, मह गाउँका राप्के तामाङले भने, “हिउँ÷पानीसँग खेल्नुपर्ने, चिसोबाट बेचेर भोक, प्यासको पर्वाह नगरी अग्लाअग्ला हिमाल र पाटनहरुमा यार्सा खोज्दै चहार्नुपर्ने हुन्छ । पाटनमा बिरामी भए मर्नुबाहेक विकल्प रहँदैन । यति सहेर यार्सा पाए पनि कहाँ सुख छ र पाटनमा यार्सा लुटेराहरु बन्दुकसहित पुगेका हुन्छन् तिनीहरुबाट बेचेर यार्सा बिक्री गर्नु र पैसा बोकेर सुरक्षित साथ घर पुग्नु भनेको एउटा ठूलै युद्ध जिते जस्तै हो ।”
प्रत्येक वर्ष यार्सा टिप्न जाँदा हिउँ पहिरामा परेर, लेक लागेर र अन्य बिमारी भएर, लुटेरा सङ्कलकबीच झडप हुँदा ज्यानसम्म गुमाउनुपर्ने अवस्था आउने तामाङले बताए । यस वर्ष मात्रै पाटनमा हिउँपहिरा परेर, नदीमा खसेर र बिरामी परेर पाँचजनाको मृत्यु भएको गाउँपालिकाले जनाएको छ ।
बर्सेनि पाटनहरुमा कोही न कोही यार्सा सङ्कलनको मृत्यु हुने गरेकाले यस वर्षदेखि मृतकका परिवारका भरणपोषणमा सहयोग गर्ने उद्देश्यले पालिकाले प्रवेशबापत उठ्ने शुल्कबाट यार्सा सङ्कलकको रू. पाँच लाख बराबरको ‘यार्सा दुर्घटना बीमा’ गरिदिएको उनले जानकारी दिए ।
क्याटेगोरी : प्रदेश समाचार, कर्णाली प्रदेश, समाचार
ताजा अपडेट
- महाकवि देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
- अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
- देउसी खेलेर क्याम्पसमा अक्षय कोष स्थापनाको प्रयास
- अन्नपूर्णआरोहण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिए
- दोलखामा बृहत् स्वास्थ्य शिविर
- दराज नेपालको छैठौँ विक्रेता सम्मेलन
- केटिएम नेपालको ‘केटिएम ट्रयाक टेस्ट एक्सपिरियन्स’
- हिरोको दशैं तिहार अफरअन्तर्गत पाँच लाख क्यासका विजेता घोषणा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया