Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआधा क्षमतामा सञ्चालन हुँदै औद्योगिक क्षेत्रका उद्योग

आधा क्षमतामा सञ्चालन हुँदै औद्योगिक क्षेत्रका उद्योग


प्रवीण राउत
काठमाडौं, वैशाख १७
नोवल कोरोना भाइरस (कोभिड १९) को कारण मुलुक लकडाउनको अवस्थामा रहेको समयमा औद्योगिक क्षेत्र प्रभावित बनेको छ । कोरोना भाइरसको असरस्वरुप हाल मुलुकको विभिन्न स्थानमा रहेका १० औद्योगिक क्षेत्रभित्र रहेका उद्योगहरु आंशिक क्षमतामा सञ्चालन भइरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ ।मन्त्रालयकी सहप्रवक्ता एवं उपसचिव उर्मिला केसीले अतिआवश्यक वस्तुहरुको अभाव हुन नदिन र आर्थिक गतिविधि कायम राख्नको लागि सुरक्षात्मक तवरले मन्त्रालयको समन्वयमा उद्योगहरु सञ्चालनको लागि वातावरण बनाएको आर्थिक दैनिकलाई बताइन् ।

मन्त्रालयका अनुसार कोरोना भाइरसको असर तथा लकडाउनका कारण मानव स्वास्थ्यको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको कारण औद्योगिक क्षेत्रभित्रका उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको हो । ‘कोरोना भाइरसका कारण लकडाउनका कारण श्रमिक, कच्चा पदार्थ अभावका कारण उद्योगहरु पूर्ण रुपमा सञ्चालनमा आउन नसकेको हो’, उनले भनिन्, ‘तर नागरिकहरुलाई आवश्यक पर्ने वस्तुहरुको अभाव हुन नदिन अर्थात् अति आवश्यक वस्तुहरुको अभाव हुन नदिनका लागि समेत उद्योगहरु सञ्चालन गरिएको हो ।’

उनले लकडाउनको अवधिमा चैत ३० सम्ममा औद्योगिक क्षेत्रका सबै उद्योगहरु करिब ५० प्रतिशत क्षमता र वैशाख दोस्रो साता (१३ गतेसम्म) ५१ दशमलव १ प्रतिशत क्षमतामा सञ्चालन भएको बताइन् । समान्य अवस्थामा उक्त औद्योगिक क्षेत्र हाताभित्र रहेका उद्योगहरु पूर्ण क्षमताको औसत ७५–८० प्रतिशत क्षमतामा चल्ने गरेकोमा कोरोना असरको कारण करिब हाल सञ्चालनमा रहेका डेढ सय उद्योगहरु पूर्ण क्षमतको औसत ४९ प्रतिशत क्षमतामा चलिरहेका छन् ।

मन्त्रालयका अनुसार लकडाउन भएदेखि चैत ३० गतेसम्म धरान औद्योगिक क्षेत्रमा रहेका उद्योगहरु ४८ प्रतिशत, गजेन्द्रनारायण सिंहमा रहेका उद्योग ६० प्रतिशत, हेटौंडामा रहेका उद्योग ३८ प्रतिशत, बुटवलमा रहेका उद्योग ६० प्रतिशत, नेपालगञ्जमा रहेका उद्योग ८३ प्रतिशत, वीरेन्द्रनगरमा रहेका उद्योग ५७ प्रतिशत, पोखरामा रहेका उद्योग १५ प्रतिशत, पाटनमा रहेका उद्योग ३६ प्रतिशत, बालाजुमा रहेका उद्योग ७३ प्रतिशत र भक्तपुरमा रहेका उद्योग ३७ प्रतिशत क्षमतामा सञ्चालन भएका छन् ।

यस्तै वैशाख दोस्रो सातामा भने धरान औद्योगिक क्षेत्रमा रहेका उद्योग ५० प्रतिशत, गजेन्द्रनारायण सिंहमा रहेका उद्योग ७० प्रतिशत, हेटौंडामा रहेका उद्योग ४३ प्रतिशत, बुटवलमा रहेका उद्योग ६० प्रतिशत, नेपालगञ्जमा रहेका उद्योग ६१ प्रतिशत, वीरेन्द्रनगरमा रहेका उद्योग ५५ प्रतिशत, पोखरामा रहेका उद्योग २१ प्रतिशत, पाटनमा रहेका उद्योग ३३ प्रतिशत, बालाजुमा रहेका उद्योग ७३ प्रतिशत र भक्तपुरमा रहेका उद्योग ४५ प्रतिशत क्षमतामा सञ्चालन भएका छन् ।

यस्तै मन्त्रालयले ती उद्योगहरुमा श्रमिकको उपस्थिति समेत घटेको जनाएको छ । ती उद्योगहरुमा लकडाउनपूर्व पाँच हजार एक सय ९० जना श्रमिकहरु कार्यरत रहेकोमा हाल एक हजार छ सय दुई जना उपस्थित रही कार्यरत छन् ।
उनले श्रमिकको स्वास्थ्यमा ध्यान दिनको लागि आग्रह गरेकै कारण हाल उपस्थिति हुने श्रमिकको संख्यामा कमी आएको बताइन् । ‘एकतर्फ आप्रवासी कामदार घर गएका छन्’, उनले भनिन्, ‘अर्कोतर्फ श्रमिकको स्वास्थ्यमा समेत ध्यान दिनुपरेको छ जसले गर्दा श्रमिक नै कम रहेको अवस्था छ ।’

यस्तै मन्त्रालयले लकडाउनको अवधिमा बन्द रहेका उद्योगहरुलाई आगमी दिनमा तीन चरणमा खोल्ने सम्बन्धमा उच्चस्तरमा हुने बैठकमा प्रस्ताव गर्ने समेत तयारी गरेको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार यसअघि ती औद्योगिक क्षेत्रमा सात सय उद्योगहरु पूर्ण क्षमतामा सञ्चालित थिए तर कोरोनाका असरका कारण सम्पूर्ण उद्योगहरु सञ्चालन हुन सकेका छैनन् । यसअघि ती उद्योगहरुमा २१ हजारभन्दा बढीले प्रत्यक्ष र ५० हजार बढीले अप्रत्यक्ष रोजगारीको अवसर पाएका थिए ।

लिमिटेडका अनुसार औद्योगिक क्षेत्रमा रहेका ती उद्योगहरुले राज्यलाई वार्षिक २५ अर्ब रुपैयाँ राजस्व बुझाउँदै आएका थिए । यस्तै पछिल्लो समय उद्योग सञ्चालन हुन नसकेसँगै राजस्वमा समेत असर पर्ने देखिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x