Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसुन तस्करीको विषयमा विराटनगरका सुन व्यवसायीबीच बहस

सुन तस्करीको विषयमा विराटनगरका सुन व्यवसायीबीच बहस


विराटनगर । केही समयअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेको एक सय केजी सुन प्रकरणले विराटनगरमा रहेका सुन व्यवसायीहरू त्रसित बन्न थालेका छन् । विमानस्थलबाट भित्रिएर भन्सार जाँचपास भएपछि राजस्व अनुसन्धान विभागले सुन बरामद गरेको थियो । सुन बरामद भएपछि व्यवसायी हच्किएका हुन् ।

विराटनगरलगायत आसपासका सहरमा एक सय बढी सुन व्यवसायीहरू सुनको कारोबार गर्दै आएका छन् । यी सबै सुन कारोबारीले दुई केजीसम्मका गहनाहरू बिक्रीवितरण गर्ने गरेका छन् । तर अहिले अफ सिजन भएकाले दैनिक पाँच सय ग्राम पनि सुनको कारोबार नहुुने उनीहरूको भनाइ छ । तर एक सय केजी सुन प्रकरणले विराटनगरमा रहेका सुनका कारोबारी व्यापारीका बीचमा निकै चर्चा हुने गरेको छ । व्यवसायीका अनुसार नेपालमा सुन तस्करी अहिले मात्र नभएर धेरै पहिलेदेखि हुँदै आएको हो । तर अहिलेसम्म पनि सुन तस्करी पक्राउ पर्न सकेका छैनन् । सुन तस्करले सजिलै उन्मुक्ति पाउने गरेका छन् । सुन कारोबारी व्यवसायीका अनुसार सुन तस्करलाई राज्यले नै प्रवद्र्र्धन गरिरहेको छ । राज्यका निकायले व्यहोरिरहेको स्रोत र साधनको कमी, कार्यक्षमता नै कमजोर भएका कर्मचारी, भ्रष्ट राजनीतिक वृत्त र कर्मचारीतन्त्रका कारण सुन तस्करी हुने गरेको उनीहरूको भनाइ छ ।

तस्करीको खास कारण भने मागअनुसार राज्यले आपूर्तिको व्यवस्था गर्न नसक्नु रहेको उनीहरूको भनाइ छ । नेपालका कतिपय अव्यावहारिक नीतिका कारण सुनको मागअनुसार आपूर्ति हुन नसक्दा सुन व्यवसायीले तस्करीको सुन किन्न बाध्य हुने गरेको उनीहरूको भनाइ छ । नेपाल सरकारको नीतिहरू नै तस्करी बढाउन सहयोगी बनिरहेका व्यवसायीको दाबी छ । सुन उच्च मूल्यमा बिक्री हुने हुँदा यसमा नाफाको मार्जिन पनि ठूलो हुने हुँदा ठूला घरानाका व्यापारीले सेटिङ गरी भरियाको प्रयोगबाट सुनको तस्करी गर्ने र सजिलै करोडौंको नाफा कमाउने गरेका छन् । काठमाडौंमा पक्राउ परेको सुन पनि ठूलै घरानाका व्यवसायीले सेटिङमा ल्याएको हुन सक्ने यहाँका व्यवसायीको भनाइ छ । नेपालको अन्तर्राष्ट्रिय सीमा नियमन कमजोर र देशको कर्मचारीतन्त्र भ्रष्ट भएपछि ठूला तस्करले धेरै फाइदा उठाउने गरी तस्करी गर्ने गरेको सुन व्यवसायीको दाबी छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया