Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार५७ हजारको कोभिड–१९ परीक्षण

५७ हजारको कोभिड–१९ परीक्षण


काठमाडौँ, वैशाख १८
बुधबारसम्म कोभिड–१९ को परीक्षण ५७ हजार १८९ मा गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा. विकास देवकोटाले पीसीआरबाट ११ हजार ५२४ र -यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी)बाट ४५ हजार ६६५ मा परीक्षण गरिएको जानकारी दिए ।

उनका अनुसार विगत २४ घण्टामा दुई हजार ३६७ को कोभिड–१९ परीक्षण गरिएको छ । प्रदेश नं १ मा चार हजार ८४१, प्रदेश नं २ मा पाँच हजार २९८, वाग्मती प्रदेशमा आठ हजार २१७, गण्डकी प्रदेशमा पाँच हजार ३४३, प्रदेश नं ५ मा तीन हजार ६७१, कर्णाली प्रदेशमा पाँच हजार २६९ र सुदूरपश्चिम प्रदेशमा १२ हजार ९८६ को परीक्षण गरिएको छ ।

यसैगरी २२ हजार ९०१ जना क्वारेन्टाइनमा बसेका छन् । मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार प्रदेश नं १ मा दुई हजार ४७८, प्रदेश नं २ मा एक हजार ४०४, वाग्मती प्रदेशमा ६११, गण्डकी प्रदेशमा ६९४, प्रदेश नं ५ मा १२ हजार ५१५, कर्णाली प्रदेशमा तीन हजार ९६३ र सुदूरपश्चिम प्रदेशमा एक हजार २३६ जना क्वारेन्टाइनमा बसेका छन् ।

यसैगरी टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा नयाँ तीन जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । पर्साका ४६ र बाराका ४३ र ३१ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको हो । सङ्क्रमितको अहिले वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । अहिले ४१ जना उपचाररत रहेका छन् ।

यसैगरी ८७ जना आइसोलेशनमा रहेका छन् भने स्वपरीक्षण गर्दा बुधबार एक जना गरी अहिलेसम्म ३१० जना ‘रेड जोन’मा रहेका छन् । यसैगरी मन्त्रालयले कोभिड–१९ को उपचार घरमा गर्नका लागि आयुर्वेदिक तथा वैकल्पिक चिकित्सासम्बन्धी निर्देशिका जारी गरेको प्रवक्ता डा देवकोटाले जानकारी दिए । निर्देशिका जारीसँगै अब कोभिड–१९ सँग लड्ने क्षमता बढाउन घरेलु आयुर्वेदिक औषधि प्रयोग गर्न सकिने उनले बताए ।

यसैबीच, प्रदेश नं २ मा आज थप तीन जनामा कोरोना सङ्क्रमित पुष्टि भएपछि सो क्षेत्रमा उच्च सतर्कता बढाउँदै ‘सिल’ गरिएको छ । बाराको सिमरौनगढ नगरपालिका–४ घर भई हाल जितपुर सिमरा–१९ स्थितको मस्जिदमा बस्दै आएका ३१ वर्षीय एक जना र वडा नं ७ मा बस्दै आएका अर्का एक युवक गरी ती दुई युवक बसेको क्षेत्रलाई सिल गरिएको हो ।

वैशाख १४ गते वीरगञ्जका दुई जनामा कोरोना पुष्टि भएपछि उनीहरुको ‘कन्ट्याक्ट ट्रेसिङ’को आधारमा तीनै जनाको खोजबिन गरी क्वारेन्टाइनमा राखिएको थियो । मस्जिदमा बस्दै आएका ३१ वर्षीय युवक र वडा नं ७ का ४३ वर्षीय युवकलाई सिमरास्थित अस्थायी विशेष क्वारेन्टाइन अस्पतालमा राखिएको थियो । त्यसपछि, दुवैलाई वीरगञ्जको छपकैयामा ल्याएर स्वाब सङ्कलन गरिएको थियो । यी दुवै जना भारतको एक धार्मिक कार्यक्रममा सहभागी भएर फागुन २८ गते फर्के थिए । एकतीस वर्षीय युवक मस्जिदमा र ४३ वर्षीय व्यक्ति आफ्नै घरमा बसेका थिए ।

त्यस्तै, वैशाख १४ गते कोरोना पुष्टि भएका व्यक्तिको विवरणको आधारमा वीरगञ्ज–२ बस्ने ४६ वर्षीय व्यक्तिको स्वाबको नमूना सङ्कलन गरिएको थियो । तीनै जनालाई वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । २ नम्बर प्रदेशमा अहिलेसम्म दुई हजार २१८ को स्वाबको नमूना सङ्कलन गरिएकामा एक हजार ३५० को रिपोर्ट नेगेटिभ आएको छ भने ८५६ को रिपोर्ट आउन बाँकी छ । १० जना कोरोना सङ्क्रमितमध्ये चार जना उपचार गराई घर फर्किसकेका छन् भने छ जनाको उपचार भइरहेको छ । अहिलेसम्म चार हजार ९१४ को आरडीटी परीक्षण गरिएको छ । यस प्रदेशमा एक हजार ४४३ क्वारेन्टाइनमा चार हजार १७ जना होम क्वारेन्टाइनमा र १३ जना आइसोलेसनमा छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x