Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविमानस्थलमा स्वघोषणा कक्ष सञ्चालनमा

विमानस्थलमा स्वघोषणा कक्ष सञ्चालनमा


काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशबाट आउने यात्रुका लागि मालवस्तुको स्वघोषणा कक्ष सञ्चालनमा ल्याएको छ । विदेशवाट फर्किएका यात्रुले मापदण्डभन्दा बढी सुन गरगहना विदेशी मुद्रा टीभी तथा मोकाइल फोन ल्याउने र स्वघोषणा नगरी बाहिरिँदा भन्सार छली कसुरमा कारबाही हुने गरेका थिए ।

स्वघोषणा कक्ष सञ्चालनपछि यात्रुले आफूसँग भएको मालवस्तुको स्वयम् घोषणा गर्न पाउने तथा बढी भएको सामानको भन्सार महसुल बुझाइ सजिलै लैजान पाउने कार्यालयले जनाएको छ । विदेशबाट आउने यात्रुले अध्यागमन कक्ष पार गरेपछि भन्सार चेकजाँच एक्सरे मेसिनमा पुग्नु अगावै स्वयम् घोषणाको सुविधा पाउने कार्यालयले जनाएको छ । भन्सार कार्यालयले नियमित कर्मचारीसहित स्वयम् घोषणा कक्षको व्यवस्था गरेको छ । विदेशबाट नेपाल फर्कने यात्रुले आफ्नो साथमा ल्याउन पाउने सुनका गहना, मोबाइल तथा टेलिभिजनसम्बन्धी पछिल्लो व्यवस्थाअनुसार महिलाको हकमा ५० ग्रामसम्म र पुरुषको हकमा २५ ग्रामसम्मको सुनको गहनामा भन्सार तिर्नुपर्दैन । यस्तै, सोबाहेक थप २०० ग्रामसम्म सुनको गहना भन्सार विन्दुमा महसुल तिरेर साथमा ल्याउन पाउने व्यवस्था रहेको छ । विमानस्थल भन्सार कार्यालयका प्रमुख डा टोकराज पाण्डेका अनुसार गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औंठी, बाला, सिकीजस्ता रसायन प्रयोग नगरिएका सुनलाई गहनाको मान्यता नहुने कानुनी व्यवस्था रहेको छ ।

यसैगरी मोबाइलको हकमा भने विदेशबाट फर्कने नेपाली यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउँदा भन्सार तिर्नुपर्दैन । श्रम स्वीकृति लिएर लगातार छ महिनाभन्दा बढी विदेशमा काम गरी फर्केका यात्रुले आफ्नो साथमा थप एक थान मोबाइल भन्सार नतिरी ल्याउन पाउनेछन् । थप एक थान मोबाइलका लागि भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया भने पूरा गर्नुपर्छ । यस्तै, श्रम स्वीकृति लिई लगातार एक वर्ष काम गरी फर्कने सामाजिक सुरक्षा कोषमा सूचीकृत भएको नेपाली यात्रुले जुनसुकै आकार वा प्रकारको टेलिभिजन साथमा ल्याउँदा भन्सार तिर्नुनपर्ने व्यवस्था रहेको छ । तर श्रम स्वीकृति लिई लगातार एक वर्ष काम गरी फर्केको भए पनि सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका नेपाली यात्रुले भने ३२ इन्चसम्मको टेलिभिजन मात्र भन्सार नतिरी साथमा ल्याउन पाउँछन् । अन्य अवस्थामा भने सबै टेलिभिजनमा नियमानुसारको महसुल भन्सारमा तिर्नुपर्ने व्यवस्था रहेको छ । यसैगरी पाँच हजार अमेरिकी डलरमाथिको विदेशी मुद्रा हुने यात्रुले विमानस्थलमा स्वघोषणा गर्नुपर्छ । रकम घोषणाको भने कुनै महसुुल वा शुल्क बुझाउनु नपर्ने व्यवस्था रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #page 3

तपाईको प्रतिक्रिया