Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको मनोबल उकास्न आवश्यक’

‘अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको मनोबल उकास्न आवश्यक’


काठमाडौं । अर्थतन्त्र सुधारका लागि सरकारले निजी क्षेत्रको खस्केको मनोबल उकास्न आवश्यक रहेको निजी क्षेत्रले बताएका छन् । अर्थतन्त्रमा अपेक्षित सुधार नभएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार निजी क्षेत्रसंग छलफल गरेका थिए । सो छलफलमा सहभागी निजी क्षेत्रका छाता संस्थाहरू नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्सलगायतका प्रतिनिधिहरूले अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको खस्केको मनोबल उकास्नु सरकारको पहिलो काम रहेको सुझाव दिएका हुन् ।

‘सर्वसाधारणको आत्मविश्वास घटेको छ भने व्यवसायीको मनोबल गुमेको छ । सरकार र निजी क्षेत्र दुवैले लगानी बढाउन नसक्दा यो समस्या आएको हो’, निजी क्षेत्रका तीन छाता संस्थाले सरकारलाई सुझाव दिँदै भनेका छन्, ‘रेमिट्यान्स आप्रवाह र पर्यटक आगमन बढ्दा पनि बजारमा माग सिर्जना हुन नसक्नुको मुख्य कारण व्यवसायी र सर्वसाधारणको विश्वास गुम्दै जानु हो । सरकारको पूँजीगत खर्च बढ्न नसक्नु, उच्च ब्याजदर, चालू पुँजी कर्जा मार्गदर्शन र बैंकहरूको पुँजीकोष सम्बन्धी व्यवस्थाका कारण वित्तीय संस्थाहरूबाट रकम प्रवाह हुन सकेको छैन ।’ पुँजीको लागत घटाई बजारमा रकम प्रवाह गर्न सरकारले भूमिका खेल्नुपर्ने सुझाव निजी क्षेत्रको छ । पुँजीगत खर्च बढाउन अहिलेदेखि नै विशेष पहल गर्न र दशैँ अगाडि नै ठेक्का लगाई काम सुरु गर्ने वातावरण बनाउन निजी क्षेत्रले सरकारसँग आग्रह गरेको छ ।

निर्माण व्यवसायीहरूको बक्यौता तत्काल भुक्तानी गर्नुपर्ने, विदेशी लगानी भित्र्याउन नीतिगत स्थायित्व तथा सहज व्यावसायिक वातावरण बनाइनुपर्ने निजी क्षेत्रको माग छ । मुलुकको सार्वभौम साख मूल्याङ्कन (सोभरेन कन्ट्री रेटिङ) गरी निजी क्षेत्रलाई विदेशबाट रकम ल्याउन प्रोत्साहित गर्नुपर्ने सुझाव पनि निजी क्षेत्रका छाता संगठनले दिएका छन् ।

औद्योगिक करिडोरमा पूर्वसूचनाविनै दैनिक २० पटकसम्म विद्युत् कटौती हुने गरेकोमा विद्युत् आपूर्ति नियमित गरिनुपर्ने, प्रसारणलाइन बन्न नसकेर विद्युत् खेर गइरहेकोमा प्रसारणलाइन चाँडो बनाइनुपर्ने तथा प्रसारणलाइन निर्माणमा निजी क्षेत्रको पनि सहभागिता हुनुपर्ने माग उनीहरूको छ । उद्योग सञ्चालन गर्दा जग्गाको हदबन्दी हटाउनुपर्ने र कित्ताकाट खोल्नुपर्ने माग पनि निजी क्षेत्रको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया