Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविराटनगरका भन्सार प्रतिनिधि ‘उद्योग प्रतिनिधि’को रूपमा काम गर्दै

विराटनगरका भन्सार प्रतिनिधि ‘उद्योग प्रतिनिधि’को रूपमा काम गर्दै


विराटनगर । भन्सार एजेन्टहरूले प्रतिनिधि राख्न पाउने व्यवस्था खारेज गरिदिएपछि विराटनगर भन्सारका एजेन्टहरू उद्योग प्रतिनिधिमा रूपान्तरण भएका छन् । विराटनगर भन्सारलाई आफ्नो कार्यक्षेत्र बनाएर भन्सार जाँचपासमा संलग्न भन्सार प्रतिनिधिले धमाधम उद्योगबाट उद्योग प्रतिनिधिमा नियुक्ति लिएर भन्सार जाँचपास गर्न थालेका हुन् । कमजोर कानुनी व्यवस्थाको फाइदा उठाएर उनीहरू पुनः भन्सार जाँचपासमा संलग्न हुन थालेका हुन् । पछिल्लो समय उद्योगको भन्सारसम्बन्धी काम गर्नलाई उद्योग प्रतिनिधि नियुक्ति भई उनीहरूले भन्सार एजेन्टलाई प्रयोग गरेर भन्सार जाँचपास गरिरहेको पाइएको हो ।

विगतमा सरकारले नेपालभर रहेका भन्सार कार्यालयमा जाँचपासको सहजीकरणका लागि तोकिएका भन्सार एजेन्टले आफूसहित दुई जना भन्सार प्रतिनिधि तोक्न सक्ने अधिकार दिएको थियो । सो अधिकारको दुरुपयोग भएको भन्ने गुनासो आएपछि सरकारले चालू आर्थिक वर्षदेखि ऐनमा नै उल्लेख गरी भन्सार प्रतिनिधि खारेज गरेको थियो । सो व्यवस्था खारेज भएपछि भन्सार प्रतिनिधिको काम गर्दै आएकाहरूले उद्योग प्रतिनिधिको सहारामा भन्सार एजेन्ट नै राखेर भन्सार जाँचपासमा सक्रिय भएको आरोप लाग्ने गरेको छ । त्यस्तालाई कसरी कारबाहीको दायरामा ल्याउने भन्ने विषयमा भन्सार विभाग समेत गम्भीर छलफलमा रहेको विराटनगर भन्सार स्रोतले बताएको छ ।

यस्तै, विगतमा भन्सार प्रतिनिधिका लागि दिएको कार्डको समेत दुरुपयोग भएको कार्यालयको ठहर छ । सोही कार्डको प्रयोग गरेर अझै भन्सार जाँसपास गर्ने गरेको आरोप कार्यालयको छ । भन्सार एजेन्ट कृष्णबहादुर थापाका भन्सार प्रतिनिधि अरविन्दकुुमार ठाकुरले भन्सारबाट जारी भएको भन्सार प्रतिनिधि परिचयपत्र लगाएर सामाजिक सञ्जालमा फोटो सार्वजनिक गरेपछि परिचय पत्र पाएका अन्य केही भन्सार प्रतिनिधिले पनि सो परिचयपत्रको दुरुपयोग गरी रहेको विषय सार्वजनिक भएको हो । सोको नियन्त्रणका लागि विराटनगर भन्सारले गम्भीर कदम चाल्न लागेको अधिकारीहरूले बताएका छन् । अब ढिला नगरी विगतमा भन्सार प्रतिनिधिले पाएको परिचयपत्र विराटनगर भन्सारले पनि जफत गर्नुपर्ने अवस्था आइसकेको कर्मचारी स्रोतले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया