Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपालमा लगानी बढाउन चिनियाँ लगानीकर्तालाई आग्रह

नेपालमा लगानी बढाउन चिनियाँ लगानीकर्तालाई आग्रह


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी बढाउन चिनियाँ लगानीकर्तासँग आग्रह गरेका छन् । चीन साउथ एसिया बिजनेस फोरमको तर्फबाट युनान प्रान्तको कुनमिङमा आयोजित चाइना (युनान) नेपाल इन्डस्ट्रियलको अपरेसन प्रमोसन एन्ड इन्टरप्राइजेज म्याचमेकिङ बैठकमा ढकालले प्राकृतिक स्रोत साधन, दक्ष जनशक्ति, बजार पहुँच र चीन तथा भारतसँग भएका सहुलियतपूर्ण व्यापार सम्झौताले नेपाल लगानी गन्तव्यको रूपमा विकसित भइरहेको बताए ।

अध्यक्ष ढकालले युनान र नेपालको मिल्दोजुल्दो भौगोलिक अवस्था र जलस्रोतले भरिपूर्ण रमणीय स्थललगायतका समान विशेषताका कारण पनि चिनियाँ लगानीकर्ताका लागि नेपालमा लगानी गर्न सहज हुने उल्लेख गरे । कुनमिङ र पोखराबीचको भगिनी सहर सम्बन्ध रहेको उल्लेख गर्दै उनले सांस्कृतिक आदानप्रदान, पर्यटन र अनुसन्धान तथा विकास सहकार्यलाई प्रवद्र्धन गर्ने यो सम्बन्धलाई उपयोग गर्नुपर्ने बताए । ढकालले चिनियाँ ‘ड्रागन बोट फेस्टिभल’मा सिचुआन एयरलाइन्सको हालै पोखराको पहिलो उडानले नेपालमा चिनियाँ पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको बताए । ऊर्जा, पर्यटन पूर्वाधार, यातायात, व्यापार सहजीकरण, साना तथा मझौला उद्योग, आईसीटी र कृषिजस्ता विविध क्षेत्रमा नेपालमा थप लगानीका आकर्षक अवसर रहेको उनले जानकारी गराएका थिए ।

नेपालमा सञ्चालित बहुराष्ट्रिय कम्पनीहरूले निरन्तर नाफा कमाएको उल्लेख गर्दै उनले भारत, ईयू र अन्य विकसित बजारमा नेपालले पाएको सहुलियतपूर्ण व्यापारिक पहुँचलाई लगानीकर्ताहरूले उपयोग गर्न सक्ने पनि अध्यक्ष ढकालले उल्लेख गरे । अध्यक्ष ढकालले युनान र नेपालबीचको आर्थिक सम्बन्ध थप सुदृढ गर्न, व्यापार र अन्तरसरकारी सम्पर्कलाई थप विस्तार गर्न पनि आह्वान गरे । यसले लगानी, पर्यटन, व्यापार र औद्योगिक साझेदारीमा थप अभिवृद्धि हुने विश्वास ढकालको थियो । अध्यक्ष ढकालले चाइना साउथ एसिया एक्स्पोमा नेपाल कन्ट्री प्याभिलियनमा नेपालको जीवन्त संस्कृति र लगानीको सम्भावना पहिचान गर्न सबै सहभागीलाई निमन्त्रणा समेत गरे । कार्यक्रममा चीन, नेपाल र दक्षिण एसियाली देशका विशिष्ट नेताहरू, सरकारी अधिकारीहरू, व्यवसायीहरू र सञ्चारकर्मीहरूको सहभागिता थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया