Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारगाउँ पालिकासिन्धुपाल्चोकको बलेफीमा खानेपानी आयोजना निर्माण

सिन्धुपाल्चोकको बलेफीमा खानेपानी आयोजना निर्माण


काठमाडौं । जापान सरकारको सहयोगमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नं ४ डाँडागाउँमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । सो खानेपानी आयोजनाको एक कार्यक्रमका बीच जापानका राजदूत युताका किकुताले हस्तान्तरण समेत गरेका छन् ।

कार्यक्रममा जापानका राजदूत किकुताले जापानले नेपालको ग्रामीण क्षेत्रको विकासमा गरेको सहयोगले जापान र नेपालको मैत्रीपूर्ण सम्बन्धलाई अझै मजबुत बनाएको बताए । यस्ता विकास कार्यक्रमहरू जापान सरकार तथा जापानी जनताको तर्फबाट नेपाली जनताको लागि उपहार भएको उनको भनाइ थियो । जापानी राजदूत किकुताले जापानले दोस्रो विश्वयुद्धमा ध्वस्त भएपछि सहकार्य र समन्वयको बाटो रोजेको र जापानको सोही नीतिअनुसार नेपालमा यस्ता आयोजना सञ्चालन गर्न सहयोग गर्दै आएको उल्लेख गरे । साथै, उनले सिन्धुपाल्चोकका विभिन्न ठाउँमा खानेपानी आयोजना र तरकारी उत्पादन एवम् बजारीकरणमार्फत ग्रामीण कृषकहरूको आम्दानी वृद्धिसम्बन्धी आयोजना सफलतापूर्वक सम्पन्न गरेकोमा पिस विन्ड्स जापान (पिडब्लूजे) र सम्बृद्धिका लागि यथायोग्य कार्य संस्था (आईस्याप) को टिमलाई धन्यवाद दिए ।

सोही कार्यक्रममा सिन्धुपाल्चोकका प्रतिनिधिसभा सदस्य माधव सापकोटाले जापान सरकारले सिन्धुपाल्चोक जिल्लामा खानेपानी आयोजना सञ्चालन र कृषि उत्पादन एवम् बजारीकरणमार्फत आयआर्जनमा वृद्धिजस्ता कार्यक्रम उपहारको रूपमा दिएको बताए । अब यी आयोजनाहरू सम्पन्न भएपश्चात् नेपाल सरकारले जिम्मा लिई दिगोरूपमा सञ्चालन गर्ने उनको भनाइ थियो । जापान सरकारको सहयोगमा सिन्धुपाल्चोकमा सञ्चालित ‘खानेपानी पहँुच तथा कृषि आय सुधार आयोजना’का टिम लिडर एवम्)) कृषि विज्ञ डा रामचन्द्र भुसालले २०७२ सालको भूकम्पपश्चात् जापानको परराष्ट्र मन्त्रालय र जाइकाको सहयोगमा पिस विन्ड्स जापान र सम्बृद्धिका लागि यथायोग्य कार्य संस्थाले विभिन्न आयोजनाहरू सञ्चालन गर्दै आएको जानकारी दिए ।

जापानको सहयोगमा सञ्चालित आयोजनाको प्रभाव समुदायमा अत्यन्त राम्रो रहेको उनको भनाइ थियो । साथै, सम्पन्न सबै आयोजनाहरू सम्बन्धित उपभोक्ता समूह र स्थानीय तहलाई हस्तान्तरण गरिएकाले आयोजनाहरूको संरक्षण एवम् दिगोरूपमा सञ्चालनका लागि स्थानीय तह र उपभोक्ता समितिलाई उनले आग्रह गरे । आईस्यापकी कार्यकारी निर्देशक अपेक्षा भुसालले जापान सरकारको सहयोगमा सिन्धुपाल्चोकमा हालसम्म १९ वटा खानेपानी आयोजना सम्पन्न गरिएको जानकारी दिइन् । उनका अनुसार ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत छ सय ७३ खानेपानी धारा, चार सय ६० प्लास्टिक घर, दुई वटा कृषि उपज संकलन केन्द्र निर्माण गरी खानेपानीतर्फ आठ सय २४ र कृषितर्फ एक हजार तीन सय १३ घर धुरी लाभान्वित भएका छन् ।

जापानको सहयोगमा विगत सात वर्षदेखि सिन्धुपाल्चोकमा सञ्चालित खानेपानी आपूर्ति कृषि उत्पादन र बजारीकरणमार्फत आयआर्जनमा वृद्धि, महामारी नियन्त्रण एवम् राहत कार्यक्रम वितरणजस्ता आयोजनाहरू यही भदौबाट समाप्त हुनेछन् । सोको जानकारी स्थानीय तह, उपभोक्ता समूह र कृषक एवम् स्थानीय समुदायलाई दिनको लागि आयोजना समापन समारोह समेत गरिएको थियो । शुक्रबार सम्पन्न खानेपानी आयोजना उद्घाटन, हस्तान्तरण र समापन समारोहको अध्यक्षता बलेफी गाउँपालिकाका अध्यक्ष गंगाबहादुर तामाङले गरेका थिए ।


क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका, समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया